Hamro Patra
वर्तमान व्यवस्थाको भविष्य काँग्रेससँग जोडिएको छः सहमहामन्त्री राठौर

टीकापुर, माघ १४
नेपाली काँग्रेसका सहमहामन्त्री किशोर सिंह राठौरले नागरिक उन्मुक्ति पार्टीले जातीय द्वन्द्व फैलाएको आरोप लगाएका छन् । मिलेर बसेको समाजलाई नागरिक उन्मुक्ति पार्टीले जातीयताका नाममा लडाउने काम गरेको उनको दाबी थियो ।  

नेपाली काँग्रेस कैलाली क्षेत्र नं. १ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै सहमहामन्त्री राठौरले उन्मुक्ति पार्टीका नेता रेशम चौधरी नेता हुन नसक्ने बताए । ‘नागरिक उन्मुक्तिको भविष्य लामो छैन’ उनले भने ‘रेशम चौधरी राम्रो प्रतिभा भएका कलाकार हुन् । तर उनी नेता हुन सक्दैनन् ।’  

काँग्रेस कुनै एक जात, धर्म र वर्गका पक्षमा मात्रै नबोल्ने बताउँदै सहमहामन्त्री राठौरले सबैको हकअधिकारका लागि लड्ने र लडेको इतिहास साक्षी रहेको पार्टी भएको बताए । उनले कुनै एक पक्षको मात्रै वकालत गर्ने पार्टीको भविष्य नरहेको बताए ।  

वर्तमान व्यवस्थाको भविष्य काँग्रेससँग जोडिएको उल्लेख गर्दै राठौरले काँग्रेस कमजोर भए यो व्यवस्था नै कमजोर हुने दाबी गरे । उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन काँग्रेस बलियो हुनुपर्ने उल्लेख गरे । नेता कार्यकर्ताको आपसी लडाईँले काँग्रेस कमजोर बन्दै गएको बताउँदै उनले सबै तिक्तता त्यागेर एकजुट हुनुपर्ने समय आएको बताए ।  

एकले अर्काको अस्तित्व नस्विकार्ने परिपाटीले पार्टीमा अनुशासनहिनता बढेको बताउँदै राठौरले हरेक नेता कार्यकर्ता अनुशासित हुनुपर्ने र अनुशासन उल्लंघन गर्नेलाई कारवाही गर्नुपर्ने उल्लेख गरे ।  उनले पार्टीको तल्लो तहमा युवाहरुको सकृयता बढ्दै गएको बताउँदै आगामी १५ औं महाधिवेशनबाट केन्द्रिय समितिमा समेत युवाको संख्या बढ्न सक्ने बताए । उनले काँग्रेसको भविष्य युवाको हातमा रहेको समेत बताए । 

२० नेतालाई मरणोपरान्त सम्मान

क्षेत्रीय सम्मेलनको अवसरमा काँगे्रसमा अमूल्य योगदान पुर्याउने नेताहरुलाई सम्मान गरिएको छ । सम्मानित हुनेमा केशरसिंह कडायत, लायकराम चौधरी, बड्कुलाल चौधरी, जगतराज पौडेल, परशु नारायण चौधरी, गोबद्र्धन विष्ट, जोगराज चौधरी, महामति तिमिल्सेना, रामदुलारे महतौ, केशवलाल महतौ छन् । 

त्यस्तै नैनसिंह सेठ्ठी, नरबहादुर ठकुल्ला, सन्तराम चौधरी, धनबहादुर वि.क., डम्बरबहादुर स्वाँर, मोहनबहादुर रावल, रणसिंह साउँद, हरिहर गिरी, झनकदत्त रेग्मी र बद्रीप्रसाद शर्मालाई समेत मरणोपरान्त सम्मान गरिएको छ । प्रजातान्त्रिक आन्दोलनका माध्यमबाट योगदान पुर्याएका पूराना नेताहरुलाई सम्मान गरिएको क्षेत्रीय सभापति प्रकाश शाहले बताए ।  

क्षेत्रीय सभापति शाहको सभापतित्वमा भएको कार्यक्रममा केन्द्रिय सदस्यद्धय डाक्टर रणबहादुर रावल, नृप ओड, राष्ट्रिय सभा सदस्य एवं जिल्ला सभापति नारायण भट्ट, राष्ट्रिय सभा सदस्य नारायणदत्त मिश्र, संविधान सभा सदस्य बुद्धिसागर चौधरी, प्रदेश कार्यसमिति सदस्य केशरी विष्ट, महासमिति सदस्य नवराज रावल, पूर्व महाधिवेशन प्रतिनिधि फकिरसिंह कडायत, वीरबहादुर हमाल, जानकी गाउँपालिकाका अध्यक्ष गणेशराज रेग्मी लगायतले बोलेका थिए । 

प्रदेश ‘क’ का सभापति एवं क्षेत्रीय उपसभापति परशुराम महतौले स्वागत गरेको कार्यक्रमको सञ्चालन क्षेत्रीय सचिव धनञ्जय रिमाल फकिरले गरेका थिए ।

प्रकाशित मिति: सोमबार, माघ १४, २०८१  १७:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update