Hamro Patra
७ नम्बर वडाले गर्यो चिराकीलाई साइकल वितरण

टीकापुर, माघ २२
कैलालीको टीकापुर नगरपालिका वडा नं. ७ ले चिराकीलाई साइकल वितरण गरेको छ । आर्थिक वर्ष २०८१/८२ का लागि वडाले विनियोजन गरेको बजेटबाट १२ जना चिराकीलाई साइकल वितरण गरिएको हो ।

बडघर/भलमनसा प्रणालीमा आवश्यक परेको बेला गाउँलेलाई सूचना जारी गर्न चिराकीलाई प्रतिव्यक्ति १० हजार रुपैयाँ बराबरको साइकल वितरण गरिएको हो । चिराकीले सार्वजनिक काम, भेला, बैठक हुनुपर्ने, खोपलगायतका अभियानमा सहभागी हुनुपर्ने सूचना र कर्णाली नदीमा बाढी बढ्न थालेको सूचना घर घरै पुर्‍याउनु पर्छ ।

वडा नं. ७ का वडाध्यक्ष यज्ञप्रसाद न्यौपानेले समाजमा हुने हरेक गतिविधि बडघरमार्फत गर्नुपर्ने र बडघरले समाज जुटाउन चिराकी खटाउने भएकाले घर घर पुग्न सहयोग पुगोस् भनेर साइकल वितरण गरिएको बताए । झण्डै एक हजार पाँच शय परिवार रहेको वडामा १५ जना बडघर र १२ जना चिराकी छन्‌ । 

दिव्यपुर टोलकी चिराकी सावित्री चौधरीले ९० वटा जति घरमा पैदल हिँडेर सूचना पुर्‍याउन धेरै समय लाग्ने गरेकोमा साइकलमा भए २५ मिनेटमा पुग्न सकिने बताइन्‌ । सूचना पुर्‍याएबापत गाउँलेबाट उठाएको धान पाउने गरेका चिराकीहरू बडघर/भलमनसाका सहयोगी र सूचना प्रसारक हुन्‌ ।

प्रकाशित मिति: मंगलबार, माघ २२, २०८१  ०८:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update