
टीकापुर, फागुन १६
सुदूरपश्चिममा प्रचलित होरी, धमारी, भूवो जस्ता महत्वपूर्ण सांगीतिक तथा सांस्कृतिक देउडाहरूको प्रतिपादन, संरक्षण तथा प्रवर्द्धन गर्ने स्वामी केवलानन्द अर्थात् डण्डी स्वामीको सालिक अनावरण गरिएको छ।
कैलालीको टीकापुरस्थित जालवा देवी मन्दिर परिसरमा एकविशेष कार्यक्रमका बीच प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले उक्त सालिक अनावरण गरेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले डण्डी स्वामीले सुदूरपश्चिमको मौलिक संगीत, शब्द, ताल, चाल तथा संस्कृतिको संरक्षणमा महत्वपूर्ण योगदान पुर्याएको बताए ।
स्वामीले क्षेत्रीय सांस्कृतिक पहिचानलाई जीवन्त बनाउँदै संगीत र परम्परागत खेलहरूलाई समाजमा लोकप्रिय बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए। स्वामीको योगदानलाई सम्मान गर्दै जालवा देवी समाजको अगुवाइमा मन्दिर परिसरमा उनको सालिक स्थापना गरिएको हो।
सालिक अनावरण समारोहमा स्थानीय समाजसेवी, सांस्कृतिक अभियन्ता, बुद्धिजीवी तथा धार्मिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागीहरूले डण्डी स्वामीको योगदानबारे चर्चा गर्दै सुदूरपश्चिमी सांस्कृतिक सम्पदाको संरक्षणको आवश्यकता औंल्याए।
को थिए डण्डी स्वामी?
स्वामी केवलानन्द, जसलाई डण्डी स्वामीको रूपमा पनि चिनिन्छ। डण्डी स्वामीबारे जानकार तथा अगुवा पूर्ण रावलका अनुसार डण्डी स्वामीले आफ्नो महत्वपूर्ण समय साविकको कालिका गाविस (हाल बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ५, कालिका बाँचकोट) स्थित बडिनाव र सुँगाली हेराउ ढुङ्गामा आश्रम स्थापना गरेर बिताएका थिए।
स्वामीले १९५० देखि १९६० को दशकमा शिक्षाको ज्योति फैलाउनुका साथै समाजको संस्कृतिसँग मेल खाने परम्परागत कला र खेलहरूको प्रवर्द्धन गरेका थिए।
उनले विशेषगरी होरी, भूभोज र धमारी जस्ता सांस्कृतिक विधालाई लोकप्रिय बनाएका थिए। बडिनावमा बसोबास गर्दा उनले वि.सं. १९५७ मा “अष्टाङ्ग योग” नामक पुस्तकसमेत प्रकाशित गरेका थिए।