Hamro Patra
काँग्रेस टीकापुरको दोश्रो नगर सम्मेलन सम्पन्न: नौ जना सम्मानित

टीकापुर, माघ ८ 
सत्तारुढ नेपाली काँग्रेस टीकापुर नगर कार्यसमितिको दोश्रो नगर सम्मेलन आज टीकापुरमा सम्पन्न भएको छ । बी.पी. स्मृति भवन टीकापुरमा नेपाली काँग्रेसका केन्द्रिय सदस्य डाक्टर रणबहादुर रावलको प्रमुख आतिथ्यतामा सम्मेलन सम्पन्न भएको छ । 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि डाक्टर रावलले समग्र टीकापुर क्षेत्रको विकास निर्माणमा काँग्रेसको योगदान उल्लेखनीय भएको बताउँदै टीकापुरको विकासका लागि काँग्रेस एकजुट हुनुपर्ने बताए । 

'हरेक विकास निर्माणमा काँग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गरेको छ' डाक्टर रावलले भने 'तर पनि हामी चुनावमा हार व्यहोर्छौं, यसको कारण हामी एकजुट हुन सकेका छैनौं, टीकापुरको समग्र विकासका लागि काँग्रेस एक ढिक्का हुन जरुरी छ ।'

कार्यक्रमका विशिष्ठ अतिथि एवं जिल्ला कार्यसमिति कैलालीका कार्यवाहक सभापति खेमराज डगौराले पार्टीका भातृ संगठनहरु केन्द्रले तोकेर आउने परिपार्टीले संगठन बलियो हुन नसके दाबी गरे । 'यहाँ संगठन गरेको नेता कार्यकर्तालाई थाह हुन्छ, को कस्तो छ भनेर ?' कार्यबाहक सभापति चौधरीले भने 'तर पार्टीको मेरुदण्ड मानिने भातृ संगठनमा केन्द्रले आफू अनुकुलका व्यक्ति तोकेर पढाउँदै आएको छ, यसले समग्र संगठनको हित गर्दैन ।' 

कार्यक्रममा बोल्दै पूर्व महासमिति सदस्य फकिरसिंह कडायतले पार्टीका गतिविधिलाई जनतासम्म लैजानु पर्नेमा जोड दिए ।कार्यक्रममा संविधान सभा सदस्य बुद्धिसागर चौधरी, प्रदेश सभा सदस्य ललिता सुनार, क्षेत्र नं. १ का सभापति प्रकाश शाह, पूर्व क्षेत्रीय सभापति भुवनेश्वर अधिकारी, वडा नं. ६ का वडा सभापति नृप कडायत, वीरेन्द्र विद्यामन्दिर क्याम्पसका स्ववियु सभापति नवीन अधिकारी, तरुण दलका क्षेत्रीय अध्यक्ष कल्पेश कुँवर, नेपाल प्रेस युनियन लम्की टीकापुर शाखाका अध्यक्ष परमानन्द पाण्डे लगायतले बोलेका थिए ।

कार्यक्रमका अवसरमा पार्टीमा लामो समयदेखि सक्रिय रहँदै आएका प्रजातान्त्रिक आन्दोलनका योद्धाहरुलाई सम्मानित गरिएको छ । सम्मानित हुनेमा वडा नं. १ बाट कलकबहादुर सोडारी, वडा नं. २ बाट बहादुरे लुहार, वडा नं. ३ बाट तिलकबहादुर चौधरी र वडा नं. ४ बाट प्रेमबहादुर शाह छन् । 

त्यस्तै वडा नं. ५ बाट जगतबहादुर साउँद, वडा नं. ६ बाट सुधराम चौधरी, वडा नं. ७ बाट भिखुराम डगौरा थारु, वडा नं. ८ बाट अमृता भुल र वडा नं. ९ बाट नन्दादेवी दमाईलाई दोसल्लासहित सम्मान पत्र प्रदान गरिएको छ । 

नगर सभापति नरेशकुमार खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपसभापति सुरतबहादुर रावलले गरेका थिए भने सञ्चालन नगर सचिव प्रकाश शाहले गरेका थिए ।

प्रकाशित मिति: मंगलबार, माघ ८, २०८१  २०:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update