Hamro Patra
स्थानीयद्वारा ढुंगा बालुवा बोकेका टिप्पर सञ्चालनमा रोक

योगेश रावल
टीकापुर, फागुन २८
टीकापुर नगरपालिका–२ राजीपुरका बासिन्दाले टिप्पर सञ्चालनमा रोक लगाएका छन । उनीहरुले कर्णाली नदीबाट ढुंगा बालुवा बोकेर आएका टिप्परले सडक भत्काएको भन्दै सञ्चालनमा रोक लगाएका हुन ।

टिप्पर सञ्चालनमा आएपछि आँखा अस्पतालदेखी मिलनचोकसम्मको करिव डेढ किलोमिटर कालोपत्रे सडक धेरै ठाउँमा भत्किएको छ । सडकका दर्जन बढी ठाउँमा ठूल्ठूला खाल्डा परेका छन । स्थानीयका अनुसार सडक भत्किएपछि हिँडडुल गर्न समेत निकै समस्या भैरहेको छ । ‘६ महिना अघि कालोपत्रे गरिएको सडक समेत भत्किएको छ’ स्थानीय सिद्ध ठकुल्लाले भने–‘वर्षौदेखीको हारगुहार पछि कालोपत्रे गरिएको सडक भत्किएपछि स्थानीय आक्रोशित बनेका हुन ।’

स्थानीयले कालोपत्रे सडक भत्किनुका साथै ढुंगा बालुवा बोकेका टिप्पर तिब्र गतिमा गुड्दा दुर्घटना हुने जोखिम समेत उत्तिकै रहेको बताए । ठकुल्लाले भने–‘एकातिर सडक भत्कियो अकोतिर साँघुरो बाटोमा टिप्पर तिब्र गतिमा कुद्छन । कुनै दुर्घटना नहोस् भनेर विरोधमा उत्रियौं ।’

Khadga Memorial And Janajagriti

स्थानीय बासिन्दा टिप्पर सञ्चालनमा रोक लगाउन विरोधमा उत्रिएका छन । उनीहरुले सडकमा ढुंगा थुपारेर टिप्पर सञ्चालन नगर्न चेतावनी दिएका छन । स्थानीयको चेतावनी पछि हाल ढुंगा बालुवा बोकेका टिप्पर मिलनचोकबाट सीतापुरसम्मको कच्ची सडकहुँदै गन्तव्यतर्फ गैरहेका छन । आँखा अस्पतालको सडकमा स्थानीयको अवरोध पछि टिप्पर घुमाउरो बाटो हिड्नुपर्ने वाध्यता छ । ‘अहिले वैकल्पिक बाटो प्रयोग गरिरहेका छौं’ टिप्पर सञ्चालक गोरख रावलले भने–‘यो बाटो निकै घुमाउरो छ ।’

टिप्पर सञ्चालकले रोजेको वैकल्पिक बाटो समेत निकै जोखिमपूर्ण छ । सो बाटोमा यसैवर्ष मात्रै ग्राभेल बिछ्याईएको हो । ढुंगा बालुवा बोकेका टिप्परले भरखरै ग्राभेल बिछ्याईएको सो सडक समेत भत्किने खतरा छ । जसका कारण ढुंगा बालुवा बोकेको टिप्पर फस्न सक्ने त्रास रहेको रावलले बताए । ‘वैकल्पिक बाटो त्यत्ति भरपर्दो छैन’ उनले भने–‘कुनबेला दुर्घटना हुने हो थाहा छैन ।’

सो बाटोमा समेत स्थानीयले टिप्पर सञ्चालनको विरोध सुरु गरिसकेका छन । उनीहरुले ग्राभेल बाटो भत्किनुका साथै टिप्परले धुलो उडाएको भन्दै विरोध सुरु गरेका छन । सो ठाउँका स्थानीयले समेत टिप्पर सञ्चालनमा रोक लगाउने हो भने वैकल्पिक बाटो समेत टप्प हुने देखिन्छ । जसका कारण ढुंगा बालुवा ढुवानीमा निकै समस्या हुने बताईन्छ ।

स्थानीयले ढुंगा बालुवा बोकेका टिप्पर सञ्चालनमा रोक लगाएपछि नगरपालिकालाई दवाव परेको छ । एकातिर टिप्पर सञ्चालन सुचारु गर्दा सडक भत्किने र अर्कोतिर रोक लगाउँदा ढुंगा बालुवा ढुवानी ठप्प हुने समस्याले नगरपालिका दवावमा परेको हो । वडाध्यक्ष प्रकाश बुढाले समस्या समाधानका लागि पहल थाल्ने बताए । उनले दुवै पक्षलाई सहज हुने ढंगले विकल्प खोजिने जानकारी दिए । ‘वडा कार्यालयले मध्यस्थता गर्छ’ उनले भने–‘दुवै पक्षलाई चित्त बुझ्ने गरी सहमतिको प्रयास हुन्छ ।’

कर्णाली नदीस्थित सनकट्टीघाटबाट दिनहुँ सयौंको संख्यामा टिप्पर र ट्याक्टरले टीकापुर बजारतर्फ ढुंगा बालुवा ओसार्छन । ती टिप्पर र ट्याक्टरको अन्य वैकल्पिक हिड्ने बाटो छैन ।

नगरपालिकाले हरेक वर्ष सनकट्टीघाट लगायतका ठाउँबाट ढुंगा बालुवा संकलनका लागि ठेक्का दिने गरेको छ । यसरी संकलन भएको ढुंगा बालुवा विभिन्न विकास निर्माणका काममा प्रयोग हुने गरेको छ । ढुंगा बालुवा संकलनमा हुने अवरोधले विकास निर्माणका काममा समेत प्रभाव पर्ने सरोकारवालाको भनाई छ ।

प्रकाशित मिति: बुधबार, फागुन २८, २०७६  १९:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update