Hamro Patra
खक्रौलाबाट सीमास्तम्भको मर्मत कार्य सुरु

टीकापुर, माघ ४
कैलालीको सीमावर्ती क्षेत्रमा पर्ने नेपाल–भारत सीमास्तम्भहरुको मर्मत तथा रङरोगन कार्य शुरु गरिएको छ । बिहीबार कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले टीकापुर नगरपालिका वडा नं. ८ खक्रौलास्थित ७०३/२ नम्बरको सहायक पिल्लरबाट मर्मत तथा रङ्गरोगनको शुरु गरेका हुन् । 

नेपाल र भारतका सुरक्षा निकायको सहभागितामा सीमास्तम्भ मर्मत सुरु गरिएको हो । टीकापुर नगरपालिका क्षेत्रमा रहेका सात वटा मुख्य स्तम्भमध्ये ७००, ७०५, ७०७ नम्बरका मात्रै रहेका र अन्य मुख्य र सहायक स्तम्भ कर्णाली र मोहना नदीले बगाएको अवस्था छ ।

७०४ सीमास्तम्भ जोखिममा रहेकाले त्यसलाई जोगाउनुपर्ने स्थानीयले माग गर्दै आएका छन् । टीकापुर नगरपालिकाभित्र मुख्य सात वटा सीमास्तम्भ र अन्य सहायक स्तम्भ रहेका छन् । मर्मत सुरु हुनुअघि कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले सीमास्तम्भ दुरुस्त राख्न दुबै देशको दायित्व भएकाले रङरोगन र मर्मत गर्न लागिएको बताए ।

प्रमुख जिल्ला अधिकारी हमालले नेपाल र भारतबीच खुला सिमाना भएकाले चोरी निकासीका साथै लागुऔषध दुर्व्यसनीको समस्या विकराल बन्दै गएकाले यसलाई नियन्त्रण गर्न दुवैतर्फका सुरक्षा निकायले चासो दिनुपर्ने बताए। नेपालका तर्फबाट सशस्त्र प्रहरी बल र भारतका तर्फबाट सीमा सुरक्षा बल (एसएसबी) ले सीमाको सुरक्षा गरिरहेको छ ।

जोर नम्बरका सीमास्तम्भलाई भारतले र विजोर नम्बरका सीमास्तम्भ नेपालले मर्मत सम्भार गर्नुपर्ने सम्झौता अनुरुप विजोर नम्बर स्तम्भको रङरोगन तथा मर्मतसम्भार गर्न लागिएको हो । कैलालीमा एक शय एक सीमास्तम्भ रङरोगन तथा मर्मतसम्भार गरिने बताइएको छ ।

सीमास्तम्भ रङरोगन तथा मर्मतसम्भार कार्यमा भारतका तर्फबाट सीमा सुरक्षा बल (एसएसबी) प्रमुख रेक्जिन एन चोक, नेपालका सशस्त्र प्रहरी बल कैलाली प्रमुख दलबहादुर पाण्डे, जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख पदमबहादुर विष्ट, इलाका प्रशासन कार्यालय टीकापुरका कृष्ण थापा, सशस्त्र प्रहरी बल टीकापुरका प्रमुख पूर्णबहादुर चन्दलगायतको उपस्थिति थियो ।

कर्णाली र मोहना नदी कटानले बस्ती कटान गर्दै गएको अवस्था छ । नदीले धार परिवर्तन गरेका कारण यहाँ सीमामा रहेका मुख्य र सहायक स्तम्भ केही नदीमा मिसिएको अवस्था छ ।

प्रकाशित मिति: शुक्रबार, माघ ४, २०८१  १२:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update