
टीकापुर, फागुन २
प्रेम दिवस अर्थात् प्रणय दिवसको अवसर पारी टीकापुरलाई गुलाब सिटी बनाइने अभियान अन्तर्गत आजदेखि गुलाब रोप्ने काम शुरु गरिएको छ ।टीकापुर नगरपालिकाले गुलाब सिटी बनाउन शुरु गरेको अभियानको सुदूरपश्चिम प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री लक्ष्मणकिशोर चौधरीले पालिकाको आँगनमा गुलाब रोपेर शुरु गरेका हुन् ।
अभियानको शुरुवात गर्दै मन्त्री चौधरीले पर्यटकीय क्षेत्र टीकापुरलाई गुलाबको सिटी बनाउने नगरपालिकाको कामले प्रदेशको समेत गौरव बढेको र मन्त्रालयका तर्फबाट सहयोग गर्न प्रतिबद्धता जनाए ।
‘गुलाब फुल्ने टीकापुर पार्कलाई संरक्षण गर्ने र टीकापुर पार्कजस्तै बजारमा पनि गुलाब फुलाउनुपर्छ’ मन्त्री चौधरीले भने ‘प्रदेशको वन मन्त्रालयबाट १० हजार फलफूल र शोभायुक्त बिरुवा उपलब्ध गराउने प्रतिवद्धता गर्दछु ।’
प्रदेश सभा सदस्य ललिता सुनार पनि प्रेम दिवसमा शुरु भएको गुलाब रोप्ने अभियान प्रेमपूर्वक अघि बढ्ने अपेक्षा रहेको बताइन् । टीकापुरको शहरी क्षेत्रमा गुलाब फुलाउन विभिन्न विद्यालय, व्यापारिक फर्मलाई जिम्मा लगाइएको नगरपालिकाले जनाएको छ ।
गुलाबको शहर बनाउने योजनाले व्यवसायीहरु उत्साहित भएका छन् । होटल सिद्धार्थ प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले बहुजाती, बहुभाषी टीकापुरमा गुलाबको प्रवद्र्धनले आत्मियता बढ्ने विश्वास व्यक्त गरे ।
टीकापुर नगरपालिकाको गुलाबी शहर अभियानमा सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयबाट पाँच लाख सहयोग भएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले मुख्य शहरको १ हजार ६ शय मिटर लम्बाईको सडकका दुबैतर्फ निर्माण गरिएका क्यारीमा तारबार गरेर गुलाब रोप्ने तयारी गरिरहेको छ ।
पालिकाले गुलाब लगाइने क्षेत्रलाई २७ वटा समूहमा विभाजन गरेर जिम्मेवारी तोकेको छ । जिम्मेवारीमा रहेका विद्यालय, संघ संस्था र व्यापारिक फर्महरुले गुलाबका बोटहरु किनेर रोप्ने र हुर्काउने जिम्मा लिएका छन् । क्यारीमा ८० सेन्टिमिटरको फरकमा दुई लहरमा बिरुवा रोपिँदैछ । यसरी रोप्दा यो क्षेत्रमा आठ हजार बिरुवा लाग्नेछन् ।
नगर प्रमुख रामलाल डगौरा थारुले टीकापुरलाई गुलाब सिटीका रुपमा विकास गर्ने र आगामी प्रेम दिवसमा टीकापुरमा पर्यटक भित्र्याउने उद्देश्यले गुलाब रोप्ने अभियान शुरु गरिएको बताए ।