Hamro Patra
पालिकाले अनुमति विना नै निर्माण थालेपछि वनको अवरोध

टीकापुर, माघ ११ 
कैलालीको जानकी गाउँपालिकाले एक सामुदायिक वनको जग्गामा जबर्जस्ती स्मार्ट शौचालय बनाउन शुरु गरेपछि सव डिभिजन वन कार्यालय टीकापुरले निर्माण कार्यमा रोक लगाएको छ । 

वडा नं. ३ को सुवर्ण सामुदायिक वनको जग्गामा रहेको खेलमैदानमा मन्त्रालयको अनुमति विना नै पालिकाले एक करोड बढीको लागतमा स्मार्ट शौचालय बनाउन थालेपछि वन कार्यालयले निर्माण कार्यमा रोक लगाएको हो । 

सव डिभिजन वन कार्यालय टीकापुरका प्रमुख दिलिप यादवका अनुसार गाउँपालिकाले जबर्जस्ती अनुमति विना नै निर्माण थालेपछि निर्माण कार्यमा रोक लगाएको बताए । विश्व बैंकको आर्थिक सहयोगमा पालिकाले वनको जग्गामा स्मार्ट शौचालयसहित डेस च्याजिंग रुम आदि निर्माण गर्न शुरु गरेको थियो । 

वनको जग्गामा कुनै संरचना निर्माण गर्दा भूमि सुधार मन्त्रालयले भोगाधिकारको अनुमति दिनुपर्ने नियम भए पनि पालिका हालै सम्पन्न गाउँ सभाबाट स्मार्ट शौचालय निर्माण गर्ने निर्णय गरेको थियो । 

निर्माण कार्य रोकेपछि गाउँपालिका अध्यक्ष गणेश चौधरीले खेल मैदानमा खेलाडीहरुका लागि आवश्यक शौचालय बनाउँदा अवरोध गर्नु उपयुक्त नभएको जिकिर गरे ।

'वर्षौंदेखि खेलमैदानका रुपमा रहेको खाली जग्गामा खेलमैदान हुँदा भोगाधिकार नचाहिने ?' अध्यक्ष चौधरीले भने 'खेलाडीका लागि शौचालय बनाउँदा अवरोध सिर्जना हुनु दुःखद् हो । हाम्रो भनाई खेल मैदानमा शौचालय बन्न दिनुपर्छ भन्ने हो ।' 

स्थानीयले पालिकाले अनुमति बिना नै शौचालय निर्माण शुरु गरेपछि वन कार्यालयमा उजुरी दिएका थिए ।

प्रकाशित मिति: शुक्रबार, माघ ११, २०८१  २०:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update