Hamro Patra
डुँडेझारी–टीकापुर सडकको स्तर घटाएर टेण्डर आह्वान

टीकापुर, फागुन ३०
सडक डिभिजन कार्यालय महेन्द्रनगरले डुँडेझारी–टीकापुर सडकको स्तर घटाएर कालोपत्रको टेण्डर आह्वान गरेको छ । यसअघि गतवर्ष सात मिटर चौडाई कालोपत्रे गरिएको सडकलाई यस पटक भने पौने चार मिटरमा सिमित गरेर टेण्डर आह्वान गरिएको छ ।

केही समयअघि टेण्डर आह्वान गरेर सदर भैसकेको करिव ६ सय मिटर र आज टेण्डर आह्वान भएको सडकको चौडाई पौने चार मिटर मात्रै निर्धारण गरिएको छ । गतवर्ष निर्माण भएको टीकापुरदेखी सुवर्णपुरसम्मको पाँच किलोमिटर सडकको चौडाई भने सात किलोमिटर रहेको छ ।

स्थानीय सरोकारवालाले सडकको स्तर घटाईएको प्रति आपत्ति जनाएका छन । टीकापुर उद्योग वाणिज्य संघले आज आयोजना गरेको छलफलमा सबैले सडकको चौडाई घटाउन नहुने बताए ।
उनीहरुले यसअघि निर्माण भएको आधारमै सो सडकको आगामी मापदण्ड तय हुनुपर्नेमा जोड दिए ।

Khadga Memorial And Janajagriti

सो अवसरमा नेकपाका नगर अध्यक्ष खडक शाहले सडकको चौडाई घटाउन नहुने बताए । उनले टेण्डर भैसकेको ठाउँमा सडकको लम्बाई घटाएर भएपनि साविक चौडाई अनुसार नै सडक कालोपत्रे हुनुपर्ने बताए ।
कार्यक्रममा संघका पूर्वअध्यक्ष नवराज रावलले सडकको चौडाई घटाउने कार्य टीकापुर प्रतिको षडयन्त्र हुनसक्ने बताए । उनले यसका विरुद्ध सबै एकजुट हुनुपर्ने बताए ।

‘गतवर्ष सात मिटर चौडाई हुने अहिले किन नहुने ?’उनले भने–‘यो टीकापुर माथिको षडयन्त्र हो ।’

टीकापुरदेखी सुवर्णपुरसम्म निर्माण भएको पाँच किलोमिटर कालोपत्रे सडक सात मिटर चौडाई भएपनि अहिले निर्माणको तयारीमा रहेको सडकको चौडाई पौने चार मिटरमा सिमित गरेको छ ।

त्यस्तै संघीय समाजवादीका नेता दिनेशकुमार थारुले सडकको चौडाई कम गर्ने कुरामा आपत्ति जनाए । उनले साँघुरो सडक निर्माण गर्दा भविष्यमा दुर्घटना लगायतका कुरा बढ्ने तर्फ अहिले नै सचेत हुनुपर्नेमा जोड दिए ।
सो अवसरमा संघका पूर्वमहासचिव शिवदत्त उप्रेतीले स्थानीय सरकारका प्रमुखहरुको सहभागीतामा समस्याको साझा समाधान खोज्न जरुरी रहेको बताए ।

कार्यक्रमका सबै सहभागीहरुले सडकको चौडाई घटाईएको प्रति आपत्ति जनाएका छन । सबैले सडकको मापदण्ड सुधारमा सबैको एकमत हुनुपर्नेमा जोड दिए ।

यसअघि ६ सय मिटर कालोपत्रेको टेण्डर भएर सडक निर्माणको काम सुरु भैसकेको छ भने आज मात्रै थप सडक कालोपत्रेको लागि टेण्डर आह्वान भएको छ । दुवै कामका सडकको चौडाई पौने चार मिटर मात्रै उल्लेख छ । सरकारले कुनैपनि सडकको चौडाई कम्तिमा पनि सात मिटर हुनुपर्ने प्रावधान बनाएको छ । सरकारले बनाएको प्रावधान विपरित सडक निर्माण भैरहेको प्रति संघले सरोकारवालाको ध्यानाकर्षण गराउन छलफलको आयोजना गरेको हो ।

प्रकाशित मिति: शुक्रबार, फागुन ३०, २०७६  १९:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update