Hamro Patra
व्यवस्थापन समितिले प्रचार गर्नु आचारसंहिताको उल्लंघन होः निर्वाचन समिति

टीकापुर, चैत्र २
टीकापुरस्थित बीरेन्द्र विद्या मन्दिर क्याम्पसको स्ववियु निर्वाचनमा क्याम्पस व्यवस्थापन समितिले प्रचारप्रसार गरेको भन्दै निर्वाचन समितिले ध्यानाकर्षण गराएको छ ।

विभिन्न सामाजिक सञ्जालमार्फत् व्यवस्थापन समितिका पदाधिकारी तथा सदस्यहरुले विद्यार्थी संगठनलाई निर्वाचन गराउन भन्दै प्रचार गरेका थिए । सो विषयमा हाम्रो पत्र ले समाचार प्रकाशन गरेपछि निर्वाचन समितिले एक विज्ञप्ति प्रकाशित गर्दै ध्यानाकर्षण गराएको छ । 

स्ववियु निर्वाचन समितिका निर्वाचन अधिकृत थीरप्रसाद उपाध्यायद्धारा जारी सूचनामा सबै पक्षलाई निर्वाचन आचारसंहिताको कडाईका साथ पालना गर्न भनेको हो । 

‘क्याम्पसको व्यवस्थापन समितिका पदाधिकारीहरुले समेत आचारसंहिता पालना गर्नपर्ने सामान्य सिद्धान्त रहेकोमा व्यवस्थापन समितिका पदाधिकारीहरुले सामाजिक सञ्जालहरुमा विभिन्न पोष्टहरु गरी विभिन्न विद्यार्थी संघ, संगठन तथा उम्मेदवारहरुको प्रचार प्रसार गरेको देखिन आएकोले निर्वाचन समितिको ध्यानाकर्षण भएको छ’ निर्वाचन अधिकृत उपाध्यायद्धारा जारी सूचनामा भनिएको छ ‘त्यस्ता पोष्टहरु हटाई निर्वाचनलाई स्वस्थ, मर्यादित र विवादरहित सम्पन्न गर्नका लागि सहयोग गरिदिनु हुन सम्पूर्णमा हार्दिक अनुरोध गरिन्छ ।’

व्यवस्थापन समितिका पदाधिकारीहरुले आफू अनुकुलका विद्यार्थी संगठनहरुका भेलामा सहभागी भएर भाषण गर्ने, सामाजिक सञ्जाल मार्फत भोट मागिरहेको विषयमा समाचार प्रकाशित भएको थियो । 

क्याम्पसमा चैत ५ गते स्ववियु निर्वाचन हुँदैछ । निर्वाचनका लागि तीन प्यानल चुनावी प्रतिस्पर्धामा उत्रिएका छन । नेविसंघले गोपाल खत्री, अनेरास्ववयिुले गणेश धामी र क्रान्तिकारीले असिम विकको अध्यक्षतामा प्यानल दर्ता गरेका छन । 

क्याम्पसमा १ हजार ३ सय ५२ मतदाता रहेका छन । क्याम्पसमा स्ववियु निर्वाचनका लागि विभिन्न आठवटा विद्यार्थी संगठन दर्ता भएका छन ।

व्यवस्थापन समिति नै विद्यार्थी संगठनलाई भोट माग्दै

प्रकाशित मिति: शनिबार, चैत २, २०८१  १९:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update