Hamro Patra
चक्कु देखाई किशोरीमाथि बलात्कार

टीकापुर, माघ २७
कैलालीको सदरमुकाम धनगढीमा विद्यालयबाट फर्किदै गरेकी एक किशोरी बलात्कृत भएकी छन् । स्थानीय विद्यालयमा कक्षा ७ मा अध्ययनरत किशोरीमाथि गत बिहीबार साँझ बलात्कार भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

बाजुराबाट अध्ययनका लागि धनगढी आएकी १४ वर्षीया किशोरीलाई एक किशोरले आफ्नै घरमा लगेर बलात्कार गरेका थिए ।

प्रहरीका अनुसार स्कुलबाट घर फर्किने क्रममा सडकमा रोकेर युवकले चक्कु देखाउँदै आफूसँग नहिँडे मारिदिने धम्की दिएका थिए । त्यसपछि उनी धनगढीकै १८ वर्षीय युवकसँगै उनको घर पुगेकी थिइन् ।

‘हामीले शनिबार मात्र घटनाबारे जानकारी पाएका हौँ’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) कबिन्द्रसिंह बोहराले भने,  ‘किशोरीमाथि घरमै बलात्कार गरेको आरोप छ । आरोपित युवक फरार छन् भने उनको खोजी कार्य जारी छ ।’

किशोरीलाई  डर, त्रासमा पारेर घरमै लगेर बलात्कार गर्ने युवकको खोजी भइरहेको डिएसपी बोहराले बताए ।

प्रकाशित मिति: आइतबार, माघ २७, २०८१  १२:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update