Hamro Patra
तीस वर्षमा बगर बन्यो नमूना वनः वनले फेरियो गाउँलेको जीवन

टीकापुर, माघ ४ 
पश्चिम नेपालका पहाडी जिल्लाको मुख्य बजार राजापुर । पहाडी जिल्लाका बासिन्दा नुन, तेल, लत्ता, कपडा, खाद्यान्न, आदि खरिद गर्न हिँडेरै राजापुरसम्म हाट आउँथे । राजापुरमा हाट चम्किएसँगै कर्णाली नदीको वारी रहेको टीकापुरको सत्ती बजार समेत चम्कियो । खाद्यान्न भण्डारका रुपमा परिचित सत्तीमा थरिथरिका ब्यापार शुरु भए । कैलालीमा उत्पादन हुने धान, गहुँ, तोरी, मसुरो, मकैको बजार बढ्दै गयो । सत्ती बजारबाट दश किलोमिटर दक्षिण साविक धनसिंहपुर गाविसको चौगुर्दीमा भन्सार कार्यालय खुल्यो । सीमा क्षेत्रको नजिक, बाक्लिँदै गएको बजारले सत्ती वरपर मान्छेहरुको बस्ती बढ्न थाल्यो ।

सत्तीमा राष्ट्रिय वन हेर्ने रेञ्ज पोष्ट थियो । ३० को दशकमा घना जंगल रहेको कर्णाली नदीको टापु रेञ्ज पोष्ट सरेर धनगढी पुगेपछि दश वर्ष नपुग्दै खण्डहर बन्यो । २०४० सालमा कर्णाली नदीमा आएको भिषण बाढीले उक्त वन बालुवाको बगरमा परिणत भयो । केही पूराना र ठूला सिमलका रुख मात्रै बाँकी रहे । रेञ्ज पोष्ट हट्नु, बस्ती बढ्नुले वन दिन प्रतिदिन नासिँदै गयो । सत्ती बजारबाट सोझै पूर्वतिर राजापुर बजार देखिन थाल्यो । राजापुर र सत्तीलाई कर्णाली नदीले छुट्याएको छ ।

एकातिर सत्ती क्षेत्रमा बढ्दै गएको बस्ती अर्कोतर्फ २०४० सालको बाढीले बगर बनेको पूरानो जंगल । घाँस, दाउरा, घर छाउने खर, फर्निचर आदिको सास्ती भोगेपछि सत्तीका स्थानीय अवकास प्राप्त नायब सुब्बा मोहनबहादुर रावलले कर्णालीको बगरमा वन बनाउने योजना गाउँलेहरुलाई सुनाए । २०४९ भदौ २९ गते गाउँलेहरुको भेला भयो । घाँस, दाउरा पनि हुने र कर्णाली नदीको बाढी बस्तीमा पस्नबाट बचाउन वनमा वृक्षारोपण गर्नुपर्ने सुब्बा रावलको प्रस्ताव सुनेर अधिकांशले रावलको खिल्ली उडाए । नउडाउन पनि किन ?

छेउमै नेपालकै लामो कर्णाली नदी उर्लिरहेको छ । हरेक वर्षायाममा नदीको बालुवा बगरमा थुप्रिन्छ । निकै घना जंगल रहेको क्षेत्र केही वर्षमै उजाड बनेको थियो । पटक पटक गाउँलेले वन जोगाउन गरेका प्रयासहरु विफल हुँदै गएका थिए । ‘गाउँलले पत्याउने कुरै थिएन, मलाई समेत विश्वास लागेको थिएन, यो बगरमा वन बनाउन सकिन्छ भनेर’ वनको तदर्थ समितिका कोषाध्यक्ष मीनबहादुर ठकुल्लाले भने ‘सुब्बा सापले सबैलाई वनको महत्व बुझाए । नदीको कटान रोक्न वन स्थानीयका लागि बरदान बन्ने दाबी गरे । त्यत्ति मात्रै नभएर कच्ची घर छाउन (छाना लगाउन) चाहिने खर समेत भारतीय वनबाट ल्याउनु पर्ने समस्या हट्छ भनेपछि हामी सबै वृक्षारोपण गर्न सहमत भयौं ।’

ठकुल्लाका अनुसार १ शय ५० भन्दा बढी गाउँलेहरुले २०४९ र ०५० सालमा महिना दिनसम्म कर्णाली नदी किनारका विभिन्न जंगलबाट सिसौंका रुखहरु ल्याएर रोप्न शुरु गरे । दुई वर्षसम्म पाँच हजार बढी सिसौं रोपिए । पहिले जंगल पछि बगर भएको कर्णाली किनारमा बिरुवाहरु हुर्किन समय लागेन । ‘रावलकै नेतृत्वमा वनको संरक्षणका लागि साविक नारायणपुर गाविसबाट १० हजार सापटी लिएर चौकीदार राखियो । प्रत्येक घरबाट सदस्यतावाफत् १५ किलो धान वा ७२ रुपैयाँ उठाइयो’ ठकुल्लाले भने ‘वनको महत्व बुझेपछि ४ शय बढी स्थानीयले धान दिएका थिए, त्यही रकमबाट वनको संरक्षण गर्न थालियो ।’

नेपाल सरकारले वन ऐन २०४९ ल्याएर स्थानीयलाई उपभोक्ता मानी सामुदायिक वन उपभोक्ता समूह बनाउने नीति लिएपछि २०५१ साल असोज १३ गते जिल्ला वन कार्यालय कैलालीमा सत्ती कर्णाली सामुदायिक वन उपभोक्ता समूह विविधत दर्ता भयो । कैलालीको पहिलो र नेपालकै दोश्रो सामुदायिक वनका रुपमा दर्ता भएको सत्ती कर्णाली सामुदायिक वनले २०५२ सालमै २ लाख रुपैयाँको खर बिक्री गरेपछि उपभोक्ताका लागि पहिलो रोजाईको वन बन्यो । 

टीकापुर–७ का ६२ वर्षीय कुजुवा चौधरीलाई कच्ची घर छाउन भारतको कतर्निया र दुर्गानगरमा एक हप्तासम्म बास बसेर खर ल्याएको स्मरण ताजै छ । ‘वन नहुँदासम्म म आफै एक हप्तासम्म भारतको कतर्नियाबाट तोरी र चामल दिएर घर छाउने खर ल्याएको हुँ’ कुजुवाले भने ‘वनमा वृक्षारोपण गरेको दुई वर्ष नपुग्दै हामीलाई भारत जान परेन, दाउरा मिल्न थाल्यो, त्यसपछि वनको सदस्य बन्न स्थानीयतहरु तँछाडमछाड गर्न थाले ।’ 

टीकापुर नगरपालिका वडा नं. ६, ७ र ८ मा तीन शय हेक्टरमा फैलिएको सत्ती कर्णाली वन बेतबाँस उत्पादन हुने नेपालकै एक मात्रै वन हो । जंगलमा आफै उम्रिएको बेतबाँसलाई तत्कालीन अध्यक्ष मोहनबहादुर रावलले नर्सरी बनाएर व्यावसायिक रुपमा बेतबाँसको उत्पादन थालेका थिए । १६८ हेक्टर वन क्षेत्रलाई चार भागमा बाँडेर रावलले बेतबाँस उत्पादन शुरु गरेका थिए । २०५१ देखि २०६५ सम्म अध्यक्ष रहेका रावलले उक्त वनलाई स्थानीयको आर्थिक उपार्जन गर्ने माध्यम मात्रै बनाएनन् त्यहाँ उत्पादन भएको बेतबाँस भारतसम्म निकासी गरे ।

हरेक वर्ष वनबाट ५ शय देखि एक हजार क्वीन्टलसम्म बेतबाँस उत्पादन हुँदै आएको छ । ‘वनमा उत्पादन भएको बेतबाँस मध्ये २५ प्रतिशत बेतबाँस मात्रै नेपालमा खपत हुन्छ’ वनका कार्यालय सचिव रहेका ठकुल्लाले भने ‘बाँकी रहेको ७५ प्रतिशत बेतबाँस भारतीय व्यापारीले ठेक्कामार्फत् खरिद गरेर लैजान्छन् ।’ सत्तीमा उत्पादन भएको बेतबाँस भारतको बरेलीमा रहेका बेतबाँस फर्निचर उद्योगहरुमा प्रयोग हुन्छ ।       

वनमा हाल बेतबाँससँगै सागुन, सिसौं, खयर, बकाइनो, निम, सिरिस, भेलोर, जामुन, गुल्लर, सिमल छन् । बेतबाँसले घना भएको वनमा बाघ, निलगाई, चितुवा, बँदेल, खरायो, मृग, मयुर, लाटोकोसेरो, धनेश आदि छन् । नदी किनारको वन हुनाले प्रशस्त अजिंगरहरु छन् । गोमन, करेंत र सुनगोहोरो जस्ता सर्प वनमा प्रशस्त छन् । १ हजार ३ शय ६ जना सदस्य रहेको सामुदायिक वनले यहाँका उपभोक्ताको आर्थिक विकासमा समेत टेवा पुर्याउँदै आएको छ । 

विकास निर्माणमा कोशेढुंगा

तत्कालीन नारायणपुर गाविस भन्दा बढी बजेट हुने सामुदायिक वनले कार्य क्षेत्रभित्र थुप्रै विकास निर्माणका काम गरेको छ । वनबाट भएको आम्दानीले २०५९ देखि नै वनले एम्बुलेन्स सञ्चालन गरिरहेको छ । आफ्ना उपभोक्तालाई सहुलियत र सुत्केरीलाई निःशुल्क सेवा दिइरहेको छ । सत्तीस्थित कर्णाली माध्यमिक विद्यालयलाई १० कठ्ठा जग्गा दिएको वनले टीकापुर–८ सूर्यपुरस्थित राष्ट्रिय आधारभूत विद्यालयलाई पाँच कठ्ठा जग्गा खरिद गरी दिने निर्णय गरेको छ ।

नारायणपुर स्वास्थ्य चौकीको चार कोठे पक्की भवन बनाएको छ भने सत्तीस्थित कर्णाली माध्यमिक विद्यालयलाई उच्च मावि बनाउन ८ लाख अनुदान दिएको छ । विद्यालयको २ कोठे भवन बनाएको छ भने एकजना मावि र एक जना प्रावि शिक्षकलाई पाँच वर्षसम्म तलब खुवाएको छ । सूर्यपुरको विद्यालयलाई दुई कोठे भवन, अरुणाफाँटाको राष्ट्रिय आधारभूत विद्यालयलाई दुई कोठे शौचालय बनाएको छ । वनले टीकापुरस्थित वृद्धाश्रमलाई ४ लाख, सत्तीस्थित भानु पुस्तकालयलाई ४ लाख अनुदान दिएर सञ्चालनमा सहयोग गरेको छ । 

‘वन क्षेत्रभित्र पर्ने गाउँटोलका अधिकांश सडक वनको आम्दानीले हामीले २०६० सालतिरै ग्राभेल गरेका थियौं’ वनका पूर्वअध्यक्ष धनसिंह साउँदले भने ‘यस क्षेत्रमा हुने हरेक विकास निर्माणका काममा सामुदायिक वनको लगानी छ, त्यसैले यो वन हाम्रा लागि बरदान नै हो ।’

टीकापुर–८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाले गाविस भन्दा बढी बजेट भएर वनले थुप्रै उदाहरणीय काम गरेको बताए । ‘नदी कटान रोक्न ४५ लाख रुपैयाँको तटबन्ध निर्माण गरेको छ, ट्याक्टर चलाएर उपभोक्तोको खेत जोत्न, धान, गहुँ थ्रेसिङ्ग गरेको छ’ ठकुल्लाले भने ‘बेतबाँसका फर्निचर बनाउने तालिम हजार भन्दा बढीलाई तालिम प्रदान गरेको छ, त्यसैले यो वन आर्थिक उपार्जनको बलियो श्रोत समेत हो ।’ 

मुख्य आम्दानी बेतबाँस

वनको मुख्य आम्दानीको स्रोत बेतबाँस हो । वनमा बेतबाँसका ४ प्लट छन् । प्रत्येक प्लट चार चार वर्षमा काटिन्छन् । वनबाट उत्पादन भएको बेतबाँस बिक्री नै वनको मुख्य आम्दानीको श्रोत भएको सामुदायिक वनका अध्यक्ष जितराम चौधरीले बताए । ‘वनबाट हामी बेतबाँस उत्पादन गर्छौं, बेतबाँसको बिक्री नै हाम्रो मुख्य आम्दानीको श्रोत हो’ अध्यक्ष चौधरीले भने ‘टेण्डर प्रक्रियाबाट बेतबाँस बिक्री गर्दा राम्रै आम्दानी हुन्छ, यो वर्ष १ करोड ३५ लाखको बजेट बनाएका छौं, त्यही अनुसार काम गरिरहेका छौं ।’

बेतबाँस काट्नका लागि स्थानीय उपभोक्ताहरु परिचालन हुन्छन् । ‘फागुन १५ गतेदेखि बेतबाँस दुई महिनासम्म काटिन्छ । एक महिना सुकाउँछौं । यो सबै गर्न दुई शय बढी उपभोक्ताहरुले काम पाउँछन्’ अध्यक्ष चौधरीले भने ‘बेतका कारण स्थानीय उपभोक्ताले रोजगारी पाउने गरेका छन्, बेतबाँस काटेवापत उपभोक्ताहरुले प्रतिकिलो १० रुपैयाँका दरले पारिश्रमिक पाउँछन् । एकजनाले कम्तीमा प्रत्येक दिन एक हजारदेखि दुई हजार रुपैयाँसम्म कमाउँदै आएका छन् ।’

वनले बेतबाँसका फर्निचर बनाउने उपभोक्तालाई सहुलियतमा बिक्री गर्दै आएको छ । ‘बेतबाँसको माग नेपालका विभिन्न ठाउँमा छ तर पनि हामीले बिक्री गर्न निकै कठिनाई छ’ वनका सदस्य सन्तोष नेपालीले भने ‘जिल्ला भन्दा बाहिर बिक्री गर्दा टेण्डर प्रक्रियाबाट मात्रै गर्नुपर्छ, सानो व्यावसायीले लिन सक्दैनन्, वन मन्त्रालयले बिक्री सहज गरे बेतबाँसको खपत देशभित्रै गर्न सकिन्थ्यो, वन ऐनका कारण हाम्रो बेतबाँस भारतमा गइरहेको छ, हामीले सोचे अनुसार मुल्य पाउन सकेका छैनौं ।’

महिलाका लागि आम्दानीको श्रोत

टीकापुर–७ कि मीना रावल स्थानीय तिलगंगा बेतबाँस फर्निचर उद्योगमा काम गर्छिन् । साँझ विहान घरधन्दा सकेर फर्निचर बनाउने उनी मासिक १५ देखि ३० हजार रुपैयाँसम्म कमाउँछिन् । ‘आफूले जति काम गर्न सक्यो, कमाई त्यति नै हुन्छ’ रावलले भनिन् ‘घरधन्दा गर्ने हामी महिलाका लागि फुर्सदको बेला राम्रो आम्दानी गर्ने माध्यम बेतबाँस बनेको छ ।’ उनलाई सामुदायिक वनले फर्निचर बनाउने तालिम दिएको थियो । 

टीकापुर–७ कै एलिना रोका बेतबाँस उद्योगमा काम गर्न थालेको दुई वर्ष भयो । रोकाका श्रीमान् कामको खोजीमा भारतमा छन् । घर परिवारको खर्च चलाउन बेतबाँस उद्योगले सहज भएको उनले बताइन् । ‘मेरा श्रीमान् कामको खोजीमा भारतमा छन्, बिहान घरको काम गरी छोराछोरीलाई विद्यालय पठाएर म यहाँ काम गर्न आउँछु’ रोकाले भनिन् ‘मैले यहाँ काम गर्न थालेदेखि घर खर्च चलाउन समस्या परेको छैन, उहाँ (श्रीमान्)को कमाई वचत हुने गरेको छ ।’   

रावल र रोका जस्तै मात्रै होइन् तालिम पाएपछि उनीसँग उक्त बेतबाँस फर्निचर उद्योगमा २५ जना महिलाहरु काम गर्दै आइरहेका छन् । उनीहरुका लागि सामुदायिक वन र बेतबाँस वरदान साबित भएको छ । 

विदेशबाट फर्केर बेतबाँस उद्योग सञ्चालन

वैदेशिक रोजगारीबाट फर्केका कञ्चनपुरको पुनर्वास नगरपालिकाका भरतलाल विश्वकर्माले सामुदायिक वन नजिकै सत्तीमा तिलगंगा बेतबाँस फर्निचर उद्योग सञ्चालन गरेर ३५ जनालाई रोजगारी दिएका छन् । विश्वकर्माले वनबाट सजिलै बेतबाँस पाइने भएपछि पाँच वर्षअघि सत्तीमै उद्योग खोलेका हुन् । 

उनको उद्योगमा स्थानीय ३५ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । उनीहरूले प्रतिव्यक्ति मासिक १५ देखि ३५ हजार रूपैयाँसम्म कमाउने गरेका छन् । विश्वकर्मा रोजगारीका क्रममा नौ वर्ष मलेसिया र पाँच वर्ष भारतको कलकत्तामा बसे । त्यहाँ उनले बेतबाँस उद्योगमा काम गरे । जहाँ उनले बेतबाँसका सामग्री बनाउन सिके । पैसा र सिप दुबै सिकेर फर्किएका विश्वकर्माले बेतबाँस उद्योग सञ्चालन गर्न टीकापुर पुगे । 

उनले १० लाख रूपैयाँ लगानी गरेर उद्योग सञ्चालन गरे । अहिले उनी वार्षिक ३० लाख रूपैयाँसम्मको बेतबाँसका सामग्री बिक्री गर्छन् । उनले सोफा, कुर्सी, टेवल, ह्यांगर, मुडा, फूलदानी, चुरा स्टेन्ड, फोटो फ्रेम लगायतका सामग्री उत्पादन गर्छन् । उनलाई सुरुमा सामग्री बेच्न गाह्रो भए पनि अहिले कुनै समस्या छैन । ‘शुरुमा केही समस्या थियो तर अहिले त कुनै समस्या छैन’ विश्वकर्माले भने, ‘कहिलेकाहिँ अर्डर अनुसार सामान दिन सकिँदैन ।’ 

उनको सामान काठमाडौं, पोखरा, नारायणगढ, बुटवल, दाङ, नेपालगञ्ज, धनगढी लगायतका ठाउँमा बढी बिक्री भइरहेको छ । उनलाई त्यहाँका ब्यापारीहरूले फोनमार्फत अर्डर गर्छन् । उनी ब्यापारीले अर्डर गरे अनुसारको सामान तयार पारेर पठाउँछन् । ‘हामी बेच्न कतै जाँदैनौं । कोही उद्योगमै आयो भने बेच्छौं’ विश्वकर्माले भने ‘कसैले मन परायो भने बेच्दैन भन्न पनि मिलेन ।’

पछिल्लो समय बेतबाँसका सामग्री प्रयोगमा धेरैको रुचि बढेको पाइन्छ। धेरैजसोले घरमा बेतबाँसका सामग्री प्रयोग गर्दा स्वास्थ्यका दृष्टिकोणले पनि राम्रो हुने बताउने गरेका छन् । स्वास्थ्यका दृष्टिकोणले मात्रै नभई बेतबाँसका सामान घरमा राख्दा शुभ मानिने स्थानीय जंगबहादर ठकुल्ला बताउँछन् । ‘बेतबाँस स्वास्थ्यका दृष्टिकोणले समेत राम्रो मानिनुका साथै शुभ मानिने भएकाले यसको सामान राख्ने चलन बढेको छ’ ठकुल्लाले भने ।

विश्वकर्माका अनुसार अहिलेको उत्पादनले बजारको मागलाई धान्न कठिनाइ भैरहेको छ । उनी उद्योग विस्तार गर्ने सोचमा छन् । त्यसका लागि कच्चा पदार्थको अभाव हुन्छ कि भन्ने चिन्ता पनि छ । सामुदायिक वनले हरेक वर्ष ६ शयदेखि एक हजार क्विन्टलसम्म बेतबाँस उत्पादन गर्छ । जसमध्ये तीन शय क्विन्टल मात्रै विश्वकर्माको उद्योगले खपत गर्छ । 

सामुदायिक वनले टेन्डर मार्फत बेतबाँस बिक्री गर्छ । टेन्डर गर्दा बाहिरका व्यापारीले किन्ने गरेका छन् । खासगरी भारतीय व्यापारीले अप्रत्यक्ष लगानी गरेर बेतबाँस खरिद गरेर लैजाने गरेका छन् । ‘हामीसँग सबै बेत किनेर राख्ने क्षमता छैन’ उनले भने, ‘बाहिरका व्यापारीले किनेर लगेपछि हामीलाई अभाव हुन्छ ।’

कति छन् देशभर सामुदायिक वन ?

सामुदायिक वन उपभोक्ता महासंघ नेपाल (फेकोफन) का अनुसार देशभर २३ हजार २६ सामुदायिक वन उपभोक्ता समुह छन् । २४ लाख २५ हजार २९३ हेक्टर क्षेत्रफलमा सामुदायिक वन फैलिएको छ । वनमा ३१ लाख ९५ हजार ३२३ घरधुरी आबद्ध छन् भने १ करोड ६० लाख बढी सामुदायिक वनका उपभोक्ताहरु छन् ।   

कर्णाली किनारको बगरलाई उपभोक्ता समूहले तीस वर्ष नपुग्दै हरियाली मात्रै बनाएनन्, त्यहाँका उपभोक्ताहरुको आम्दानीको श्रोत समेत बनाए । विकास निर्माणका कामको साझेदार बनाएर समाज रुपान्तरणमा महत्वपूर्ण योगदान पुर्याई रहेको महासंघ नेपाल (फेकोफन) का अध्यक्ष ठाकुर भण्डारीले बताए ।

‘सामुदायिक वनले आर्थिक, सामाजिक, वातावरणीय र समाज रुपान्तरणका पक्षमा महत्वपूर्ण कामहरु गर्दै आइरहेका छन्’ अध्यक्ष भण्डारीले भने ‘उपभोक्ताको आर्थिक स्थिति सुधार्न तालिम सञ्चालन, व्यवसाय प्रबद्र्धन गरिरहेका छन्, सामाजिक क्षेत्रमा विद्यालय, स्वास्थ्य चौकी बनाइ रहेका छन् । जलवायु परिवर्तनका असरहरु रोक्न सामुदायिक वनले कार्बन उत्सर्जनदेखि पानीका मुहान रिचार्ज गर्नेसम्मका काम गरेका छन् भने समाज रुपान्तरणका पक्षमा वास्तविक समाजवाद नै वनले लागु गरेर काम गरिरहेको छ ।’ अध्यक्ष भण्डारीले सामुदायिक वनले दीगो विकासका लक्ष्य मध्ये १६ वटै लक्ष्यमा काम गरिरहेको दाबी गरे । 

वनले पर्यटकीय गन्तव्यका रुपमा समेत सामुदायिक वनलाई विकास गर्ने योजना बनाई रहेको छ । कर्णाली नदीको किनार भएकाले र्याफ्टिङ्ग सञ्चालन गर्न सकिन्छ । वनभित्र भ्युटावर निर्माण गरिएको छ । वनकै छेउमा परशुराम कुण्ड छ । मन्दिर तथा पिकनिक स्पट निर्माण गरिएको छ । नदी किनारमा विश्वमै दुर्लभ मानिने डल्फिन हेर्न सकिन्छ । वनका पूर्व सचिव मणिराम ढुंगानाले भने ‘नेपालमै बेतबाँस पाइने एकमात्रै वन, अजिङ्गर प्रशस्त पाइने, कर्णाली नदी किनारमा बसेर डल्फिन हेर्न सकिने हुनाले पनि यसलाई पर्यटनसँग जोड्ने प्रयास भइरहेको छ ।’ 

कर्णाली किनारको बगरलाई उपभोक्ता समूहले तीस वर्ष नपुग्दै हरियाली मात्रै बनाएनन्, त्यहाँका उपभोक्ताहरुको आम्दानीको श्रोत समेत बनाए । विकास निर्माणका कामको साझेदार समेत बनाए । सत्ती कर्णाली सामुदायिक वन अधिकांश वन संरक्षणकर्मीका लागि नमूना वन बनेको छ । वर्षेनी देशका विभिन्न भागबाट सामुदायिक वनमा भ्रमण गर्न आउने गरेका छन् । 

प्रकाशित मिति: शुक्रबार, माघ ४, २०८१  १२:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update