
टीकापुर, फागुन २३
टीकापुर नगरपालिकाका मेयर रामलाल डगौरा थारुले भ्रम फैलाउने काम गरेको केही वडाध्यक्ष र कार्यपालिका सदस्यहरुले आरोप लगाएका छन ।
उनीहरुले आज पत्रकार सम्मेलन गर्दैै मेयर थारुले आफै मनपरी गरेर वडाध्यक्ष र कार्यपालिका सदस्यहरुले काम गर्न नदिएको भन्दै जनतामा भ्रम फैलाउने काम गरेको बताए ।
उनीहरुले कार्यपालिका बैठकमा भएका गलत निर्णय प्रति असहमति लेख्न पाउने लोकतान्त्रिक अधिकारको हनन् गरेर मेयर थारुले निरंकुश व्यवहार देखाएको आरोप लगाए । ‘हिजो लोकतन्त्र प्राप्तीका लागि लड्यौं आज आफ्नै लोकतान्त्रिक अधिकार हनन् भयो’ वडा नम्बर १ का वडाध्यक्ष मोहन लुहार विकले भने–‘मेयरको निरंकुश प्रवृत्ति विरुद्ध हाम्रो आपत्ति हो ।’
उनले मेयर थारुले नगर सभाले पास गरेको योजना कार्यपालिका मार्फत मनपरी संशोधन, आफू अनुकुलका योजना लाद्ने, कर्मचारी भर्तीकेन्द्र, अनावश्यक परामर्शदाता नियुक्त, बजेट नै नभएका योजनाको डिपिआर निर्माण लगायतका काम गरेर मनपरी गरेको बताए । उनले मेयर थारु दूरदर्शी ढंगले नभई हल्लाको भरमा सल्लाह दिनेहरुको उक्साहटमा दौडिने गरेको आरोप लगाए ।
‘मेयरमा दूरदर्शीता भन्ने छैन । जसले जे सल्लाह दियो । त्यसैको पछि दौडिने गरेका छन’ उनले भने–‘यसले विकास हैन विनास निम्त्याउने निश्चित छ ।’
सोही पत्रकार सम्मेलनमा अनुगमन समितिको संयोजकबाट हटाईएका कार्यपालिका सदस्य दीपक निसानीले हटाउने कुराको विमति समेत राख्न नपाएको बताए । उनले निराधार आरोप लगाएर गलत प्रकृयाबाट आफूलाई जिम्मेवारीबाट हटाएको बताए । ‘नगरप्रमुखले तोक्ने व्यवस्था छ तर हटाउने व्यवस्था स्पष्ट छैन’ उनले भने–‘गलत काम गर्दैन भन्दा हटाईयो ।’
मेयर थारुले अनुगमन समितिको संयोजकमा निसानीको ठाउँमा कार्यपालिका सदस्य कैलाशपति चौधरीलाई जिम्मेवारी तोकेका छन ।
उनले २०८१ कात्तिक ३० गते विमानस्थल मर्मतको सम्झौता भएकोमा सोही दिन अनुगमन गर्न दवाव दिएपछि मेयरसँग विवाद बढेको बताए । उनले विमानस्थल मर्मतको काम सम्पन्न नहुँदै अनुगमन गरेर प्रतिवेदन बुझाउन दवाव दिएको जानकारी दिए । ‘कतिपय योजना मैले अनुगमन गरेर हस्ताक्षर नगर्दै भुक्तानी भएका छन’ उनले भने–‘विमानस्थलमा मलाई दवाव दिएर फसाउन खोजेको देखिन्छ ।’
वडा नम्बर २ का वडाध्यक्ष दीपक चौधरीले मेयर थारुलाई कार्यपालिका बैठकका बारेमा जानकारी नै नभएको बताए । उनले कतिपटक कार्यपालिका बैठक बस्यो भन्ने बारेमा मेयर थारु अनभिज्ञ रहेको आरोप लगाए । ‘हामीले असहमति जनाएको ४७ औं कार्यपालिका बैठक हो । मेयर भने ४६ औं भनिरहनु भएको छ’ उनले भने–‘यसले पनि मेयर काम कारवाही प्रति कति जिम्मेवार छन भन्ने बुझ्न सकिन्छ ।’
त्यस्तै कार्यपालिका सदस्य मञ्जु विकले मेयर थारुले जातीय कुरा गरेर आफूहरुको चित्त दुखाएको बताईन । उनले दलित समुदायबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिलाई हेपेर विभेद गरेको आरोप लगाईन । ‘हाम्रो पनि राजनैतिक हैसियत छ । हामी पनि जनताको काम गर्न भनेर आएको हो’ उनले भनिन्–‘मेयरले हामीलाई हेपेका छन ।’
उनले आफूहरुले समेत विकास चाहेको बताउँदै यसका लागि मेयरसँग हातेमालो गर्न तयार रहेको बताईन । उनले त्यसका लागि मेयर थारुले सबैलाई समान ढंगले मिलाएर लैजानु पर्ने बताईन । ‘एकजनाले मात्रै चाहेर विकास सम्भव छ’ उनले प्रश्न गरिन्–‘सबैको साथ नचाहिने नै हो त ?’
टीकापुर नगरपालिकाका ३ जना वडाध्यक्ष र ४ जना कार्यपालिका सदस्यहरुले संयुक्त हस्ताक्षर गरेको पाँच बुँदे विज्ञप्ती समेत पत्रकार सम्मेलनमा वितरण गरिएको थियो । विज्ञप्तीमा उनीहरुले आफूहरुमाथि मेयर थारुले लगाएका आरोपका बारेमा स्पष्ट पारेका छन । उनीहरुले आफूहरुले राखेका विमति प्रति मेयर थारु गम्भिर नबने परिस्थिति नराम्रो हुने चेतावनी समेत दिएका छन ।
विज्ञप्तीमा के छ ?