Hamro Patra
प्रार्थना सभा आयोजना गर्ने सात जना पक्राउ

टीकापुर, फागुन २४
टीकापुरमा प्रार्थना सभा आयोजना गर्ने मध्येका सात जना पक्राउ परेका छन । पक्राउ पर्नेमा अनुग्रह चर्च नेपालका संयोजक करण विक लगायत रहेको स्रोतले जानकारी दिएको छ । 

इलाका प्रहरी कार्यालय टीकापुरले पक्राउ परेकाहरुलाई जिल्ला प्रशासन कार्यालय कैलालीमा बुझाउने तयारी भैरहेको जानकारी दिएको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले पक्राउ परेकाहरुलाई ठगी मुद्दा अर्न्तगत कारवाही गरिने बताए । ‘आयोजक मध्येका सात जना पक्राउ परेका छन’ उनले भने–‘ठगी अर्न्तगत मुद्दा दायर गर्ने र सोही अनुसार कारवाही हुन्छ ।’

यही फागुन २१ र २२ गते टीकापुरमा आयोजित प्रार्थना सभामा आयोजकले उपचारका नाममा पैसा असुलेर ठगी गरेको आरोप लागेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुले सभामा उपचारका लागि आएका बिरामीहरुबाट ठूलो रकम संकलन गरेको बताईएको छ । 

ती मध्ये २३ जनाको पैसा भने प्रहरीले फागुन २२ गते नै फिर्ता गर्न लगाएको थियो । इलाका प्रहरी कार्यालय टीकापुर डिएसपी नविन राजा बुढाथोकीले पिडितको ५ लाख ९८ हजार रुपैयाँ फिर्ता गरिएको जानकारी दिए । ती बाहेकका व्यक्तिहरुको पैसा भने आयोजकले फिर्ता गरेको छैन ।

सभामा भारतीय नागरिक बजिन्दर सिँहले वर्षौदेखी अपाङ्गता भएका व्यक्तिहरुको उपचारका नाममा झारफुक गरेका थिए । ती मध्ये कतिपयले निको भएको बहाना गरेका थिए । सहभागीहरुका अनुसार ती निको भएको बहाना गर्ने व्यक्तिहरु आयोजककै मान्छे थिए । 

उनीहरुले आफू निको भएको भन्दै सर्वसाधारणलाई भ्रममा पारेका थिए । यही भ्रममा परेर धेरै सर्वसाधारणले आयोजकलाई रकम बुझाएको बताईएको छ । पश्चिम तराईका दर्जन बढी जिल्लाका सयौं व्यक्तिहरु सभामा सहभागी भएका थिए । 

उनीहरु कोही ह्विचियरमा थिए भने कसैलाई आफन्तले पिठ्युँमा बोकेर सभामा पुर्याएका थिए । टीकापुर नगरपालिका वडा नम्बर ५ स्थित खेल मैदान मान्छेले भरिएको थियो । मान्छेको सहभागीता देख्दा ठूलै मेला महोत्सवको झल्को देखिन्थ्यो । 

भारतीय नागरिक सिँहकै उपस्थितिमा यस्तै सभा मंसिर ५ र ६ गते चितवनको सौराहामा समेत सम्पन्न भएको थियो । त्यहाँ समेत बिरामीलाई निको पार्ने भन्दै प्रचार गरेर मान्छे जम्मा पारिएको थियो ।

प्रकाशित मिति: शनिबार, फागुन २४, २०८१  १४:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update