
टीकापुर, फागुन ६
कैलालीको धनगढीका विभिन्न ठाउँबाट लागूऔषधसहित ६ जना युवक पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका वडा नं. १२ “बि” गाउँबाट “ए” गाउँ बस्ने ३५ वर्षीय शेरबहादुर भण्डारी र २१ वर्षीय आशिष ढाँट पक्राउ परेका छन् ।
दुबै जनालाई ८५० मिलिग्राम लागूऔषध (खैरो हेरोइन) सहित नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर, कञ्चनपुर र अस्थायी प्रहरी पोष्ट जुगेडा, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।
यस्तै धनगढी उपमहानगरपालिका वडा नं. २ त्रिनगर भन्सार ब्यारेलबाट सुदूरपश्चिम प्रदेश ०१–०१२ प ७४९५ नम्बरको मोटरसाइकलसहित वडा नं. ५ का १९ वर्षीय विनोद गिरीले लागाएको हेल्मेट भित्र लुकाइ छिपाइ राखेको अवस्थामा ५ ग्राम १०० मिलिग्राम लागूऔषध (खैरो हेरोइन) फेला पारेको हो ।
गिरीसहित मोटरसाईकल र मोटरसाइकलमा पछाडी बसेका बाजुराको बुढीगंगा नगरपालिका वडा नं. ४ बस्ने २३ वर्षीय दिपेन्द्र खातीलाई प्रहरी चौकी त्रिनगर, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।
यसैगरी धनगढी उपमहानगरपालिका वडा नं. १९ लल्लीपुरबाट सोही ठाउँ बस्ने २७ वर्षीय उपेन्द्र रावल र १६ वर्षीय किशोर पक्राउ परेका छन् । यी दुबै जनालाई ९३० मिलिग्राम लागूऔषध (खैरो हेरोइन)सहित इलाका प्रहरी कार्यालय बहुलिया, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।