
टीकापुर, चैत २
टीकापुरस्थित बीरेन्द्र विद्या मन्दिर क्याम्पसको स्ववियु निर्वाचन विद्यार्थी संगठनलाई भन्दा व्यवस्थापन समितिलाई बढी लागेको छ । विद्यार्थी संगठनलाई नै ओझेल पार्ने गरेर व्यवस्थापन समितिका पदाधिकारीहरु भोट माग्न सकृय रहेको पाईएको छ ।
उनीहरु आफू अनुकुलका विद्यार्थी संगठनका भेलामा सहभागी भएर भाषण गर्ने मात्रै हैन सामाजिक सञ्जाल मार्फत भोट मागिरहेका छन ।
यसरी भोट माग्नेमा क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष महेन्द्रसिँह बम, उपाध्यक्ष दयाराम सन्ज्याल र सदस्यद्वय धनञ्जय रिमाल ‘फकिर’ र झपटबहादुर बुढा रहेका छन । उनीहरु मध्ये अध्यक्ष बम र सदस्यद्वय रिमाल र बुढाले नेविसंघका पक्षमा भोट मागेका छन भने उपाध्यक्ष सन्ज्यालले अखिल क्रान्तिकारीलाई भोट मागेको पाईएको छ ।
शैक्षिक संस्थाको व्यवस्थापन समितिमा बसेका व्यक्ति नै विद्यार्थी संगठनको पक्षधर भएर भोट मागेको कुरा चर्चाको विषय बनेको छ । उनीहरुले निष्पक्ष रहनुपर्ने व्यवस्थापन समितिलाई राजनीतिको खिचातानीमा सामेल गरेका छन ।
क्याम्पसमा चैत ५ गते स्ववियु निर्वाचन हुँदैछ । निर्वाचनका लागि तीन प्यानल चुनावी प्रतिस्पर्धामा उत्रिएका छन । नेविसंघले गोपाल खत्री, अनेरास्ववयिुले गणेश धामी र क्रान्तिकारीले असिम विकको अध्यक्षतामा प्यानल दर्ता गरेका छन ।
क्याम्पसमा १ हजार ३ सय ५२ मतदाता रहेका छन । क्याम्पसमा स्ववियु निर्वाचनका लागि विभिन्न आठवटा विद्यार्थी संगठन दर्ता भएका छन ।