
टीकापुर, फागुन २३
अनुग्रह चर्च नेपालले फागुन २१ र २२ गते टीकापुरमा प्रार्थना सभाको आयोजना गर्यो । जहाँ प्रोफेट बजिन्दर सिँह आउने तय भयो । उनलाई आयोजकले प्रभुको दास विश्वविख्यात नम्बर १ भनेर प्रचार गरे ।
उनको प्रवचन सुन्न मात्रै नभई सिँहले वर्षौदेखी अपाङ्गता भएका व्यक्तिहरुलाई छोएरै निको पार्ने प्रचार गरेर मान्छे जम्मा पारियो । पश्चिम तराईका दर्जन बढी जिल्लाका सयौं व्यक्तिहरु सभामा सहभागी भए ।
उनीहरु कोही ह्विचियरमा थिए भने कसैलाई आफन्तले पिठ्युँमा बोकेर सभामा पुर्याएका थिए । टीकापुर नगरपालिका वडा नम्बर ५ स्थित खेल मैदान मान्छेले भरिएको थियो । मान्छेको सहभागीता देख्दा ठूलै मेला महोत्सवको झल्को देखिन्थ्यो ।
पहिलो दिनको कार्यक्रम शान्तिपूर्ण रुपमै सम्पन्न भयो । कोही कसैले कार्यक्रमका बारेमा गुनासो गरेनन् । तर, दोस्रो दिन धेरै व्यक्तिहरुले आफूहरुसँग पैसा असुलेको भन्दै प्रहरीलाई गुनासो गरे ।
उनीहरु मध्ये कतिपयले पैसा तिरेर पनि उपचार नपाएको भन्दै प्रहरीलाई पैसा असुल्न आग्रह गरे । सोही क्रममा इलाका प्रहरी कार्यालय टीकापुरले सोधीखोजी गर्न थाल्यो । त्यतिञ्जेल सिँह भागिसकेको प्रहरी नायब उपरिक्षक नविन राजा बुढाथोकीले बताए । उनले प्रहरीले सिँहका प्रतिनिधि भनिएका दुई जनालाई नियन्त्रणमा लगेको बताए ।
उनका अनुसार २३ जना पैसा तिरेर पनि उपचार नपाएको भन्दै प्रहरीको सम्पर्कमा आए । उनीहरुको ५ लाख ९८ हजार रुपैयाँ तिनै प्रतिनिधिबाट फिर्ता गरिएको डिएसपी बुढाथोकीले जानकारी दिए ।
उनले त्यस बाहेक अरु व्यक्ति भने अन्यायमा परेको भन्दै प्रहरीको सम्पर्कमा नआएको बताए । ‘अरु कोही हाम्रो सम्पर्कमा आउनु भएको छैन’ उनले भने–‘आएका २३ जनाको रकम फिर्ता गरिसकेको छ ।’
उनले सिँहसँग हतियार बिहिन भारतीय सुरक्षाकर्मी समेत रहेको बताए । आयोजकले कार्यक्रम आयोजना गर्नका लागि जिल्ला प्रशासन कार्यालय कैलालीबाट अनुमति प्राप्त गरेको देखिन्छ । डिएसपी बुढाथोकीले प्रशासन कार्यालयबाट शान्ति सुरक्षाको व्यवस्था गर्न भन्दै पत्र आएको जानकारी दिए ।
तर यो सभा नगर्न भन्दै ख्रिष्टिय समाजमा आवद्ध केही अगुवाहरुले सुझाव दिएका थिए । उनीहरुले कार्यक्रममा कुनै समस्या परे त्यसको जिम्मेवार नरहने भन्दै प्रहरीलाई निवेदन समेत दिएका थिए । यस्तो निवेदन आएपछि आयोजक र ख्रिष्टिय समाजका व्यक्तिहरुबीच छलफल समेत भएको प्रहरीले जानकारी दिएको छ ।
लामो समयदेखी ख्रिष्टिय समाजमा आवद्ध हिरालाल भाटले यस कार्यक्रमको पक्षमा आफूहरु नरहेको बताए । उनले कार्यक्रमका बारेमा आफूहरुलाई जानकारी समेत नभएको बताए । ‘यत्रो मान्छे जम्मा गरेर किन कार्यक्रम गर्ने ? कुनै घटना दुर्घटना भयो भने त्यसको जिम्मेवारी कसले लिने ? भन्ने हाम्रो चिन्ताको विषय थियो’ उनले भने–‘यो बाहेक हामीलाई खाशै जानकारी छैन ।’
यो कार्यक्रमका संयोजक टीकापुरका करण विक हुन । उनी सँग टेलिफोन सम्पर्क हुन सकेन । प्रहरीले समेत उनलाई खोजी गरिरहेको जानकारी दिएको छ । डिएसपी बुढाथोकीले आयोजकको खोजी भैरहेको बताए ।
आयोजक मध्येकै एकजना सदस्य धनबहादुर चौधरीसँग टेलिफोन कुराकानी भएको छ । उनले बिरामी धेरै भएर पालो नपाएका कारण समस्या भएको बताए । उनले धेरै बिरामीहरु निको भएर फर्किएको दावी गरे । छोएकै आधारमा कसरी निको हुन्छ भन्ने जिज्ञासामा उनले भने–‘विश्वास गरे निको हुन्छ, विश्वास नगरे हुँदैन ।’
सिँहकै उपस्थितिमा यस्तै सभा मंसिर ५ र ६ गते चितवनको सौराहामा समेत सम्पन्न भएको थियो । त्यहाँ समेत बिरामीलाई निको पार्ने भन्दै प्रचार गरेर मान्छे जम्मा पारिएको थियो ।