Hamro Patra
कोरोनाको सन्त्रासले घर फर्किदै नेपाली

योगेश रावल
टीकापुर, चैत ५
कोरोनाको सन्त्रास फैलिएपछि रोजगारीका क्रममा भारतमा रहेका नेपालीहरु घर फर्किन थालेका छन । विभिन्न सीमा नाकामा घर फर्किने नेपालीहरुको संख्या बढेको छ ।

टीकापुर नगरपालिका–९ खक्रौला नाका भएर घर फर्किने नेपालीहरुको संख्या समेत दिनप्रति दिन बढ्न थालेको छ । टीकापुर नगरपालिकाले त्यहाँ स्थापना गरेको ‘हेल्थ डेस्क’ मा स्वास्थ्य जाँच गराउनेहरुको संख्याका आधारमा घर फर्किने नेपालीहरुको संख्या बढेको देख्न सकिन्छ ।

कोरोनाको सन्त्रास बढेपछि नगरपालिकाले फागुन २४ गतेबाट खक्रौलामा रहेको ‘हेल्थ डेस्क’ मार्फत भारतबाट आउने नेपालीको स्वास्थ्य जाँच गर्न थालेको छ । ‘हेल्थ डेस्क’ मा कार्यरत अहेव मकेन्द्र रोकायाले चैत ४ गतेसम्म १ हजार नौ सयको स्वास्थ्य जाँच गरिएको जानकारी दिए ।

Khadga Memorial And Janajagriti

उनले ती मध्ये सबै लामो समय भारतका विभिन्न ठाउँमा बसेर फर्किएका नेपाली भएको बताए । उनीहरु मध्ये सबैमा कोरोना भाइरसको कुनै लक्षण नदेखिएको बताईएको छ ।

‘अहिलेसम्म कसैलाई पनि त्यस्तो लक्षण देखिएको छैन’ अहेव रोकायाले भने–‘घर फर्किनेको संख्या भने बढ्दै गएको छ ।’

मंगलवार (आज) मध्यान्हसम्म मात्रै २४४ जनाको स्वास्थ्य जाँच गरिएको छ । ती सबै रोजगारीका क्रममा भारतका विभिन्न ठाउँमा रहेका नेपाली हुन । उनीहरु मध्ये धेरैजसोले कोरोनाको सन्त्रासबाट बच्न घर फर्किएको बताउने गरेका छन । यसरी घर फर्किनेमा कैलाली, बर्दिया, अछाम, सुर्खेत, डोटी, दैलेख, कालिकोट लगायतका जिल्लाका बासिन्दा छन ।

बर्दियाको गेरुवा गाउँपालिकाका तीन जना भारतको हैदरावादबाट घर फर्किएका हुन । उनीहरु सबैले कोरोना भाइरस फैलिएको हल्ला सुनेर घर फर्किएको बताए । तीन जना मध्येका एक २३ वर्षका गोपाल चौधरीले २ वर्षपछि घर फर्किएको बताए । ‘घर परिवारसँग भेटघाट नभएको पनि धेरै समय भएको थियो । यस्तैमा कोरोनाको हल्ला फैलिए पछि चाँडै फर्किए’ उनले भने–‘हामी जस्तै धेरै व्यक्ति घर फर्किएका छन ।’

भारतमा केही नेपाली कामदारलाई कामबाट निकालिएको छ । ती मध्ये कतिपयलाई फेरी काममा फर्किन भनिएको छ भने कतिपयले रोजगारी नै गुमाएका छन । उनीहरु कामबाट निकालिए पछि धमाधम घर फर्किन थालेका छन ।

भारतको मुम्बईमा एक होटलमा कार्यरत अछाम कमलबजारका विकास धामीलाई केही समयपछि काममा आउनु भनिएको छ । तर कहिलेसम्म काममा फर्किने भन्ने कुरोको ठेगान छैन । ग्राहकको संख्या घटेसँगै उनी लगायत धेरै कामदारलाई होटल व्यवस्थापनले केही समयका लागि विदा दिएको छ । सो होटलमा कुकमा कार्यरत उनी खाली समयको सदुपयोग गर्न घर फर्किएका छन । ‘एकातिर विदाको समय अर्कोतिर कोरोनाको हल्ला फैलिन थालेपछि घर फर्किए’ उनले भने–‘म जस्तै धेरैलाई विदा गरिएको छ ।’

यसरी घर फर्किनेमा भारतका महाराष्ट्र, मुम्बई, हैदरावाद, गुजरात, लखनउ, सुरत लगायतका शहरबाट धेरै रहेको बताईन्छ ।

सीमा क्षेत्रमा घर फर्किने नेपालीहरुको संख्या बढेसँगै चुनौती समेत थपिएको छ । उनीहरुलाई भरपर्दो ढंगले स्वास्थ्य जाँच गर्न सकिएको छैन । अहिले सीमा क्षेत्रमा रहेको ‘हेल्थ डेस्क’ ले ‘स्क्यानर गन’ मार्फत ज्वरो नाप्ने र सामान्य सोधपुछ मात्रै गर्दै आएको छ । स्वास्थ्यकर्मीले उनीहरुलाई ज्वरो नाप्नुका साथै रुघाखोकी र स्वास प्रश्वास समस्याका बारेमा सोध्ने गरेको छ ।

‘स्क्यानर गन’ ले ज्वरोको मात्रा देखाए पनि रुघाखोकी र स्वास प्रश्वास समस्याका बारेमा सम्बन्धित व्यक्तिले भने पछि मात्रै स्वास्थ्यकर्मीले थाहा पाउने अवस्था छ । स्वास्थ्य जाँच गरिएका व्यक्तिले दिएको जानकारीकै आधारमा उनीहरु स्वस्थ र अस्वस्थ भन्ने कुरो प्रमाणित गर्ने गरिएको छ ।

‘१०४ डिग्री भन्दा माथि ज्वरो देखिए मात्रै हामीले शंकास्पद रुपमा लिने हो’ अहेव रोकायाले भने–‘बाँकी कुरो त उनीहरुले भनेकै आधारमा विश्वास गर्नुपर्छ ।’

भारतमा रोजगारी गरेर अर्थात केही समय बसोबास गरेर फर्किएका व्यक्तिहरुको मात्रै स्वास्थ्य जाँच गरिन्छ । अन्य सीमावर्ती बजारमा किनमेल गरेर फर्किनेहरुको भने कुनै स्वास्थ्य जाँच गरिदैन । यस सीमा नाकाबाट दैनिक करिव दुई हजारको हाराहारीमा मानिस ओहोर दोहोर गर्छन । उनीहरु कसैले पनि ‘हेल्थ डेस्क’ मा आफ्नो स्वास्थ्य जाँच गराउँदैनन् ।

प्रकाशित मिति: बुधबार, चैत ५, २०७६  ०८:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update