
टीकापुर, फागुन २०
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कमजोरी स्विकार गरेर जनतासँग आएको बताएका छन । टीकापुरमा आयोजित थारु राष्ट्रिय मुक्ति मोर्चा नेपालको चौथो राष्ट्रिय सम्मेलनको आज समुदघाटन समारोहमा बोल्दै उनले जनताले माफ दिने विश्वास व्यक्त गरेका छन ।
उनले माओवादीले आगामी २०८४ को निर्वाचनमा २०६४ को जस्तै पहिलो स्थान हासिल गर्ने दावी गरे । उनले आफूहरुको कमजोरीका कारण २०६४ को चुनाव पश्चात जनता अन्यत्र मोडिएको बताए ।
‘दाँयाबाँया जो जता लाग्नु भएको छ । सबैजना मुल घरमा फर्किनु होस’ उनले भने–‘फेरी त्यस्तै २०६४ कै अवस्थामा माओवादीलाई फर्काउनु छ ।’
उनले माओवादी कमजोर भएका कारण प्राप्त उपलब्धी गुम्ने खतरा रहेको भन्दै जनतालाई आन्दोलनमा एकतावद्ध हुन आग्रह गरे । उनले केही प्रतिक्रियावादीहरु प्राप्त उपलब्धीलाई मास्ने षडयन्त्रमा लागेको बताए । ‘केही प्रतिक्रियावादीहरु सकृय हुन खोजेका छन’ उनले भने–‘हामी सबै मिलेर निस्तेज पार्नुपर्छ ।’
उनले थारु समुदायले प्राप्त गरेको अधिकार माओवादीकै कारण सम्भव भएको बताउँदै थप अधिकार र पहिचानका लागि एकतावद्ध हुनुपर्ने बताए । उनले काँग्रेस र एमाले थारु समुदायलाई अधिकार बिहिन बनाउने तर्फ लागेको आरोप लगाए ।
‘काँग्रेस र एमालेहरु बरु संघीयता नै खारेज गर्ने पक्षमा छन’ उनले भने–‘उनीहरु तपाईहरुको हकअधिकार र पहिचानका लागि कहाँ बोल्छन ।’
उनले २०७२ को टीकापुर घटना राजनीतिक पहिचानको लडाई भएको बताए । उनले सो घटनाका मुख्य योजनाकार भनिएका रेशमलाल चौधरीलाई माओवादीमा आउन आग्रह गरे । ‘रेशमजी अहिले कता कता हुनुहुन्छ । अहिले भेटघाट पनि भएको छैन’ उनले भने–‘एक्लाएक्लै लडेर हुँदैन । हामीसँगै आउनुहोस । हकअधिकार र पहिचानका लागि सँगै लडौं ।’
उनले रेशमलाल चौधरीलाई आफ्नै पहलमा जेलमुक्त गरिएको बताए । ‘मैले आफै रिस्क लिएको हो । राष्ट्रपतिलाई भनेर मैले नै पहल गरेको हो’ उनले भने–‘यो कुरा तपाईहरु सबैले बुझ्नु पर्छ ।’
फागुन २२ गतेसम्म जारी रहने राष्ट्रिय सम्मेलनको समुदघाटन समारोहमा नेकपा माओवादी केन्द्रका नेताहरु जनार्दन शर्मा, वर्षमान पुन, गिरीराजमणी पोखरेल, ओनसरी घर्ती लगायतले बोलेका थिए ।
राष्ट्रिय सम्मेलनमा देशभरका २२ जिल्लाका प्रतिनिधिहरुको सहभागीता रहेको छ । सम्मेलनले थारु समुदायको हक अधिकार र पहिचानका बारेमा छलफल गर्नेछ ।