-1741247570.jpeg)
टीकापुर, फागुन २२
वैदेशिक रोजगारीका नाममा युवाहरु ठगिने क्रम बढेको छ । एकपछि अर्को गर्दै यस्ता ठगीका घटना बाहिरिन थालेका छन ।
टीकापुर नगरपालिका वडा नम्बर १ खक्रौला रोड नजिकै इन्फिनिटी एच आर सोलुसन प्रालि नामक संस्था खोलेर एक व्यक्तिले धेरै युवाहरुलाई ठगी गरेको पाईएको छ । प्रालिका प्रबन्ध निर्देशक भनिएका राम भुवन कुमार साह युवाहरुलाई ठगेर फरार भएका छन । उनी सप्तरी जिल्लाको साविक भङ्गहा गाविस वडा नम्बर ६ का बासिन्दा हुन ।
विभिन्न १४ जना युवाहरुले २०८१ फागुन ६ गते उनी विरुद्ध वैदेशिक रोजगारीमा ठगी गरेको भन्दै जिल्ला प्रशासन कार्यालय कैलालीमा उजुरी दिएका छन । उनीहरुले निज साहले युरोपियन मुलुकहरुमा पठाउने भन्दै आफूहरुसँग रकम लगेको निवेदनमा उल्लेख छ ।
युवाहरुले विभिन्न मितिमा निज साहको नाममा रहेको महालक्ष्मी विकास बैंकको खातामा १५ लाख रुपैयाँ जम्मा गरेको बताएका छन । पीडित मध्ये टीकापुर नगरपालिका वडा नम्बर ४ अस्नेहरीका जयबहादुर बोहराले स्वास्थ्य परिक्षणका नाममा थप दश÷दश हजार रुपैयाँ समेत दिएको बताए ।
उनले साहको प्रलोभनमा परेर ठगीमा पर्ने युवाहरुको संख्या अझ धेरै हुनसक्ने बताए । उनले आफू लगायत २३ जना युवाहरुको राहदानी अहिले पनि साहसँगै रहेको जानकारी दिए । ‘अरु धेरैले पनि पैसा दिएको हुनसक्छ’ उनले भने–‘हामी तत्काल सम्पर्कमा आएका मात्रै हौं ।’
साह २०८१ माघ २५ गते टीकापुर छोडेर फरार भएका छन । उनी भारतको राजधानी दिल्लीमा कार्यालयको काम छ भनेर हिँडेको पीडित मध्येकै अर्का टीकापुर नगरपालिका वडा नम्बर ३ का भुवन रसाइलीले बताए । ‘मलाई त धेरै कुरा थाहा थिएन । काम छ, दिल्ली जान्छु भन्यो । होला त सोचे’ उनले भने–‘अहिले पो थाहा भयो । म त ठगिएको रहेछु ।’
उनी टीकापुरस्थित एक होटलमा सामान्य काम गर्ने कामदार हुन । उनले साहको बैंक खातामा २०८१ माघ २४ गते एक लाख दश हजार रुपैयाँ जम्मा गरेका थिए । उनले युरोप गएर धेरै पैसा कमाउने लोभमा मेहनत गरेर कमाएको पैसा गुमाउनु परेको दुःखेसो पोखे ।
साहले टीकापुर छोडेको अर्को दिन अर्थात् माघ २६ गते समेत टेलिफोन गरेर युवाहरुलाई पैसा जम्मा गर्न भनिरहेका थिए । ती मध्येका छ जनालाई पैसा जम्मा गर्नबाट आफूले रोकेको बोहराले बताए । उनले साह गलत मान्छे हुन भन्ने कुरा आफूलाई पहिल्यै महशुस भएको बताए ।
साहमाथि शंका लागेर नै उनले संस्थाको बारेमा खोजिनीति गरेका थिए । ‘पान नं. मिलेन, संस्था दर्ता भेटिएन’ उनले भने–‘यति कुरा पत्ता लगाउदा उ (साह) भागिसकेको थियो ।’
साहबाट ठगिएको थाहा पाए पछि माघ २७ गते युवाहरु जम्मा भए । उनीहरुले न्यायका लागि एकतावद्ध हुने योजना बनाए । सोही योजना अनुसार उनीहरुले जिल्ला प्रशासन कार्यालय कैलालीमा उजुरी दिएका छन । प्रशासन कार्यालयले समेत २०८१ फागुन ६ गते नै वैदेशिक रोजगार विभागमा कारवाहीका लागि पत्राचार गरेको छ ।