Hamro Patra
स्ववियू निर्वाचन ः बीरेन्द्रमा तीन प्यानल मैदानमा

टीकापुर, फागुन २८
स्ववियु निर्वाचनका लागि टीकापुरस्थित बीरेन्द्र विद्या मन्दिर क्याम्पसमा तीन प्यानल चुनावी मैदानमा उत्रिएका छन । 

निर्वाचन अधिकृत थीरप्रसाद उपाध्यायका अनुसार तीन छुट्टाछुट्टै प्यानल दर्ता भएका छन । प्यानल दर्ता गर्नेमा नेपाल विद्यार्थी संघ, अनेरास्ववियु र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) रहेका छन । 

नेविसंघले गोपाल खत्री, अनेरास्ववियुले गणेश धामी र क्रान्तिकारीले असिम विकको अध्यक्षतामा प्यानल दर्ता गरेका छन । त्यस्तै नेविसले सचिवमा मिन सार्की र कोषाध्यक्षमा विभूति चौधर, अनेरास्ववियुले सचिवमा महेन्द्रकुमार रावल र कोषाध्यक्षमा पूर्णिमा थापा मगर, क्रान्तिकारीले सचिवमा पुष्पा थापा र कोषाध्यक्षमा डम्मरा जैशीलाई अघि सारेको छ । 

निर्वाचन समितिका अनुसार सात सदस्य पदका लागि १८ जनाको उम्मेदवारी दर्ता भएको छ । जसमा नेविसंघका आकर्षण चौधरी, पवि धामी, रोशन बुढा, स्वस्तिका चौधरी, तुफान शाही, एलिना कुमारी चौधरी र राजेन्द्र महरा रहेका छन । अनेरास्ववियुकातर्फबाट मनिषा रावल, सृजना थापा, निर्जला चौधरी, टेकबहादुर कामी, मनिराज कुँवर र भावना बिष्टको उम्मेदवारी दर्ता भएको छ । 

त्यस्तै उम्मेदवारी दर्ता गर्नेमा क्रान्तिकारीका निरुता कुमारी कठरिया, चन्दना सन्ज्याल, बबिता सन्ज्याल, चन्द्रिका डगौरा चौधरी रहेका छन । नागरिक विद्यार्थी समाजका तर्फबाट सदस्यमा एकजना एलिना चौधरीको उम्मेदवारी दर्ता भएको छ । 

नौ जना समानुपातिक सदस्यका लागि २५ जनाको उम्मेदवारी दर्ता भएको छ । जसमा नागरिक विद्यार्थी समाजका प्रवेश आचार्य, प्रतिमा चौधरी, हरिश विक, स्वस्तिका तिमिल्सेना, अस्मिता चौधरी, सुश्माया चौधरी र दिक्षा शर्मा रहेका छन । समानुपातिक सदस्य पदका उम्मेदवारमा नेविसंघका जमुना ढकाल, संगिता चौधरी, संजिता ढुंगाना, शारदा चौधरी, प्रतिमा डगौरा, धिरेन्द्र रावल, स्वस्तिका परियार, प्रकाश भण्डारी र निर्मला कुमारी साउँद रहेका छन । 

अनेरास्ववियुले समानुपातिक सदस्य तर्फका नौ मध्ये चारजनाको मात्रै उम्मेदवारी दर्ता गरेको छ । उसले ज्ञानु थापा, सागर कडायत, निशान्त कुमार विक र पारस न्यौपानेको उम्मेदवारी दर्ता गरेको छ । क्रान्तिकारीले सृजना कुमारी बुढा, अनुष्का बुडा, गिता न्यौपाने, मञ्जु ढोली र दिलिप कुँवरको उम्मेदवारी दर्ता गरेको छ । 

देशभर चैत ५ गते हुने स्ववियु निर्वाचन हुँदैछ । बीरेन्द्र विद्या मन्दिरमा १ हजार ३ सय ५२ मतदाता रहेका छन । क्याम्पसमा स्ववियु निर्वाचनका लागि विभिन्न आठवटा विद्यार्थी संगठन दर्ता भएका छन । 


 

प्रकाशित मिति: बुधबार, फागुन २८, २०८१  ११:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update