Hamro Patra
अवैध उत्खनन गरेको भन्दै २२ सवारी साधन प्रहरीको नियन्त्रणमा

टीकापुर, फागुन १७
कैलालीको जानकी गाउँपालिका वडा नं. ६ स्थित कर्णाली नदी किनारबाट अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन गरिरहेका २२ सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालसहितका सुरक्षा निकायले कर्णाली नदीमा गरेको अनुगमनका क्रममा अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन गरिरहेका १७ ट्याक्टर र ५ वटा टिप्परलाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डिएसपी नवीनराजा बुढाथोकीले जानकी गाउँपालिकाले आईइइ गरेको ठाउँभन्दा बाहिरबाट बालुवा उठाउने गरेकाले सवारी साधनहरु नियन्त्रणमा लिएको बताए । 

‘कैलाशेश्वर सामुदायिक वनमा पर्ने कर्णाली नदीको तटबन्धबाट १० मिटरभित्रै बालुवा उत्खनन गरिरहेको पाइएपछि सवारी साधनहरु नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौं’ डीएसपी बुढाथोकीले भने ‘पालिकासँग रोयल्टीको ठेक्का लिएका ठेकेदारसँग राजश्व काटिएको भए पनि तटबन्धबाटै बालुवा निकालेका कारण नियन्त्रणमा लिएका हौं ।’

नियन्त्रणमा लिएका सवारी साधनहरु आवश्यक कारवाहीका लागि जानकी गाउँपालिकालाई बुझाउने तयारी भइरहेको डिएसपी बुढाथोकीले बताए ।

यता, निर्माण व्यवसायीहरुले भने पालिकाले ठेक्का दिएका ठेकेदारबाट रोयल्टी काटिसके पछि समेत प्रशासनले दुःख दिने नियतले सवारी साधन नियन्त्रणमा लिएको आरोप लगाएका छन् । 

‘ठेकेदारसँग रोयल्टी काटेका छौं, आईइइ गरकै ठाउँबाट बालुवा उठाई रहेका थियौं’ एक व्यावसायीले भने ‘प्रहरीले हिजोदेखि नै हाम्रा सवारी साधन नियन्त्रणमा लिएर निर्माण कार्यमा अवरोध गरेको छ, आईइइ हो कि होइन् ? ठाउँ देखाउने काम पालिकाको हो, हाम्रा सवारी साधन त रोक्नु भएन नि ?’

उता, जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले नदी उत्खननका विषयमा अनुगमन गर्न जाँदा पालिका प्रतिनिधिलाई कुनै खबर नगरिएकाले यसै भन्न नसकिने बताए । 

‘हाम्रो प्रतिनिधिलाई अनुगमनमा आएका सुरक्षा निकायले जानकारी नै दिएको छैन, सवारी साधनहरु नियन्त्रणमा लिएका छन् भन्ने सुनेका छौं’ अध्यक्ष थारुले भने ‘पालिकालाई कारवाहीका लागि सवारी साधन बुझाए त्यही अनुसार अगाडि बढ्छौं ।

नियन्त्रणमा लिइएका सवारी साधन हिजोदेखि टीकापुरको खुल्ला मञ्चमा राखिएका छन् ।

प्रकाशित मिति: शनिबार, फागुन १७, २०८१  १२:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update