Hamro Patra
टीकापुर अस्पतालमा सिकलसेलको निःशुल्क उपचार हुने

टीकापुर, माघ २६
थारु समुदायमा देखा परेको जटिल रोग सिकलसेल एनिमियाको निःशुल्क उपचार अब टीकापुर अस्पतालमा हुने भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग नर्सिङ्ग तथा सामाजिक सुरक्षा महाशाखामा सूचिकृत भएसँगै अब टीकापुर अस्पतालबाटै निःशुल्क सिकलसेल एनिमियाको उपचार हुने भएको हो । महाशाखाको माघ २५ गते चलानी नम्बर ३३८ को पत्रमा रोगको विरामीहरुलाई सेवा प्रदान गर्न सूचिकृत प्रदान गरिएको उल्लेख छ । 

‘अस्पतालले प्रदान गर्ने सिकलसेल एनिमिया सेवा अन्तर्गत अन्य कुनै प्रकारको शुल्क लिन पाइने छैन’ पत्रमा उल्लेख शर्त छ ‘सिकलसेल एनिमिया सेवा प्रदान गरेको विवरण विरामीको नागरिकता नम्बरलाई आधार बनाई विद्युतीय प्रणालीमा दुरुस्त राख्नु पर्नेछ ।’

विपन्न नागरिक औषधी उपचार कार्यक्रम सञ्चालन निर्देशिका २०८० अन्तर्गत रोगको विरामीलाई निःशुल्क उपचार हुनेछ । ‘सरकारले घोषणा गरेको मापदण्ड पूरा गरेकाले महाशाखाले सूचिकृत गरेको हो’ अस्पताल व्यवस्थापन समितिका अध्यक्ष झपटबहादुर सोडारीले भने ‘लामो समयदेखिको प्रयासपछि सूचिकृत हुन सफल भएका छौं, यसले सिकलसेल एनिमियाका विरामीको सबै उपचार अब टीकापुर अस्पतालमै हुनेछ ।’

अध्यक्ष सोडारीले यसभन्दा अघि सिकलसेल एनिमियाका विरामी धनगढी, नेपालगञ्ज लगायत अन्य ठाउँमा जानुपर्ने अवस्था रहेकोमा टीकापुर अस्पतालमा सिकलसेल एनिमियाको उपचार हुने बताए । योसँगै अस्पतालले सरकारका सबै लक्षित कार्यक्रम पूरा गरेको छ ।

प्रकाशित मिति: शनिबार, माघ २६, २०८१  ०९:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update