
टीकापुर, फागुन १२
जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले झण्डै ३१ लाख मूल्य पर्ने चोरीका सवारी साधन बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयको टोलीले धनगढी उपमहानगरपालिकासहितका विभिन्न स्थानबाट अवैध रुपमा चलाइएका चोरीका सवारी साधन बरामद गरेको जनाएको छ ।
बरामद गरिएका मध्ये एउटा स्कारपियो र ९ वटा मोटरसाइकल रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक(एसपी) पदमबहादुर विष्टले जानकारी दिए । उनका अनुसार करिब २० लाख मूल्य पर्ने बा. प्र. ०१–०३१ च २७२६ नम्बर प्लेट टासेको अवस्थामा धनगढी उप–महानगरपालिका वडा नं. ७ बाट स्कारपियो बरामद गरिएको थियो ।
तर, यातायात व्यवस्था कार्यालय एकान्तकुना ललितपुरमा बुझ्दा उक्त नम्बरको गाडीको इन्जिन नम्बर र च्यासिस नम्बर मेल नखाएकाले स्कारपियोलाई भन्सार ऐन नियम बमोजिम आवश्यक कारबाहीको लागि त्रिनगर भन्सार कार्यालय पठाइएको एसपी विष्टले बताए ।
यस्तै, धनगढी उपमहानगरपालिका वडा नं. ९ बाट अन्दाजी १० लाख ८० हजार बराबरका मोटरसाइकल पनि बरामद गरिएको छ । बरामद गरिएका मोटरसाइकलमा युपी १४ एफडब्लु ३५८१ भारतीय नम्बरको र अन्य नेपाली नम्बर प्लेटका मोटरसाइकल रहेका छन् ।
प्रहरीका अनुसार बा ९० प २३४०, बा ९७ प ५०४६, से.६ प ९३२७, सु.प.प्र.०१–०११ प १६८७, से.१ प ७४११, से.२ प ३७३३, बा.प्र. ०२–०२० प ७९४ र सु.प.प्र. ०१–०१० प ८५६६ नम्बर टासेका मोटरसाइकल बरामद गरिएको हो ।
ती मोटरसाइकलबारे यातायात व्यवस्था कार्यालयमा बुझ्दा इञ्जिन नम्बर र च्यासिस नम्बरहरु मेल नखाएपछि आवश्यक कारबाहीका लागि त्रिनगर भन्सार कार्यालय बुझाइएको प्रहरीले जनाएको छ ।