Hamro Patra
लागुऔषधसहित समातिए ११ युवक

टीकापुर, माघ २७
कैलाली र कञ्चनपुरमा लागुऔषधसहित ११ जना युवक पक्राउ परेका छन् । शनिबार टीकापुर नगरपालिका वडा नं. ३ शंकरपुरबाट सोही ठाउँ बस्ने २६ वर्षका नरेश शाहीलाई ९० मिलिग्राम, गोदावरी नगरपालिका वडा नं. २ पहाड रोडस्थित बसपार्क नजिकबाट वडा नम्बर १ बस्ने २६ वर्षका राजन हमाललाई १३० मिलिग्राम, वडा नम्बर ३ मालिका टोल जाने बाटो नजिकबाट सोही ठाउँ बस्ने १९ वर्षका तिलक थापा, २१ वर्षका मनोज सार्की, वडा नं. १ बस्ने २३ वर्षका नितेश महरालाई ५८० मिलिग्राम लागुऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थसहित पक्राउ गरिएको प्रहरीले बताएको छ ।

यसैगरी, गौरीगंगा नगरपालिका वडा नं. १ चौमाला बजारबाट कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नं. २ बस्ने २९ वर्षका खगेन्द्र महरालाई ९० मिलिग्राम र धनगढी उपमहानगरपालिका वडा नं. ३ ब्यारेल नजिकबाट वडा नम्बर ८ बस्ने ३५ वर्षका राम विशाल राना र २८ वर्षका हरि राना २ ग्राम ६९० मिलिग्राम सहित पक्राउ परेका हुन् । 

त्यस्तै, शनिबार साँझ नै कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नं. १० अमरबस्तीस्थित चकमेली बजारबाट कैलालीको गोदावरी नगरपालिका वडा नं. १ अनामनगर बस्ने २८ वर्षका सुरेश चौधरी र २५ वर्षका रवीन्द्र ओलीलाई १ ग्राम २० मिलिग्राम लागुऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थसहित इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती, कञ्चनपुरबाट खटिएको टोलीले नियन्त्रणमा लिएको छ । 

पुनर्वास नगरपालिका वडा नं. ११ डोकेबजारबाट वडा नम्बर १० भीमबस्ती बस्ने २० वर्षका रोशनसिंह साँउदलाई स्पास्मो २१ थान क्याप्सुलसहित प्रहरी चौकी परासन कञ्चनपुरबाट खटिएको टोलीले नियन्त्रणमा लिएको छ । पक्राउ परेका ११ जनामाथि नै थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, माघ २७, २०८१  १३:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update