Hamro Patra
मेयरको कार्यकक्षमा वडाध्यक्ष र कार्यपालिका सदस्यहरुको तालाबन्दी यथावत 

टीकापुर, फागुन २५
टीकापुर नगरपालिकाका प्रमुखको कार्यकक्षमा केही वडाध्यक्ष र कार्यपालिका सदस्यहरुले शुक्रवार लगाएको ताला यथावत छ । कार्यवाहक नगरप्रमुख लालविर चौधरीले समन्वयको प्रयास भैरहेको बताएका छन । 

नगरप्रमुख रामलाल डगौरा थारु लाओसमा आयोजना हुने पाँच दिने वन वातावरण सम्बन्धी कार्यक्रममा सहभागीताका लागि शुक्रवार नै काठमाण्डौं हिँडेको मेयरको सचिवालय प्रमुख एलबी बुढाले जानकारी दिए । 

तालाबन्दी गर्नेमा वडा नम्बर १ का अध्यक्ष मोहन लुहार विश्वकर्मा, २ का अध्यक्ष दीपक चौधरी र ३ का अध्यक्ष ऋषी विकका साथै चारजना कार्यपालिका सदस्यहरु दीपक निसानी, मञ्जु विक, सरस्वती तिरुवा र राजरानी चौधरी रहेका छन । उनीहरुले नगरप्रमुख थारु, प्रमुख प्रशासकीय अधिकृत दमन चौधरी र प्रशासन प्रमुख देवीप्रसाद आचार्यको कार्यकक्षमा तालाबन्दी गरेका छन । 

उनीहरुले ४७ औं कार्यपालिका बैठकको निर्णयमा लिखित असहमति राख्न रोक लगाएको भन्दै तालाबन्दी गरेको बताएका छन । उनीहरुले बैठकको एजेण्डाका रुपमा नआएका विषयमा निर्णय गरेर आफूहरुलाई गुमराहमा राखेको बताए । 

उनीहरुले मेयर थारुले नगर सभाले पास गरेको योजना कार्यपालिका मार्फत मनपरी संशोधन, आफू अनुकुलका योजना लाद्ने, कर्मचारी भर्तीकेन्द्र, अनावश्यक परामर्शदाता नियुक्त, बजेट नै नभएका योजनाको डिपिआर निर्माण लगायतका काम गरेर मनपरी गरेको बताएका छन । त्यस्तै अनुगमन समितिको संयोजकबाट कार्यपालिका सदस्य निसानीलाई हटाएको प्रति पनि उनीहरुले विरोध जनाएका छन । 

मेयर थारुले अनुगमन समितिको संयोजकमा निसानीको ठाउँमा कार्यपालिका सदस्य कैलाशपति चौधरीलाई जिम्मेवारी तोकेका छन । अनुगमन समितिको संयोजक उपमेयर रहने व्यवस्था भएपनि उपमेयर खडकबहादुर शाह निलम्वनमा परेका छन । 

केही दिन अघि पत्रकार सम्मेलन गर्दै मेयर थारुले आफूमाथि घेराबन्दी भैरहेको बताएका छन । उनले टीकापुरको विकास नचाहने तत्वले घेराबन्दी गरेको आरोप लगाए । उनले यस्तो विकास विरोधी तत्व विगतदेखी नै सकृय रहेको बताए ।

राजनैतिक दलहरुले फागुन १९ गते वडाध्यक्ष र कार्यपालिका सदस्यलाई राखेर नगरप्रमुख कार्यशैलीको विरोध गर्दै सच्याउन ध्यानाकर्षण गराएका थिए । दलहरुले वडाध्यक्ष र कार्यपालिका सदस्यहरुलाई राखेर बैठक गरेपछि मेयर थारुले पत्रकार सम्मेलन गर्दै चुनौती दिएका हुन । 
 

प्रकाशित मिति: आइतबार, फागुन २५, २०८१  १४:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update