Hamro Patra
स्थानीयको विरोधका बाबजुद निर्मित शौचालय सञ्चालनमा आएन

टीकापुर, फागुन ९
स्थानीयको विरोधका बाबजुद प्रहरी परिचालन गरेर निर्माण गरेको सार्वजनिक शौचालय लामो समयदेखी सञ्चालनमा आउन सकेको छैन । 

करिव एक वर्षअघि टीकापुर नगरपालिकाले भानुचोक नजिकै रहेको पूरानो सार्वजनिक शौचालय भत्काएर नयाँ निर्माण गर्न खोज्दा स्थानीयले विरोध गरेका थिए । उनीहरुले घर नजिकैको ‘ओपेन स्पेस’ मा सार्वजनिक शौचालय निर्माण गर्दा बस्ती नै दुर्घन्धित हुने भन्दै विरोध जनाएका थिए । 

नगरपालिकाले स्थानीयको विरोधलाई रोक्न प्रहरी परिचालन गरेको थियो । उसले ठूलो संख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरी परिचालन गरेको थियो । नगरपालिकाले सार्वजनिक शौचालय निर्माणमा अवरोध गरे कारवाही गर्ने चेतावनी समेत दिएको थियो । नगरपालिकाको दवाव पछि विरोधमा उत्रिएका स्थानीय सहमतिमा आउन वाध्य भएका थिए । 

स्थानीयले सहमति पत्रमा हस्ताक्षर समेत गरेका थिए । स्थानीय जनक बिष्टले सहमति पत्रमा हस्ताक्षर गरेका थिए । नगरपालिकाका तर्फबाट भने नगर प्रमुख रामलाल डगौरा थारुले हस्ताक्षर गरेका थिए । सहमति पत्रमा नगरपालिकाका तर्फबाट वन वातावरण तथा सरसफाई उपशाखाका प्रमुख लोकबहादुर बुढा र स्थानीयका तर्फबाट उमेश तुलाचन साक्षी बसेका थिए । 

नगरपालिकाले पुरानो शौचालय जीर्ण भएकाले सुविधा सम्पन्न सार्वजनिक शौचालय निर्माण गर्ने भन्दै स्थानीयसँग सहमति गरेको थियो । सहमति पत्रमा पहिलो र दोस्रो पक्षका लागि छ वटा बुँदा उल्लेख गरिएका थिए ।

सहमति अनुसार नगरपालिकाले शौचालय र आसपासको क्षेत्रमा दैनिक सरसफाई गर्ने, हाल रहेको सेफ्टी ट्यांकीको अध्ययन गरी आवश्यकता अनुसार मर्मत वा नयाँ निर्माण गर्ने, वाईफाई र सिसी क्यामेरा जडान गर्ने र स्थानीयसँगको सहकार्यमा निर्माण कार्य अघि बढाउने उल्लेख रहेको थियो ।

त्यस्तै स्थानीयले शौचालय निर्माणमा अवरोध नगर्ने र शौचालय निर्माण सम्पन्न भएपछि सरसफाई कार्य, क्यान्टिन सञ्चालन र रेखदेखको जिम्मा लिने सहमति पत्रमा उल्लेख छ । टीकापुर नगरपालिका वडा नम्बर १ भानुचोक नजिकै निर्माण भएको यो शौचालय एशियाली विकास बैंकको २० लाख आर्थिक सहयोगमा निर्माण सम्पन्न भएको हो । 

सार्वजनिक शौचालय निर्माण सम्पन्न भएको करिव सात महिना बितेको छ । निर्माण पक्षले अझै नगरपालिकालाई हस्तान्तरण समेत गरेको छैन । नवनिर्मित शौचालय सञ्चालनमा नआउँदै जीर्ण बन्न थालेको छ । शौचालय वरिपरि झार उम्रिएको छ । नगरपालिकाले शौचालय सञ्चालनमा ध्यान नदिएको स्थानीयको गुनासो छ । 

स्थानीयले धेरै पटक शौचालय सञ्चालनका लागि नगरपालिकालाई आग्रह समेत गरेका छन । तर नगरपालिकाले स्थानीयको आग्रहलाई वेवास्ता गरेको छ । ‘निर्माण गर्दा प्रहरी परिचालन गरियो तर अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन’ एक स्थानीयले भने–‘नगरपालिका सहमति अनुसार गम्भिर हुन सकेन ।’

शौचालय सञ्चालनमा आउन अझै एक महिना समय लाग्ने टीकापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दमन चौधरीले जानकारी दिए । उनले शौचालयमा पानीको व्यवस्था र केही भौतिक पूर्वाधारको काम बाँकी रहेको बताए । 

‘शौचालय वरिपरि टायल बिछ्याउने काम बाँकी नै छ । त्यहाँ मिनि गार्डेन बनाउने योजना छ’ उनले भने–‘एक महिना सम्ममा सबै काम सकिन्छ ।’

प्रकाशित मिति: शुक्रबार, फागुन ९, २०८१  ११:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update