टीकापुर, माघ ११
नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश समितिका महामन्त्री नरनारायण शाह मनुले संगठन सुदृढिकरणका लागि नेता तथा कार्यकर्तालाई प्रशिक्षणका कार्यक्रमहरु आवश्यक रहेको बताएका छन् ।
काँग्रेसले थालेको १०० दिने विशेष अभियान अन्तर्गत टीकापुर नगरपालिका वडा नं. ८ को कार्यक्रमलाई प्रमुख अतिथिको आशनबाट सम्बोधन गर्दै महामन्त्री शाहले सो कुरा बताएका हुन् ।
'संगठन सुदृढिकरणका लागि जिल्ला कार्यसमितिले कुनै पनि कार्यक्रमहरु दिन सकेको छैन, यसले संगठनलाई ध्वस्त बनाउने अवस्था आएको छ' महामन्त्री शाहले भने 'हामीले गर्ने कार्यक्रमका माध्यमबाट कति जना सदस्य काँग्रेसमा थपिए ? हाम्रा कति भोट थपिए ? भन्ने कुरा ख्याल गर्ने बेला भएको छ ।'
कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री शाहले साधारण सदस्यबाटै प्रशिक्षणका कार्यक्रमहरु दिएर जिम्मेवारी दिनुपर्नेमा जोड दिए । 'गाउँ टोलमा पुगेर पार्टीका साधारण सदस्य थपौं, उनीहरुलाई शुरुकै दिनदेखि प्रशिक्षणका कार्यक्रमहरु गरौं' महामन्त्री शाहले भने 'सँगैसँगै उनीहरुलाई टोल, गाउँको जिम्मेवारी पनि दिऔं, जसले गर्दा संगठन बलियो बनाउन मद्दत पुग्नेछ।'
महामन्त्री शाहले विकास निर्माणका काममा समेत काँग्रेसले गरेको योगदान जनतालाई बुझाउन नसक्दा चुनावमा मत बढ्नुको साटो घट्ने अवस्था आउने गरेकोप्रति चिन्ता व्यक्त गरे । वडा समितिका सभापति टीकाराम चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा विशिष्ट अतिथि काँग्रेस महासमिति सदस्यद्धय केशरी विष्ट र नवराज रावल रहेका थिए ।
योगेन्द्र साउँदले स्वागत गरेको कार्यक्रममा पूर्व प्रदेश सभा सदस्य उमा वादी, पूर्वै महाधिवेशन प्रतिनिधि फकिरसिंह कडायत, जंगबहादुर साउँद, क्षेत्र नं. १ का क्षेत्रीय सभापति प्रकाश शाह, महाधिवेशन प्रतिनिधि एवं जिल्ला प्रतिनिधि रणबहादुर रावल, थारु संघका केन्द्रीय सदस्य मानबहादुर थारु लगायतले बोलेका थिए भने कार्यक्रमको सञ्चालन शंकर विश्वकर्माले गरेका थिए ।