
टीकापुर, फागुन १९
टीकापुर नगरपालिकाले मनलाग्दी निर्णयहरु गर्ने गरेको एउटा तथ्य बाहिरिएको छ । कार्यपालिका बैठकमा छलफल नै नगरेका विषयहरु निर्णयका रुपमा सार्वजनिक भए पछि पालिकामा भाँडभैलो मच्चिएको हो ।
नगर प्रमुख रामलाल डगौरा थारुकै पार्टी नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित कार्यपालिका सदस्यहरु समेत नगर प्रमुखविरुद्ध उत्रिएका छन् ।टीकापुर नगरपालिकाको कार्यपालिका बैठकमा प्रस्तुत नै नभएका एजेण्डाहरु निर्णयमा आएको भन्दै कार्यपालिका सदस्यसहित टीकापुरस्थित विभिन्न राजनीतिक दलहरुले आपत्ती जनाएका छन् ।
कार्यपालिकाको २०८१ माघ २९ गते बसेको नगर कार्यपालिकाको ४७औं बैठकमा छलफलमै नआएका एजेण्डाहरु निर्णयका रुपमा आएको भन्दै कार्यपालिका सदस्य र टीकापुरस्थित विभिन्न राजनीतिक दलहरुले आपत्ती जनाएका हुन् ।
फागुन १९ गते टीकापुरस्थित राजनीतिक दल र कार्यपालिका सदस्यहरुको संयुक्त बैठकले कार्यपालिकाको सो निर्णयहरु हटाउन, जनभावना विपरीतका क्रियाकलाप बन्द गर्न र कार्यपालिका कार्यालयको स्वेच्छारी गतिविधि रोक्न माग गरेका छन् ।
संयुक्त बैठकमा कार्यपालिका सदस्य एवं वडाध्यक्षहरु दीर्घबहादुर ठकुल्ला, मोहनसिंह लुहार वि.क., ऋषि श्रीपाइली, दीपक चौधरी, बलिराम चौधरी, यज्ञप्रसाद न्यौपानेले कार्यपालिकाले मनोमानी निर्णय गर्ने गरेको भन्दै आपत्ती जनाएका छन् ।
त्यस्तै कार्यपालिका सदस्यहरु दीपक निसानी, रामबहादुर नगार्जी, लबरी चौधरी, मञ्जु वि.क., सरस्वती तिरुवा, राजरानी चौधरीले समेत निर्णयमा आपत्ती जनाएका छन् । कार्यपालिका सदस्यमध्ये निसानी, वि.क. र तिरुवा नागरिक उन्मुक्तिबाट निर्वाचित हुन् ।
त्यस्तै नेपाली काँग्रेसका नगर सभापति नरेशकुमार खत्री, नेकपा एमालेका नगर सचिव भानुभक्त जैशी, नेकपा माओवादी केन्द्रका नगर इञ्चार्ज दयाराम सञ्ज्याल र नागरिक उन्मुक्ति पार्टीका केन्द्रिय सदस्य रमेश विश्वकर्माले समेत आपत्ती जनाएका छन् ।
कार्यपालिका बैठकमा एजेण्डा नै नभएका विषयमाथि एकपटक समेत छलफल नभई पटक पटक थप निर्णयहरु थपिनु विधि सम्मत नभएको नागरिक उन्मुक्ति पार्टीका केन्द्रिय सदस्य रमेश विश्वकर्माले बताए ।
‘कार्यपालिकामा एजेण्डा नै नभएका विषयहरु निर्णयका रुपमा पटक पटक आएका छन् । नगर प्रमुख विधि विधानले चलेका छन् कि छैनन् भन्ने कुरा हो’ कन्द्रिय सदस्य विश्वकर्माले भने ‘हिजो नगर प्रमुखलाई यो विषयमा ध्यानाकर्षण गराउन जाँदा समेत उहाँले कार्यपालिका सदस्यलाई नोट अफ डिसेन्ट नै लेख्न नदिने अडान दोहोर्याउनु भयो, यसले नगरपालिका विधि विधान भन्दा बाहिर छ भन्ने देखिन्छ, त्यही भएर हामीले आपत्ती जनाएका हौं ।’
नेपाली काँग्रेसका नगर सभापति नरेशकुमार खत्रीले कार्यपालिकामा प्रस्ताव फिर्ता भएका विषय समेत निर्णयका रुपमा सार्वजनिक हुनु दुःखद् भएको बताए । ‘कार्यपालिका सदस्यहरुका अनुसार प्रस्ताव ल्याइएका एजेण्डा फिर्ता हुँदा निर्णयमा उल्लेख भएपछि चार दलसहित कार्यपालिका सदस्यहरुको बैठकबाट नगरपालिकालाई निर्णय सच्याउन आग्रह गरिएको हो ।’
माघ २९ गतेको कार्यपालिका बैठकमा नगरपालिकाको अनुगमन समितिका संयोजक रहेका कार्यपालिका सदस्य दीपक निसानीलाई हटाउने एजेण्डा नगर प्रमुख रामलाल डगौरा थारुले पेश गरेका थिए ।
सो एजेण्डामाथि अधिकांश कार्यपालिका सदस्यहरुले आपत्ती जनाउँदा उक्त एजेण्डा नै फिर्ता लिएका नगर प्रमुख थारुले निर्णय सार्वजनिक गर्दा भने निसानीलाई अनुगमन संयोजकबाट हटाउने निर्णय गरेका थिए । त्यस्तै मंगलदीप प्रतिष्ठानका नाममा विनियोजित बजेट समेत सोही बैठकबाट रकमान्तर गर्ने निर्णय सार्वजनिक भएपछि कार्यपालिका सदस्यहरुले आपत्ती जनाएका हुन् ।
टीकापुर नगरपालिका यसअघि समेत कार्यपालिका बैठकमा छलफलमै नआएका विषय निर्णयका रुपमा सार्वजनिक गर्दै आएको थियो ।