
टीकापुर, फागुन २४
कैलालीको सुदूरपूर्वी टीकापुर नगरपालिका वडा नं. ७ स्थित एक केराबारीमा चितुवा मृत अवस्थामा भेटिएको छ ।
टीकापुर नगरपालिका वडा नं. ७ सत्तीस्थित महेश रावलको केराबारीमा मृत अवस्थामा चितुवा भेटिएको हो । केराबारीमा भेटिएको चितुवाको पछाडि पेट फुटेको र खुट्टा छुट्टिएर गन्हाउने अवस्थामा फेला परेको हो ।
इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डिएसपी नवीनराज बुढाथोकीले दिएको जानकारी अनुसा मृत चितुवाको टाउकोमा समेत चोट लागेको छ । मृत अवस्थामा फेला परेको चितुवा केही दिनअघि मरेको हुनसक्ने डिएसपी बुढाथोकीले बताए ।
चितुवालाई इलाका वन कार्यालय टीकापुर, प्रहरी चौकी सत्ती, सत्ती कर्णाली सामुदायिक वन उपभोक्ता समुह र जनप्रतिनिधिको रोहबरमा वन कार्यालयलाई बुझाइएको छ ।
केही महिना अघि टीकापुर नगरपालिका वडा नं. ७ र ८ मा बाघ र चितुवाले स्थानीयका घरपालुवा जनावर खाने गरेको थियो ।