Hamro Patra
जागिरको प्रलोभनले गिरोहको चंगुलमा युवाहरु

टीकापुर, फागुन २०
पानी जहाजमा जागिर लगाईदिने भन्दै एक गिरोहले युवाहरुलाई ठगेको छ । सो गिरोहले कैलाली र बर्दियाका झण्डै २ सय जना युवाहरुबाट करिव ४ करोड रुपैयाँ ठगेको पाईएको छ । 

गिरोहमा बर्दिया राजापुर नगरपालिका वडा नं. ५ पहाडीपुरका ३६ वर्षका हिमांशु चौधरी र कैलाली जानकी गाउँपालिका पथरैयाका मनोज चौधरी रहेका छन । उनीहरुले युवाहरुलाई सम्पर्कमा ल्याउन गाउँगाउँमा एजेण्ट समेत राखेको पाईएको छ । 

युवाहरुले गिरोहलाई दुईदेखी पाँच लाखसम्म तिरेको बताएका छन । उनीहरु मध्ये कसैले नगद र कसैले बैंक चेक मार्फत गिरोहलाई रकम बुझाएका हुन ।

गिरोहले युवाहरुलाई रोयल केरिभ्यान संस्थाको पानी जहाजमा जागिर लगाईदिने आश्वासन दिएका थिए । यसै क्रममा युवाहरुलाई भारतको लखनउ घुम्तिनगरस्थित समुद्री ज्ञान मारिन एकाडेमीमा पानी जहाज सम्बन्धी प्रशिक्षण दिएको थियो ।

उनीहरुलाई डेढ वर्षअघि पहिलो चरणमा १५ दिने सुरक्षा सम्बन्धी तालिम दिईएको थियो । पहिलो चरणको तालिम पश्चात युवाहरुलाई घर पठाईएको थियो । उनीहरुलाई २०८१ दशैं अघि दोस्रो चरणको दुई महिने थप तालिम दिईएको थियो । 

युवाहरुलाई पहिलो चरणमा पानीबाट आफू र यात्रुलाई कसरी जोगाउने र दोस्रो चरणमा अंग्रेजी बोलीचालीका बारेमा सिकाईएको थियो । गिरोहले दुई चरणको तालिम पश्चात युवाहरुलाई २० दिन भित्र जागिरमा पठाउने आश्वासन दियो । 

युवाहरुले गिरोहका नाईके हिमांश चौधरीलाई बर्दियाको राजापुरबाट समाते । जागिरको सुनिश्चितता नभएपछि नाईके चौधरीले सबै युवाहरुलाई विभिन्न बैंक तथा वित्तिय संस्थाको चेक थमाए । युवाहरु चेक बोकेर बैंक तथा वित्तिय संस्थामा पुगेपछि चेक साटिएन । चेक नसाटिएपछि युवाहरुले ठगिएको चाल    पाए । 

युवाहरु जागिरमा जानु भन्दा पहिले घर परिवार भेट्न भन्दै घर फर्किए । घर फर्केको चार महिना बितिसक्दा समेत जागिरको ठेगान नभए पछि उनीहरुले गिरोहको खोजीमा निस्किए । 

युवाहरुले गिरोहका नाईके हिमांश चौधरीलाई बर्दियाको राजापुरबाट समाते । जागिरको सुनिश्चितता नभएपछि नाईके चौधरीले सबै युवाहरुलाई विभिन्न बैंक तथा वित्तिय संस्थाको चेक थमाए । युवाहरु चेक बोकेर बैंक तथा वित्तिय संस्थामा पुगेपछि चेक साटिएन । चेक नसाटिएपछि युवाहरुले ठगिएको चाल पाए । 

ठगिने मध्ये जानकी गाउँपालिका वडा नं. ८ भगरैयाका शंकर चौधरीका अनुसार हिमांशु चौधरी सम्पर्क बिहिन भएका छन भने अर्का मनोज चौधरी भारतको मुम्बई पुगेका छन । गिरोहले यसैगरी पानी जहाजमा जागिर लगाईदिने भन्दै तालिम पश्चात भारतको मुम्बई पुर्याएका थप ३० मध्ये २१ जना समेत घर फर्किएका छन ।

घर फर्किन नसकेका नौ जनाले समेत अहिलेसम्म जागिर पाउन नसकेको पीडित मध्येका जानकी गाउँपालिका वडा नं. १ तोरैयापुरका अनुराग थारुले जानकारी दिए । ‘मुम्बई पुगेकाहरुले समेत जागिर पाएका छैनन्‌’ उनले भने–‘धेरैजसो युवाहरु फर्किसकेका छन र अरु पनि फर्किने क्रममा छन ।’

गिरोहले युवाहरुलाई मासिक करिव डेढ लाख आम्दानी हुने आश्वासन दिएको पाईएको छ । राम्रो कमाई हुने देखिएपछि युवाहरु गिरोहको चंगुलमा फसेका हुन । उनीहरु मध्ये कतिपयले स्वदेशमै गरिरहेको सानोतिनो जागिर समेत छोडेर गएका थिए । 

जागिर पाउने प्रलोभनमा परेर युवाहरुले विभिन्न वित्तिय संस्था र सहकारीबाट ऋण लगेर गिरोहलाई बुझाएका थिए । अहिले युवाहरुलाई ऋणको सावा ब्याज तिर्न निकै कठिनाई भैरहेको पीडित मध्येकै एक जानकी गाउँपालिका वडा नं. ८ भगरैयाका विष्णु चौधरीले बताए । उनका अनुसार जागिरको प्रलोभनले भएको सम्पत्ति लिलाम हुने अवस्थामा पुगेको छ । ‘ऋण कसरी तिर्ने भन्ने चिन्ताले सताएको छ’ उनले भने–‘प्रलोभनमा परेर दुःख पाईयो ।’

यतिबेला गिरोहको प्रलोभनमा परेर ठगिएका युवाहरु न्यायका लागि भौतारिरहेका छन । उनीहरुले बर्दियाको इलाका प्रहरी कार्यालय राजापुर र कैलालीको इलाका प्रहरी कार्यालय टीकापुरमा उजुरी दिन खोजे पनि प्रहरीले उजुरी लिन मानेन । प्रहरीले उजुरी लिन नमाने पछि उनीहरु प्रशासन कार्यालय पुगेका छन । इलाका प्रशासन कार्यालय टीकापुरले न्यायका लागि श्रम विभागमा जान सुझाव दिएपछि उनीहरु झन तनावमा परेका छन । 
‘एकातिर ऋण तिर्न सकिएको छैन । अर्कोतिर थप ऋण खोजेर श्रम विभाग पुग्नुपर्ने वाध्यता आईलागेको छ’ पीडित मध्येका एक शंकर चौधरीले भने–‘ठगिएको पैसा असुल्न ऋण माथि ऋण थप्नुपर्ने अवस्था आईलागेको छ ।’

बेरोजगारी समस्याले गाउँघरमा थ्रुपै युवाहरु यसरी नै ठगिएका छन । आर्थिक अवस्थाले थिचिएका युवाहरु यस्ता गिरोहको चंगुलमा फसेर थप समस्यामा परेका छन । गाउँघरमा युवाहरुलाई विभिन्न बहानामा ठग्ने यस्ता गिरोहको संख्या अझै धेरै हुनसक्छ ।

प्रकाशित मिति: मंगलबार, फागुन २०, २०८१  १३:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update