Hamro Patra
टीकापुरलाई गुलाब सिटी बनाइनेः के हो गुलाब सिटी अभियान ?

टीकापुर, माघ २२

कैलालीको टीकापुर नगरपालिकाले पालिकालाई गुलाबको सिटी बनाउने अभियान शुरुवात गरेको छ । गत शुक्रवारदेखि नगरपालिकाले पालिकाका केन्द्रको आँगनमा गुलाबहरु रोप्दै अभियानको शुरुवात गरेको हो । अभियान अन्तर्गत टीकापुर नगरपालिकाको मुख्य छ लेन सडकमा थरिथरिका गुलाबहरु रोपिनेछन् । 

टीकापुरको जमरा पुलदेखि बसपार्कसम्म रहेको झण्डै दुई किलोमिटर सडकको दुबैतर्फ रहेका ग्रिन लेनहरुमा तालजाली लगाइएको छ । सोही क्षेत्रमा थरिथरिका गुलाबहरु रोपेर पालिकालाई गुलाबको सिटीका रुपमा विकास गर्ने लक्ष्य रहेको नगर प्रमुख रामलाल डगौरा थारुले बताए । 

‘शुक्रवारबाट हामीले टीकापुरलाई गुलाबको सिटी बनाउने अभियान शुरु गरेका छौं’ नगर प्रमुख थारुले भने ‘अभियानका लागि प्रत्येक शुक्रबार जनप्रतिनिधि, पालिकाका कर्मचारीहरुले श्रमदान गर्नेछन् भने विभिन्न संघ संस्थाहरुसँगको सहकार्यमा अन्य दिन समेत श्रमदान गरिनेछ ।’

नगर प्रमुख थारुका अनुसार टीकापुरका मुख्य सडक, सार्वजनिक स्थल, प्रत्येक कार्यालय, वडा कार्यालयहरुमा श्रमदानमार्फत् गुबाल लगाइनेछ । प्रणय दिवस् अर्थात् भ्यालेन्टाइन डे फेब्रुअरी १४ का दिनबाट गुलाब रोपिनेछ । गुलाबसँगै मौसमी तथा बेमौसमी फूलहरु, सजावटका बिरुवाहरु लगाइनेछ । 

‘यो भ्यालेन्टाइन डेको दिनबाट हामी गुलाब रोप्छौं र अर्को वर्षको भ्यालेन्टाइन डेको दिन गुलाब हेर्ने पर्यटकहरुलाई टीकापुरमा ल्याउने योजना छ’ नगर प्रमुख थारुले भने ‘परम्पराकालदेखि नै यो क्षेत्रमा श्रमदान गरेर थुप्रै कामहरु भएका छन्, सर्वसाधारणले मात्रै श्रमदान गर्ने होइन, सबै वर्ग क्षेत्रले श्रमदान गर्नुपर्छ भन्ने सन्देश दिँदै गुलाबको सिटी बनाउने हो ।’ 

हाल टीकापुर पार्कमा विभिन्न ३६ प्रकारका गुलाबहरु छन् । तिनै गुलाबका विरुवाहरुलाई रोप्दै जाने र एक वर्षमा गुलाबको सिटी बनाउने योजना पालिकाको छ । नगर प्रमुख थारुले शुरुवाती चरणमा पालिका, वडा कार्यालय र छ लेन सडकमा गुलाब रोप्ने तयारी भइरहेको बताए । 

‘गुलाब रोप्नका लागि तयारी गरिरहेका छौं, छ लेनमा रहेको ग्रिनरी भागमा रहेको ग्राभेल हटाउने, माटो र मलहरु हालेर सरसफाई गर्दैछौं’ नगर प्रमुख थारुले भने ‘यसमा विभिन्न संघ संस्थाहरुले सहकार्य गरिरहेका छन् । परियार समाज, सिद्धार्थ होटल, टीकापुर ट्युसन सेन्टर, सशस्त्र प्रहरी बल लगायतले श्रमदान गरेका छन् भने अन्य संस्थाहरु समेत समन्वयमा आइरहेका छन् ।’

गुलाबको सिटी बनाउन नगरपालिकाले चालु आर्थिक वर्षका लागि २५ लाख बजेट विनियोजन गरेको छ । सो बजेटबाट तारजाली लगाउने, गुलाब रोपिनेछ भने आगामी वर्षमा समेत सो कार्यक्रमलाई निरन्तरता दिइने नगर प्रमुख थारुले जानकारी दिए ।

प्रकाशित मिति: मंगलबार, माघ २२, २०८१  १०:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update