Hamro Patra
छाउगोठमै बाघको आक्रमण हुँदा एक महिला घाइते

टीकापुर, माघ  १४
कैलालीको पहाडी मोहन्याल गाउँपालिका वडा नं. ७ कुइनेमा छाउगोठमा सुतिरहेकी एक महिला बाघको आक्रमणबाट घाइते भएकी छन् । आइतबार राति साढे दश बजेतिर कुइनेस्थित आफ्नै घर नजिकै छाउगोठमा सुतिरहेको अवस्थामा ४५ वर्षीया सरस्वती बिटालुलाई बाघले आक्रमण गरेको हो ।

बिटालु निदाउन लागेकै बेला बाघको आक्रमण भएको र छाउगोठ वरपरका मानिसहरूले होहल्ला गरेपछि बाघ भाग्दा बिटालुलाई बचाउन सकिएको स्थानीय वीरेन्द्रबहादुर रावलले बताए । 

‘मानिसको हल्ला र बिजुलीको उज्यालो भएकाले बाघ भाग्यो, बिटालु सामान्य घाइते हुनुहुन्छ’ रावलले भने ‘पञ्जाले टाउकोमा हानेको छ, अनुहारमा घाउ छ, दाँत लगाउन पाएन उपचारका लागि लम्कीतिर ल्याउन लागिएको छ ।’ विटालुका श्रीमान् रोजगारीका लागि भारतमा रहेको रावलले जानकारी दिए ।

मोहन्याल गाउँपालिकामा बाघले यहाँका किसानले पालेका बाख्राहरू, गाईहरू समेत खाने गरेको स्थानीयहरु बताउँछन् ।

प्रकाशित मिति: सोमबार, माघ १४, २०८१  ०९:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update