Hamro Patra
भारततर्फ नजान संघको आग्रह

टीकापुर, चैत्र ७
विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना रोग भारतमा समेत देखा परेपछि कैलालीको टीकापुरका व्यापारीहरुले भारत नजान सर्वसाधारणलाई आग्रह गरेका छन् ।

टीकापुर उद्योग वाणिज्य संघले आजविहान सीमावर्ती खक्रौला नाकामा भारततर्फ जान लागेका नेपालीहरुलाई फिर्ता पठाएर भारततर्फ नजान आग्रह गरेको हो ।

दैनिक उपभोग्य सामानहरु खरिद गर्नका लागि सयौंको संख्यामा भारतको तिकुनियाँ लगायतका बजारमा जाने नेपालीहरुलाई संघले कोरोनाबारे सचेत गराउँदै फिर्ता हुन आग्रह गरेको थियो ।
सामान खरिदका लागि साइकलमा जाँदै गरेका सर्वसाधारणहरु संघको आग्रह पछि फिर्ता भएका हुन् ।

Khadga Memorial And Janajagriti

टीकापुर उद्योग वाणिज्य संघका अध्यक्ष रामबहादुर भण्डारीले महामारीको रुपमा फैलिएको कोरोना नेपालमा भित्रिन नदिन सर्वसाधारणलाई सजग गराएर फिर्ता हुन आग्रह गरिएको बताए ।

‘भारतमा कोरोना रोग देखिसके पछि हामीले दैनिक उपभोग्य सामान खरिद गर्न जाने नेपालीलाई नजान आग्रह गरेका हौं’ अध्यक्ष भण्डारीले भने ‘कोरोनाबारे जानकारी दिएपछि उनीहरु फिर्ता भएका छन् ।’

कोरोना रोकथामका लागि नागरिक स्तरबाट समेत सचेत हुनुपर्ने आवश्यकता रहेको बताउँदै अध्यक्ष भण्डारीले सर्वसाधारणलाई केहीदिन भारततर्फ नजान अनुरोध गरे । भण्डारीका अनुसार टीकापुर लगायतका बजारमै दैनिक उपभोग्य सामानहरु पर्याप्त हुँदाहुँदै पनि भारत जाँदा कोरोनाको जोखिम हुनसक्छ ।

जोखिम न्युनिकरणका लागि स्थानीय प्रशासनसँगको सहकार्यमा शनिवारदेखि भारततर्फ जान पूर्ण रुपमा रोक लगाइने भण्डारीले बताए ।

स्थानीय मानबहादुर ठकुल्लाले दैनिक रुपमा भारत जानेहरु समेत संघको आग्रहपछि फिर्ता भएको बताए ।

टीकापुरबाट झण्डै २ शय ८५ किलोमिटरको दुरीमा रहेको उत्तर प्रदेशको राजधानी लखनउमा कोरोनाका संक्रमितहरु फेला परेका थिए । लखनउ यो क्षेत्रका नागरिहरुको स्वास्थ्य उपचारका लागि जाने ठाउँ समेत हो ।
भारतीय बजारबाट दैनिक उपभोग्य सामानहरु बिक्री गर्न भारतीयहरु दैनिक रुपमा नेपाल आउने गरेका छन् । उनीहरुलाई समेत नेपालतर्फ आउन रोक लगाउनु पर्ने स्थानीयहरु बताउँछन् ।

प्रकाशित मिति: शुक्रबार, चैत ७, २०७६  १८:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update