
टीकापुर, फागुन २५
कैलालीको पूर्वी भेगका ठूला चामल उद्योग खण्डहर भएसँगै साना चामल उद्योग समेत बन्द हुन थालेका छन । कोरोना कालले निम्त्याएको आर्थिक मन्दीसँगै चामल उद्योगहरुले उत्पादन घटाएका छन । कतिपय उद्योगहरु बन्द भैसकेका छन ।
‘यस्तै अवस्था रह्यो भने सबै चामल उद्योग बन्द हुन्छन’ टीकापुरस्थित भोजराज खाद्य उद्योगका सञ्चालक अर्जुन भट्टराईले भने–‘जेनतेन चलाईरहेका छौं । कुन दिन बन्द गर्नुपर्ने हो थाहा छैन ।’
कोरोना कालले आर्थिक मन्दी सृजना गर्यो । त्यही आर्थिक मन्दीले चामल उद्योगका लागि थुप्रै समस्या सृजना गरिदियो । एकातिर बैंकको ब्याजमा वृद्धि भयो भने अर्कोतिर बैंकले ‘सिजनल लोन’ रोकिदियो । बैंककै कारण चामल उद्योगको उत्पादनमा ‘ब्रेक’ लाग्यो । जसले उद्योगीलाई संकटमा पार्ने काम गर्यो ।
कतिपय समस्या चामल उद्योगी आफैले सृजना गरे । जस्तैः उनीहरुले अस्वस्थ प्रतिस्पर्धा गरे, प्रतिस्पर्धाले उधारो फस्यो, आम्दानीलाई अन्यत्र लगानी गरे । ‘हाम्रा साथीहरुले फाईदा र घाटाको आँकलन गरेनन्’ बिना फुड प्रोडक्टका सञ्चालक विजय न्यौपानेले भने–‘अस्वस्थ प्रतिस्पर्धाले पनि समस्या निम्त्यायो ।’
नेपाली चामल उद्योग बन्द हुनुको एक अर्को महत्वपूर्ण कारण छ । जसले कैलालीको पूर्वी भेगका ठूला चामल उद्योग उहिल्यै खण्डहर बनेका थिए । स्वदेशी उत्पादन बजारमा जाने बेला भारतीय सस्तो चामल भित्रिन्छ । जुन चामलसँग स्वदेशी उत्पादनले प्रतिस्पर्धा नै गर्न सक्दैन । उद्योगीहरु सस्तोमा चामल बेच्न वाध्य हुन्छन । ‘हामी प्रतिस्पर्धा नै गर्न सक्दैनौं’ उद्योगी भट्टराईले भने–‘हाम्रो चामल उधारोमा बेच्नु पर्छ ।’
यसरी सस्तोमा नेपाली बजारमा भित्रिने भारतीय चामल उपभोगका लागि अस्वस्थकर मानिन्छ । स्रोतका अनुसार भारतीय ब्यापारीले वर्षौदेखी गोदाममा थन्काएर राखेको चामल नेपाली ब्यापारीहरुलाई सस्तोमा बेच्ने गर्छन । नेपाली ब्यापारीले त्यही चामललाई आफ्नो बोरामा भरेर बजारमा पठाउने गरेको पाईन्छ । ‘यो सबै वर्षौदेखी भैराखेको कुरा हो’ उद्योगी भट्टराईले भने–‘सबैको मिलेमतोमा बदमासी भैरहेको छ, रोक्ने कसले ?’
कुनैबेला यहाँको चामल धनगढी, नेपालगञ्ज लगायतका बजारमा समेत बिक्री हुन्थ्यो । सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी जिल्लामा टीकापुरको चामलको राम्रो बजार थियो । त्यहाँ उद्योगीको उधारो समेत फसेको छ । ‘कुनैबेला हाम्रो चामलले राम्रो बजार पाएको थियो । अहिले कारोवार गर्न डर लाग्छ’ टीकापुर फुड प्रोडक्टका सञ्चालक मुकेश बमले भने–‘केही हदसम्म उधारोले डुबायो । उधारो दिएको फिर्ता आउने सम्भावना न्यून छ ।’
ठूला चामल उद्योग बन्द भैसकेपछि पनि टीकापुरबाट मासिक ५० हजार क्विन्टल चामल निर्यात हुन्थ्यो । उद्योगीका अनुसार अहिले मुस्किलले हजार÷दुई हजार क्विन्टल चामल निर्यात हुन्छ ।
ठूला चामल उद्योग सञ्चालनमा हुँदा भने टीकापुरको चामल स्वदेशमा मात्रै हैन विदेशमा समेत निर्यात हुन्थ्यो । टीकापुरमा चामल उद्योग सञ्चालन भएपनि भण्डारण छिमेकी मुलुक भारतको तिकुनीयाँमा हुने गथ्र्यो । त्यहीबाट भैरहवा नाका हुँदै चामल नेपाल भित्रिन्थ्यो र खपत हुन नसकेको चामल व्यवशायीले भारतमा बिक्री गर्थे ।
तत्कालिन समयमा चामल उत्पादनका लागि कैलालीको पूर्वी क्षेत्र निकै चर्चामा थियो । जिल्लाका प्राय सबै किसानले धान बिक्रीका लागि यस क्षेत्रलाई नै रोज्थे । जिल्लाभरको धान खरिद गर्न पाएपछि चामल उद्योग निकै तिब्र गतिमा चलेका थिए ।
ठूला चामल उद्योग मध्ये अहिले एउटा मात्रै मौरानीया चामल उद्योग सञ्चालनमा छ । आफ्ना बुबाले स्थापना गरेको यो चामल उद्योग छोरा नारायण गोयलले जसोतसो चलाईरहेका छन ।
साविक नारायणपुर गाविसमा रहेका मख्खन बाबु भनेर चिनिने बिरबहादुर राईको दुर्गा राइस मिल, गोविन्द श्रेष्ठको ओखरपुर राइस मिल, शान्तिकुमार अग्रवालको शक्ति राइस मिल र टीकापुर अस्नेरीस्थित कर्णाली राइस मिल देशभरमै चिनिने ठूला चामल उद्योग हुन । एउटा उद्योगमा १ घण्टामा २० क्विन्टल चामल उत्पादन हुने गथ्र्यो ।
२०४६ को राजनीतिक परिवर्तन पछि उत्पन्न घटनाक्रमले ठूला चामल उद्योगहरु बन्द हुन थाले । दुर्गा राइस मिल २०४६ कै आसपासमा बन्द भयो । २०५३ को आसपासमा शक्ति र ओखरपुर राइस मिल बन्द भए । त्यही आसपासमा कर्णाली राइस मिल पनि बन्द हुन पुग्यो । उद्योग बन्द भएसँगै सबै व्यवशायीहरु विस्थापित भए ।