
प्रशान्त अर्याल
विद्यालय, जीवनको त्यो चरण हो– जुन शिक्षाको स्रोत मात्र होइन, आधारभूत जीवन मूल्य–मान्यता र मित्रताको बन्धनको आधार पनि हो । विद्यालय छाडेकै ४० वर्ष भइसक्यो तर पनि त्यहाँका सम्झनाहरू अमिट छन् । यो विशेष ५० औं वार्षिकोत्सवको अवसरमा ती सम्झनाहरू लिपिबद्ध गर्न पाउँदा अत्यन्त गर्व र आनन्द लागिरहेछ ।
बाल मनोविज्ञानमा प्रभाव
विक्रम संवत् २०३६ साउनको कुरा हो । हामी परिवारै बर्दियाको राजापुरबाट टीकापुर बसाइँ सर्यौँ । म कक्षा–५ र बहिनी जुनु कक्षा–२ को आधा–आधी राजापुरमा पढेर टीकापुर आवासीय माविमा भर्नाका लागि आएका थियौँ । शैक्षिक सत्रको बीचमा परेकाले सामान्यतया भर्ना हुँदैनथ्यो । मेरा बुुवाले धेरै नै अनुुरोध गर्नुभएपछि मलाई कक्षा–५ मा र बहिनीलाई कक्षा–२ मा भर्ना लिन प्रधानाध्यापक थोमस भर्गिज राजी हुुनुुभयो ।
डेढ महिनाको वर्षे बिदापछि भदौ १ गते विद्यालय खुलेको थियो र त्यही दिन मेरो पहिलो कक्षा थियो । जब म विद्यालयको प्रांगणमा प्रवेश गरेँ, एउटा बेग्लै अनुुभूूति भयो । खासगरी, राजापुुरको पक्की कक्षाकोठामा पढेर आएको मलाई काठैकाठले बारेको अनि टायलले छाएको टहराजस्तो विद्यालय देख्दा अनौठो लागिरहेको थियो । विद्यालयको उत्तरपट्टि छुुट्टै टहरा थिए, जहाँ आवासीय विद्यार्थी, शिक्षक र स्वयं प्रधानाध्यापक नै सपरिवार बस्नु हुुन्थ्यो । मलाई अझै याद छ, पहिलो दिनको हाफटाइम या टिफिन ब्रेकमा मैले विद्यालयका हरेक कक्षाकोठा नियालेको थिएँ । साथै शिक्षक र आवासीय विद्यार्थी बस्ने टहरा र प्रधानाध्यापकको कार्यकक्ष पनि बाहिरैबाटै चिहाएको थिएँ ।
अनि राजापुरको विद्यालयमा विद्यार्थीको पोसाक थिएन, जो–जे मन लाग्यो, त्यही लगाएर आउँथे । तर यहाँ त सबै विद्यार्थीहरू पोसाकमा थिए । सहपाठीहरू आकाशे नीलो रङको सर्ट र गाढा नीलो पाइन्ट/हाफ पाइन्ट र स्कर्टमा देखिन्थे, मलाई विद्यालयको रौनक नै अर्कै लाग्यो ।प्रधानाध्यापकको कार्यकक्षसँगै विज्ञान प्रयोगशाला थियो । माइक्रोस्कोपबाहेक अरू उपकरण त सम्झनामा छैन तर प्रयोगशाला भव्य लागेको थियो ।
विद्यालयको सबैभन्दा बलियो पक्ष अनुशासन थियो । समयमा नआउने, पोसाक नलगाउने लगायतका अनुशासन उल्लंघनमा विद्यार्थीले सजाय पाउँथे । जस्तोः कक्षा–६ मा मैले नै पाएँ । एकपल्ट टिफिन ब्रेकमा हामी केही साथीहरू बजारमा खाजा खाएर विद्यालय पुग्दा कक्षा सुचारू भइसकेका थिए । भर्गिज सर कक्षाको सुपरिवेक्षणमा हुनुहुन्थ्यो । हामीलाई देख्नेबित्तिकै मूल ढोका बाहिर मैदानमै रोकिन भन्नुुभयो । हामीले बुझ्यौँ कि अब सजाय पाउने भइयो भनेर । सरले कड्किँदै सबैलाई एक पंक्तिमा उभिन आदेश गर्नुभो, हामी लाइन लाग्यौँ । ‘यस्तो केटालाई त म दिइहाल्छुु’ (जो सजाय दिनेबेला उहाँको थेगो नै थियो) भन्दै हामी सबैलाई एक–एक गरेर लठ्ठीले जसरी हातैले पिँडुलामा हिर्काउनुुभयो र यो उहाँको खास शैली नै थियो । तर त्यो हिर्काइ लठ्ठीभन्दा यति दह्रो थियो कि दुखाइ लामो समयसम्म रहिरह्यो । यो त्यही दुखाइ थियो, जो जीवनका लागि अमूल्य पाठ बनिदियो वा भनौँ, भर्गिज सरको त्यही सजायको परिणाम होला– मैले आफ्नो पेसागत जीवनमा कसैले दिएको वा भेट्न बोलाएको समयमा केही अपवादबाहेक कहिल्यै दायाँबायाँ गरेको छैन ।
अनुशासनकै सन्दर्भमा त्यतिबेलाका हाम्रा पीटी सर, जो दिवंगत भइसक्नुभयो, को जहिल्यै सम्झना हुन्छ । उहाँ सधँै बिहानी प्रार्थना सभा (एसेम्ब्ली) मा केही बेर शारीरिक अभ्यास गराउनुहुन्थ्यो । सेतो हाफ पाइन्ट, सेतो सर्ट, सेतो मोजा र सेतै जुत्तामा उहाँको व्यक्तित्व भव्य लाग्दथ्यो । भारतीय सेनाबाट अवकाशप्राप्त उहाँ पनि अनुशासनका मामिलामा कठोर मानिनु हुन्थ्यो । प्रार्थना सभामा कोही ढिला आएको देखे सातो लिनुहुन्थ्यो । चिच्याउँदै भन्नुहुन्थ्यो–छिटो आइज, नत्र मट्टी (माटो) खालास् । यसो भन्दै गर्दा कहिलेकाहीँ कसैले भेटी पनि हाल्थ्यो ।
विद्यालयमा मलाई नौलो लागेको अर्को के भने त्यहाँ बिहानीको दुई घन्टीपछि र हाफ टाइमको दुई घन्टीपछि १०–१० मिनेटको ब्रेक हुन्थ्यो, जसलाई ‘पानी खाने छुट्टी’ भनिन्थ्यो । यसबाहेक विद्यालय परिसरमा स्टेसनरीलगायत खानेकुरा पाइने पसल पनि थियो, जुन बिहानको १० मिनेटको ब्रेक सकिएपछि बन्द हुन्थ्यो । अंग्रेजी टोपी पहिरेर साइकलमा आउने–जाने गर्ने जेम्स राई (हामी जेम्स दाइ भन्थ्यौँ) को पसल थियो त्यो ।
यी त्यस्ता सन्दर्भ हुन्, जसले एक बालकको मनोविज्ञानमा शक्तिशाली छाप पारेको थियो । र, यस्तो अनुभूति अरूको पनि छ ।
ज्ञानका दीपकहरू
जब हामी कक्षा– ७ मा पुग्यौँ, एक दिन अचानक भर्गिज सरले आफूहरूले फर्किने निर्णय गरेको सुनाउनु भयो । साथै नयाँ भवन बनाउने भएकाले विद्यालय पनि बजार नजिकैको निर्माणाधीन अस्पताल भवनमा सर्यो ।
भर्गिज सरपछि विद्यालयको प्रधानाचार्य हुनुभयो, रत्नप्रसाद संज्याल । यसअघि उहाँ गणित शिक्षक हुनुहुन्थ्यो । गणितमा उहाँ निपुण मानिनु हुन्थ्यो । २०४१ सालको एसएलसीमा अनुत्तीर्ण भएपछि म बिहान–बिहान उहाँकै घरमा पढ्न जान थालेँ । उहाँले कहिल्यै नाइँनास्ति गर्नु भएन, सधैँ खुसी–खुसी पढाउनु भयो । त्यसभन्दा महत्वपूर्ण कुरा, उहाँले कहिल्यै पारिश्रमिक लिनु भएन ।
उहाँको निःस्वार्थ भाव र शिष्यप्रतिको त्यो लगाव शब्दमा वर्णन गर्नै सकिन्न । टीकापुरको शिक्षामा उहाँले पुर्याएको योगदान अभूतपूर्व छ । तर दुर्भाग्य, उहाँको निधनका बेला अन्तिम श्रद्धा प्रकट गर्न पनि पुग्न सकिनँ । यो ऋणले मलाई जीवनभर थिचिरहनेछ, उहाँको सम्झना गराई रहनेछ ।
विद्यालयका संस्थापक शिक्षक बलबहादुर रावलको मिहिनेत र समर्पणको त झन बयान गर्न सकिन्न । २०४१ सालमा हामी एसएलसीको तयारीमा थियौँ । अंग्रेजी विद्यार्थी र विद्यालय दुवैलाई तनाव भएका बेला, डेढ महिनाको वर्षे बिदामा उहाँले हाम्रो ब्याचका २२ जना विद्यार्थीका लागि निःशुल्क कक्षा सुरु गर्नुभयो ।
अर्का गुरु हुनुहुन्थ्यो, कुलराज पन्थी । पन्थी सर हाम्रो कक्षा ६ देखिका कृषि विषयका शिक्षक । उहाँमा कृषिका अतिरिक्त गणित, विज्ञान र अंग्रेजीजस्ता विषयलाई सजिलो बनाउँदै बुझ्ने गरी पढाउने क्षमता थियो । कुनै समस्या परे हामी निसंकोच उहाँकहाँ पुग्थ्यौँ र उहाँले सजिलै समाधान सिकाइदिनु हुन्थ्यो ।
हामीले उहाँसँग ट्युसन पनि पढ्यौँ तर हामीसँग कहिल्यै शुल्क लिनुभएन । मैले अत्यन्तै श्रद्धापूर्वक सम्झिने पन्थी सरसँग अहिले पनि यदाकदा भेट हुन्छ । ती भेटमा कहिलेकाहीँ यति विगतमा पुग्छु कि लाग्छ– म अहिले पनि विद्यालयमै छु, सरकै ‘लाहुरे’ शिष्यका रूपमा । धेरै पछिसम्म पनि अध्यापनमा सक्रिय पन्थी सरका हजारौँ शिष्य छन् । ती सबैको सुखद भविष्य निर्माणमा उहाँको योगदान अतुल्य छ ।
विद्यालयका संस्थापक शिक्षक बलबहादुर रावलको मिहिनेत र समर्पणको त झन बयान गर्न सकिन्न । २०४१ सालमा हामी एसएलसीको तयारीमा थियौँ । अंग्रेजी विद्यार्थी र विद्यालय दुवैलाई तनाव भएका बेला, डेढ महिनाको वर्षे बिदामा उहाँले हाम्रो ब्याचका २२ जना विद्यार्थीका लागि निःशुल्क कक्षा सुरु गर्नुभयो ।
उहाँले विद्यालय (हाल अस्पताल) को चौरमा रूखमुनि अंग्रेजी र गणितजस्ता विषय दिनभर पढाउनु हुन्थ्यो । त्यो कठिन समय पार गराउन उहाँले निर्वाह गर्नुभएको भूमिकालाई हामी सदा–सर्वदा सम्मानपूर्वक सम्झिरहनेछौँ । गुरुहरूका यी त केही प्रतिनिधिमूलक नाम मात्रै हुन् । यहाँ नलेखिएका थुप्रै अरू गुरुहरू पनि हुनुहुन्छ, उहाँहरूकै कारण हामीले जीवन जिउन सिकेका छौँ । हाम्रा गुरुहरूको गाली र सजायमा पनि प्रेम र शिक्षा लुकेको थियो । उहाँहरूले हामीलाई अनुशासन, इमानदारी र परिश्रमको महत्व सिकाउनु भयो । भन्नै परेन, गुरुलाई हामी ज्ञानका दीपक मान्छौं, जसले ज्ञान मात्र दिएनन्, जीवनलाई बुझ्ने दृष्टिकोण पनि दिए । हाम्रो जीवनको आधारशिला निर्माण गर्ने यी दीपकहरू जीवनभर स्मरणीय रहन्छन् ।
र, अन्त्यमा
जब म पहिलोपल्ट यस विद्यालयको ढोकाबाट भित्र पसेको थिएँ, नवजात चराजस्तै असहज र उत्सुक थिएँ । शिक्षक, सहपाठी र वातावरण सबै नयाँ थिए । तर, बिस्तारै यो अपरिचित ठाउँ मेरो दोस्रो घर बनिदियो । यहाँ मैले पाठ्यपुस्तकबाट शिक्षा मात्र प्राप्त गरिनँ, जीवनको मूल्य पनि सिकेँ । म मात्रै होइन, मेरी बहिनी जुनु र भाइ प्रवीणले पनि यहीँबाट विद्यालय शिक्षा पूरा गर्ने सौभाग्य पाए । हाम्रो परिवारका लागि योभन्दा गर्वको कुरा अरू के हुन सक्छ र !
हाम्रो यही प्रिय विद्यालयको हरेक कुनाको आफ्नै कथा छ । कक्षाकोठाको झ्यालबाट चियाउँदै गरेको घाम, बाहिर चौरमा कुसुमको रूखमुनिको शीतलता, वार्षिक खेलकुद, वीरेन्द्र शिल्ड वा अरू खेल प्रतियोगिताका दौरान मैदानमा उन्मुक्त हाँसो, हर्ष र पीडा, बर्सेनि हुने सांस्कृतिक कार्यक्रम, हाजिरीजवाफ र कविता प्रतियोगिता– यी जम्मै हृदयका अत्यन्त नजिक छन् । विद्यालयका प्रयोगशाला, खेत र बारीमा गरिएका स–साना अभ्यासहरू मलाई अझै पनि याद छन्, जसले हामीलाई जिज्ञासु बनायो । खेलकुद र अरू प्रतियोगितामा जित र हारको अनुभूतिले हामीलाई जीवनमा कसरी अगाडि बढ्ने भनेर सिकायो ।
मित्रताको कुरा गर्दा, यही विद्यालयले मलाई ती साथीहरू दियो, जो अझै पनि मेरो जीवनका अभिन्न अंग बनेका छन् । हामीले सँगै गरेका झगडा, ठट्टा, राम–रमाइलो र उटपट्याङहरू– ती सबै अमूल्य सम्झना हुन् । हाम्रो विद्यालय केवल एउटा शैक्षिक संस्था मात्र थिएन, यो त्यो ठाउँ थियो, जसले मलाई सपना देख्न सिकायो र तिनलाई पूरा गर्ने साहस दियो । तसर्थ, विद्यालयको ५० औं वार्षिकोत्सवमा मलाई आफैं उभिन सिकाउने मेरो प्यारो विद्यालयप्रति स–सम्मान नतमस्तक हुन चाहन्छु ।
वीरेन्द्र विद्यामन्दिरका पूर्व विद्यार्थी अर्याल तीन दशकदेखि पत्रकारितामा सक्रिय रहँदै आएका छन् ।