
टीकापुर, फागुन ९
नेपाल सरकारका उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले मन्त्रालयले विगतदेखि अगाडि बढाई रहेको नयाँ सहर स्मार्ट सिटीको काम निरन्तर हुने बताएका छन् । टीकापुरकै अग्रणी शैक्षिक संस्था वीरेन्द्र विद्या मन्दिर माध्यमिक विद्यालयको स्वर्ण महोत्सव समारोहको उद्घाटन गर्दै उपप्रधानमन्त्री सिंहले सो कुरा बताएका हुन् ।
‘राजनीतिक अस्थिरताले नयाँ सहर र स्मार्ट सिटीको काम रोकिएको हो । अब यसको काम मन्त्रालयबाट निरन्तर रुपमा अगाडि बढ्छ’ मन्त्री सिंहले भने ‘स्मार्ट सिटीको अवधारणामा अगाडि बढिरहेका कामहरुलाई मैले निरन्तरता दिनेछु ।’
उपप्रधानमन्त्री सिंहले विद्यालय खुलेपछि टीकापुर सहरको विकास भएको स्मरण गर्दै टीकापुरलाई शैक्षिक केन्द्रकै रुपमा विकास गर्दा देशलाई समेत योगदान पुग्ने विश्वास व्यक्त गरे । ‘यो शैक्षिक संस्थाले देशको सेवा गर्नका लागि थुप्रै विद्यार्थीहरु उत्पादन गरेको रहेछ’ मन्त्री सिंहले भने ‘एउटा शैक्षिक संस्थाले देशलाई नै योगदान दिन सक्छ भन्ने यो उदाहरण हो ।’
कार्यक्रममा बोल्दै मन्त्री सिंहले शैक्षिक गुणस्तरसँगै विद्यार्थीहरुलाई विभिन्न सीपमूलक कार्यक्रमहरुमा समेत दक्ष बनाउनु पर्ने धारणा राखे ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले टीकापुर सहरको पहिचान नै शिक्षा भएकाले सुदूरपश्चिम प्रदेश सरकारले विज्ञान तथा प्रविधि विश्वविद्यालय टीकापुरमा स्थापना गर्न लागिएको बताए ।
‘टीकापुर शहरको विकास यही विद्यालयका कारण भएको हो, टीकापुरको पहिचान नै शिक्षा भएकाले प्रदेश सरकारले टीकापुर प्राविधिक विश्वविद्यालयको अवधारणा अगाडि बढाएको छ’ मुख्यमन्त्री शाहले भने ‘यसका लागि सबै टीकापुरबासीले साथ र सहयोग गर्नुपर्ने हुन्छ ।’
मुख्यमन्त्री शाहले प्राविधिक विश्वविद्यालय सञ्चालन भए आगामी दश वर्षभित्रै टीकापुर देशकै शैक्षिक हबको रुपमा विकास हुने दाबी गरे ।
कार्यक्रममा बोल्दै टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगौरा थारुले खड्ग बहादुर सिंहको सपना स्वरुप नगरपालिकाले गुलाब सिटीको अवधारणा अगाडि सारेकोमा जोड दिए । कार्यक्रममा बोल्दै विद्यालयको पूर्व अध्यक्ष मीनबहादुर रावलले विद्यालयको शैक्षिक गुणस्तर बिग्रिएको प्रति चिन्ता व्यक्त गर्दै खड्गबहादुर सिंहले स्थापना गरेको विद्यालयको अवस्था नाजुक भएकोमा दुःख लाग्ने गरेको बताए ।
मुख्यमन्त्रीसहित १८८ जनालाई सम्मान
विद्यालय स्थापनाको ५० वर्ष पुगेको अवसरमा आयोजित स्वर्ण महोत्सवको उद्घाटन समारोहमा विद्यालयका १८८ जना पूर्व विद्यार्थीहरुलाई सम्मान गरिएको छ ।
सम्मानित हुनेमा पूर्व विद्यार्थीहरू सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह, पूर्वमन्त्री तथा प्रतिनिधि सभा सदस्य अब्दुल खान, प्रतिनिधि सभा सदस्य रूपा चौधरी, सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लक्ष्मणकिशोर चौधरी, सुदूरपश्चिम प्रदेश सभाका सदस्य कैलाश चौधरी, पुर्व सांसद गंगाबहादुर कुँवर, प्रतिनिधि सभाका पूर्व सदस्य रेशमलाल चौधरी लगायत छन् ।
कार्यक्रममा पूर्व विद्यार्थी तथा मदन पुरस्कार विजेता महेशविक्रम शाह र विवेक ओझालाई समेत सम्मान गरिएको छ । विद्यालय स्थापना गर्ने तत्कालीन मन्त्री खडकबहादुर सिंह, प्रधानाध्यापक रत्नप्रसाद सज्याल लगायत सात जनालाई मरणोपरान्त सम्मान गरिएको छ ।
त्यसैगरी विद्यालयका छ जना पूर्व अध्यक्ष, पूर्व प्राचार्यहरु बलबहादुर रावल, थोमस वर्गीस लगायत सात जनालाई समेत सम्मान गरिएको छ ।
पुस्तकालय तथा इ-लाइब्रेरी उद्घाटन
विद्यालयको स्वर्ण महोत्सवको अवसरमा टीकापुर सरोकार समूहको संयोजनमा स्थापना गरिएको पुस्तकालय तथा इ लाइब्रेरीको समेत उद्घाटन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले रिबन काटेर उद्घाटन गरेका हुन् ।
पुस्तकालयका लागि सरोकार समूहको संयोजनमा डाक्टर सुधीर रुपारेलिया फाउण्डेशन युगाण्डा, विद्यालयका पूर्व अध्यक्ष मीनबहादुर रावल तथा गगन फाउण्डेशन टीकापुरका हिक्मत थापाको आर्थिक सहयोग गरेका थिए ।
पुस्तकालयको विस्तार, आधुनिकीकरण र इ लाइब्रेरीको स्थापना गर्न लाइब्रेरी फाउण्डेशन नेपालको प्राविधिक सहयोग छ । १२ लाख रुपैयाँको लागतमा स्थापना गरिएको लाइब्रेरीमा १० वटा कम्प्युटर, एक ल्यापटप, प्रिन्टर, स्क्यानर, बारकोड रिडर, सर्भर कम्प्युटर राखिएको छ ।
पुस्तकालयमा ९ हजार ७४८ डिजिटल पुस्तक, ३ हजार ८४९ अडियो पुस्तक, ३ हजार ५१८ शिक्षा केन्द्रित भिडियो, बाल केन्द्रित इ पाठ, विकिपिडिया (स्कुल), ४ हजार ८०२ जना विभिन्न लेखकका ज्ञानबद्र्धक सामग्री राखिएका छन् । पुस्तकालयको आधुनिकीकरणले शैक्षिक गुणस्तर वृद्धि गर्न मद्दत पुग्ने टीकापुर सरोकार समूहका अध्यक्ष प्रशान्त अर्यालले बताए ।