
टीकापुर, फागुन १३
टीकापुर नगरपालिका– ५ का ३८ वर्षीया रमेश साहु वैदेशिक रोजगारीका लागि ०८० को अन्त्यतिर युरोपको रोमानिया जाने तयारीमा थिएँ। होटलमा ‘वेटर’ को कामका लागि भिसा पर्खिरहेका थिए। भिसा आउन ढिला भयो। अनि, एक वर्षअघि आफ्नै आँगनमा चार सय केराका बोट रोपे। विदेश जाने समय नजिकिँदै जाँदा बारीका केरा पाक्न थाले। केरा बेचेर दुई लाख कमाए।
राम्रो मेहनत, सिँचाइ र आवश्यक खाद्यतत्वको जोहो गरेका उनले चार सय बोटबाटै दुई लाख कमाएका थिए। ‘युरोप जान ५० हजार रुपैयाँ एजेन्टलाई बुझाइसकेको थिएँ, केराकै रकमबाट रोमानिया जाने निधो थियो’ रमेशले सम्झिए ‘एकै लट बेच्दा हातमा दुई लाख परेपछि रातभरि सोचेँ, खासै मेहनत गरेको जस्तो पनि लागेन, घर परिवारसँग बसेर वर्ष दिनमै चार सय बोटले नै दुई लाखको बिक्री हुन्छ भने केराखेती किन नगर्ने भन्ने सोच आयो, त्यसपछि विदेश नजाने निर्णय गरेँ।’
केराखेतीबाट उत्साहित भएका रमेशले दुई बिघा जग्गा भाडामा लिएर केराखेती गरिरहेका छन्। उनका अनुसार दुई बिघा क्षेत्रफलमा केराखेती गर्न ७ लाख लगानी भएको छ। ‘राम्रो जमिनमा उचित मेहनत, नयाँ प्रविधिको प्रयोग र हावाहुरीले क्षति नगरे १२ लाख रुपैयाँ बढी कमाइ हुन्छ’, उनले भने, ‘६ लाख लगानी लगाएर रोमानियाँ जान लागेको म त्यही रुपैयाँको लगानीमा यो वर्ष १२ लाख बढीको केरा बिक्री गरिसकेको छु, अर्को वर्ष लगानी त्यति पर्दैन, आम्दानी यति नै हुन्छ।’
केराखेती भित्रै खुर्सानी र अरू तरकारी फलाइरहेका उनी घर परिवारसँग बसेर गरेको कमाइले सन्तुष्टि मिलेको बताउँछन्। ‘हाम्रा लागि केराखेती नै अमेरिका, अस्ट्रेलियाको कमाई जस्तै भएको छ’, उनले भने, ‘केराको बजार राम्रो हुनु, पर्याप्त अनुभवी किसान हुनु, रानीजमरा, कुलरिया सिँचाइ आयोजनाको कृषि कार्यक्रमले बिउ आदिमा अनुदान दिनुले युवालाई थप सहज भएको छ।’
रमेश मात्रै होइन, कैलालीको पूर्वी क्षेत्रका अधिकांश युवाहरू व्यावसायिक रूपमा केराखेती गरिरहेका छन्। कैलालीमा गतवर्ष २ अर्ब बढी रुपैयाँको ३० हजार मेट्रिक टन केरा उत्पादन भएको कृषि ज्ञान केन्द्रको अनुमान छ। हाल कैलालीमा ७ सय किसानले १५०० हेक्टर क्षेत्रफलमा केराखेती गरिरहेका छन्। बर्सेनि वृद्धि हुने क्रममा छ।
विदेशबाट फर्किएर केराखेतीमा जम्दै
टीकापुर नगरपालिका–५ का जगतबहादुर ठकुल्लाले १० वर्ष साउदी अरबमा सेक्युरिटी गार्डको काम गरे। त्यसबीच ३ पटक घर आए। साउदीको कमाईले जसोतसो घर परिवार चले पनि आर्थिक प्रगति भएन्। विश्व महामारीका रूपमा देखिएको कोरोनापछि कम्पनीले उनलाई घर फिर्ता पठाइदियो। लकडाउनमा घर बसेका ठकुल्लाले गाउँमा केराखेती विस्तार भइरहेको देखेँ। अग्रज किसानसँग त्यसबारे जानकारी लिए।
अनि, अरबको गर्मीमा पसिना बगाउनुभन्दा केराखेती गर्ने सोच बनाए। गत वर्षदेखि १० कठ्ठा जमिनमा केराखेती गरिरहेका छन्। ‘विदेशमा गरिने जति मेहनत गर्न सके आफ्नै देशमा कमाउन सकिन्छ भन्ने लागेको छ’, उनले भने, ‘मैले पहिलो बाली बिक्री गरेको छैन, तर पनि थप अढाई बिघा जग्गा भाडामा लिएर खेती विस्तार गरिरहेको छु।’ १० वर्ष विदेश बिताएका उनले स्वदेशमै केही गर्ने अठोट केराखेतीले पूरा गरिदिएको बताए।
सोही गाउँका ३८ वर्षीय गणेश थापामगर ३ वर्षदेखि १ बिघा ५ कठ्ठा जमिनमा केराखेती गरिरहेका छन। ठकुल्लासँगै ३ वर्ष साउदीमा काम गरेका थापामगरले मेहनत गर्दा एक बिघा जमिनबाटै ५ लाख बढी आम्दानी लिइरहेको बताए। ‘छोराछोरी साना छन्, बुवाआमा बुढा भइसके,’ उनले भने, ‘थोरै लगानीमा मेहनत गरे बर्सेनि पाँच÷छ लाख कमाउन विदेशी जानुपर्दैन। विदेश जाँदा पैसा केही बढी भए पनि घर परिवार, बुवा, आमा, छोराछोरीसँग बसेर कमाई गर्नु ठूलो हो जस्तो लागेर विदेश गएको छैन, अब जाँदैन पनि।’
युवाको रोजाइ केराखेती
कैलालीमा केराखेती गर्ने युवाहरूको संख्या दिनानुदिन बढिरहेको छ। विशेषतः कैलालीको पूर्वी क्षेत्रमा सञ्चालित राष्ट्रिय गौरबको रानी जमरा, कुलरिया सिँचाइ आयोजनाको कृषि कार्यक्रम कार्यान्वयन एकाइले किसानलाई बिउ, मलखाद्य र प्रविधिमा सहयोग गर्न थालेपछि केराखेतीतर्फ युवाहरू आकर्षित भएका हुन्। टीकापुर नगरपालिका १ का रमेश नेपाली आयोजनाकै सहयोगमा विगत पाँच वर्षदेखि ५ बिघा क्षेत्रफलमा केराखेती गरिरहेका छन्।
गैरसरकारी संस्थाको अधिकृतमा कार्यरत नेपालीले भने, ‘आयोजनाले सहयोग गरेको छ, थोरै लगानी गरेर हामीले ८ जनालाई प्रत्यक्ष रोगजारी दिएका छौं। सिजनअनुसार २० जनासम्मलाई काम दिइरहेका छौं, यसकारण पनि केराखेतीमा युवाहरू आकर्षित भइरहेका हुन्।’
नेपालीले केराखेतीको विस्तार र विकासका लागि भने उक्त सहयोग पर्याप्त नभएको बताए। सरकारले उत्पादनमा आधारित अनुदान र उत्पादनको
बजार ग्यारेन्टी गरे युवाहरू कृषिमा आकर्षित हुने उनको भनाइ छ।
कृषि ज्ञान केन्द्र कैलालीका अनुसार कैलालीमा व्यावसायिक रूपमा ९ सय १० हेक्टर क्षेत्रफलमा केरा खेती भइरहेको छ। त्यसबाट ३० हजार मेट्रिक टन केरा उत्पादन भइरहेको छ। प्रत्येक वर्ष वृद्धि हुँदै गइरहेको केराखेतीबाट गत वर्ष कैलालीमा मात्रै २ अर्ब मूल्य बराबरको केरा उत्पादन भएको थियो।
कैलालीमा उत्पादन हुने केरा धनगढी, नेपालगञ्ज, महेन्द्रनगर, सुर्खेत, दाङ, बुटबल, काठमाडौं, पोखरा लगायतका बजारमा बिक्री हुने गरेको छ। तर, ज्ञान केन्द्रको तथ्यांक उचित नभएको जिकिर गर्छन्, केरा उत्पादक संघ कैलालीका उपाध्यक्ष टेकेन्द्र धामी। ‘केरा उत्पादक संघमार्फत हामीहरूले तथ्यांक संकलन सुरु गरेका छौं, कैलालीमा ७ सय बढी किसानहरू छन् भने १५ सय हेक्टर क्षेत्रफलमा केराखेती भइरहेको छ’, उपाध्यक्ष धामीले भने, ‘कृषि ज्ञान केन्द्रले पालिकासँगको समन्वयमा तथ्यांक निर्माण गरे पनि किसानसँग पुग्न सकेको छैन, यो तथ्यांक यकिन होइन।’
उपाध्यक्ष धामीले कैलालीका ९० प्रतिशत किसानहरू युवा भएको बताए। ‘जी नाइन’ जातको केराखेती फस्टाउँदै गएको बताए। उनले नेपालकै केरा उत्पादनमा ठूलो हिस्सा ओगट्ने टीकापुर क्षेत्रमा माटो र हावापानी उपयुक्त भएकाले पनि केराखेती विस्तार भइरहेको दाबी गरे। ‘यस वर्ष मात्रै सिँचाइ आयोजनामा २ सय ५० बिघा केराखेतीका लागि बेर्नाको माग भएको छ’, धामीले भने, ‘लामो समयदेखि केराको उत्पादन हुन थालेपछि व्यापारीहरू बारीमै केरा खरिद गर्न आउँछन्, मेहनत गरे राम्रो आम्दानी समेत छ।’
धामी केराको टिस्युकल्चर बेर्ना बिक्री गर्ने सुदूरपश्चिमकै एकल किसान हुन्। उनले युवाहरूलाई केराखेतीमा लाग्न पे्ररित गरिरहेका छन्। ‘टीकापुर नगरपालिका वडा नं. ५ मा मात्रै ५ शय बढी बिघामा केरा खेती भइरहेको छ’ धामीले भने ‘९० प्रतिशतभन्दा बढी युवाहरूले केराखेती गरिरहेका छन्। राज्यले खरिदको ग्यारेन्टी गरे, बिमा सुनिश्चित गरे, मलखाद्य र बिउबिजन दिनसके टीकापुरलाई केरा खेतीको हबका रूपमा बनाउन सकिन्छ।’
हाल नेपालका ७७ जिल्लामध्ये ६९ जिल्लामा केरा खेती भइरहेको छ। कृषि तथा पशुपन्छी मन्त्रालयले सन् २०२२ मा जारी गरेको तथ्यांकअनुसार नेपालमा २६ हजार ६४८ हेक्टर जमिनमा प्रतिवर्ष ३ लाख ३९ हजार ४३५ मेट्रिक टन केरा उत्पादन भइरहेको छ।
सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय स्कुल अफ एग्रिकल्चर टीकापुरमा कार्यरत कृषि अर्थशास्त्रका उपप्राध्यापक सन्तोष उपाध्याय नेपालमा हुने केरा उत्पादनको पाँच प्रतिशत हाराहारी कैलालीमा उत्पादन भइरहेको बताउँछन्।
‘नेपालमा हुने उत्पादनको ५ प्रतिशत बढी उत्पादन कैलालीमा भइरहेको छ’ उपप्राध्यापक उपाध्यायले भने, ‘रोग–कीराको प्रकोप तथा हावाहुरीले निम्त्याउने क्षति, उधारोमा बिक्री गर्नुपर्ने बाध्यता र मूल्यमा हुने उतार–चढाव तथा बजारीकरणको समस्याका कारण उत्पादन अझै बढ्न सकेको छैन।’
केरा उप–क्षेत्रको व्यावसायीकरण र दिगोपनका लागि गुणस्तरीय बेर्नामा अनुदान, समयमै रासायनिक मलको आपूर्ति, जैविक तथा प्राकृतिक रोग
किरा ब्यवस्थापनमा प्राविधिक सहयोग र सचेतना तथा वास्तविक बजार सूचना प्रवाहलाई प्राथमिकता दिन उपप्राध्यापक उपाध्यायको सुझाव रहेको छ।
टिस्युकल्चर प्रविधिले उत्पादनमा वृद्धि
टीकापुर नगरपालिका–४ का टेकेन्द्र धामी केराखेतीमा नयाँ–नयाँ प्रविधि अपनाइ रहेका हुन्छन्। नेपालमै पहिलो पटक केराको टिस्युकल्चर बिरुवाको नर्सरी सञ्चालन गरेका धामीले थोपा सिँचाइ प्रविधिको प्रयोग गरिरहेका छन्।
टिस्युकल्चर बेर्नाले उत्पादन बढ्ने, रोगकिरा कम लाग्ने, ल्याबमा हुर्किएको बिरुवा हुनाले फल राम्रो लाग्ने गरेको धामी बताउँछन्। ‘एक ठाउँबाट अर्को ठाउँमा बिरुवा सार्दा रोग समेत सर्ने गरेको थियो, जसले किसानले सोचेअनुसार उत्पादन लिन सकिरहेका थिएनन्’ धामीले भने, ‘टिस्युकल्चर बेर्ना लगाउन थालेपछि रोग किराको प्रकोप कम भइरहेको छ, फल समेत राम्रो हुँदा किसानहरू टिस्युकल्चर बेर्ना नै लगाउन थालेका छन्।’
पानी जोगाउन थोपा सिँचाइ
बोरिङ्ग (पानी तान्ने मेसिन) देखि पाइपमार्फत बिरुवाको जरासम्म थोपा–थोपा चुहाएर सिँचाइ पुर्याउन प्रयोग भइरहेको नवीनतम् प्रविधि हो, थोपा सिँचाइ प्रविधि। यसले जमिनको पानी समेत बचत गर्दछ।
आवश्यक मात्रामा मात्रै पोलिट्युबको माध्यमबाट हरेक बिरुवाको जराजरामा समान रूपले पानी, बिरुवाका लागि पोषक तत्व, जैविक झोल तथा घुलनशील खाद्यपदार्थ पुर्याउने यो प्रविधि निकै प्रभावकारी मानिन्छ। नियमित र सन्तुलित रूपमा बोट विरुवामा सिँचाइ पुग्ने हुनाले बिरुवाको वृद्धि विकास राम्रो हुन्छ।
टीकापुर नगरपालिका वडा नं. ५ का किसान शेरबहादुर साउद थोपा सिँचाइ प्रविधि जडान गर्न सुरुवातमा लागत बढी लागे पनि कामदारको ज्यालामा हुने कमी र उत्पादनमा हुने वृद्धिले यो प्रविधि व्यावसायिक किसानका लागि निकै उपयोगी भएको बताउँछन्।
‘थोपा सिँचाइको मुख्य सिस्टमलाई ५ लाख जति खर्च हुन्छ भने बोटसम्म पानी पुर्याउने पाइप केराबारी अनुसार लाग्ने हो,’ ६ बिघा क्षेत्रफलमा केराखेती गर्दै आएका साउदले भने, ‘सुरुमा मैले पनि कुलाबाटै सिँचाइ गरेको हो, पछि थोपा सिँचाइ जोडेको छु, थोपा सिँचाइले कुलो भन्दा झन्डै ३० प्रतिशतले बढी उत्पादन दिन्छ।’
कैलालीमा व्यावसायिक रूपमा केराखेती गर्दै आइरहेका किसानहरूमा थोपा सिँचाइ प्रणाली लोकप्रिय बन्दै गएको छ। डिप बोरिङ गरेर झिकिएको पानीमा मेसिन जडान गरेर मसिनो पाइपको माध्यमबाट हरेक बोटमा थोपा थोपा गरेर पानी चुहिने यो प्रविधिले औषधि र खाद्यतत्व पुर्याउन सकिने भएकाले लोकप्रिय बन्दै गएको हो।
बोटभन्दा बाँकी रहेको जमिनमा सिँचाइ न हुने हुनाले बारीमा घाँस, झारपात उम्रने समस्यासमेत नहुने किसानहरू बताउँछन्।नेपाल कृषि अनुसन्धान परिषद्का कृषि वैज्ञानिक डाक्टर श्रीमत श्रेष्ठका अनुसार थोपा सिँचाइ प्रविधिले ३० देखि ७० प्रतिशतसम्म पानीको बचत गर्न सकिन्छ। ‘थोपा सिँचाइमा पानीलाई बिरुवाको फेदसम्म थोपाको रूपमा पठाइने हुँदा थोरै पानीबाट पनि बढी क्षेत्रफलमा सिँचाइ गर्न सकिन्छ, ट्यांकीबाटै मलखाद राखेर सिँचाइ गर्दा मलखादको व्यवस्थापनलाई सहज बनाउँछ’, डाक्टर श्रेष्ठले भने, ‘विषादीलाई बिरुवाको जरा जरासम्म पुर्याउन स्प्रे गर्न नपर्ने हुनाले किसानको स्वास्थ्यमा पनि सहयोग पुग्छ।’
यो प्रविधिबाट सिँचाइ गर्दा रोग, कीरा तथा झारको प्रकोप कम हुने, असमतल क्षेत्र, पानी कम हुने क्षेत्र, बलौटे तथा ढुंगान क्षेत्रमा समेत सजिलै खेती गर्न सकिने श्रेष्ठले बताए ।
जो मजदुरबाट मालिक बने
सबैभन्दा बढी केरा उत्पादन गर्नेमा भारत
विश्वमा सबैभन्दा बढी भारतमा केरा खेती हुन्छ। सन् २०१९ मा प्रकाशित एक तथ्यांकअनुसार भारतमा ८६६ हजार हेक्टर क्षेत्रफलमा केराखेती हुन्छ। ३०४६० हजार मेट्रिक टन केरा उत्पादन गरी विश्वको कुल उत्पादनमा २६ प्रतिशत हिस्सा भारतले ओगटेको छ।
भारतपछि चीनमा ३४४ हजार हेक्टर, ब्राजिलमा ४६१.७ हजार हेक्टर र इन्डोनेसियामा १३२.२ हजार हेक्टर क्षेत्रफलमा केराखेती हुँदै आएको छ। केरा उत्पादनमा ११ औं स्थानमा रहेको नेपालमा १६.६ हजार हेक्टर क्षेत्रफलमा केराखेती हुँदै आएको छ।