
टीकापुर, फागुन २०
तारा एअरले टीकापुर विमानस्थलको फ्लाईट संख्या घटाएको छ । यसअघि साता तीनवटा सम्म हुँदै आएको फ्लाईट संख्या अब साताको एकदिन मात्रै हुने जनाएको छ ।
तारा एअरले टीकापुर नगरपालिकालाई मिति २०८१ फागुन १९ गते एक पत्र पठाई फ्लाईट संख्या घटाईएको बारे जानकारी दिएको छ । उसले पत्रमा सोमवारका दिन मात्रै जहाज उडान हुने उल्लेख गरेको छ ।
उसले नगरपालिका र तारा एअरबिच २०८१ मंसिर १८ गते भएको उडान सञ्चालन सम्बन्धी सम्झौताको शर्त नं. १ अनुसार मार्च महिनादेखी जहाज नेपालगञ्ज बेस नहुने भएकाले फ्लाईट संख्या घटाईएको बताएको छ ।
पत्रमा उल्लेख भए अनुसार यो कुरा तारा एअरले २०८१ फागुन २६ गतेदेखी लागु गर्नेछ । पत्रमा नेपालगञ्ज–टीकापुर–नेपालगञ्ज मात्रै उडान सञ्चालन गरिने व्यहोरा सबैमा जानकारीका लागि नगरपालिकालाई अनुरोध गरिएको छ ।
तारा एअरले २०८१ मंसिर ३० गतेबाट व्यवशायिक उडान सुरु गरेको थियो । त्यसअघि २०८१ कात्तिक १२ गते नेपाल वायुसेवा निगमको जहाजले विमानस्थलमा परिक्षण उडान भरेको थियो ।
टीकापुर नगरपालिकाले १५ सिटको ग्यारेन्टी गरेपछि तारा एअरले बन्द अवस्थामा रहेको विमानस्थलमा व्यवशायिक उडान सुरु गरेको थियो ।