
टीकापुर, पौष २८
नेपाल तरुण दल क्षेत्र नं. १ कैलालीको आयोजनामा आज टीकापुरमा माघी मिलन तथा तरुण प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कैलालीका पाँचवटै क्षेत्रका तरुण युवाहरुको सहभागितामा माघी मिलन तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमलाई प्रमुख अतिथिको आशनबाट सम्बोधन गर्दै सुदूरपश्चिम प्रदेश सभाका सदस्य एवं पूर्वमन्त्री प्रकाश देउवाले आगामी २०८४ को चुनावलाई लक्षित गरी तरुणहरुलाई संगठन निर्माणमा लाग्न आग्रह गरे ।
‘तरुण दल बलियो भयो भने मात्रै पार्टी बलियो हुन्छ, पार्टीले आउने निर्वाचन एकल लड्ने निर्णय नै गरिसकेकाले २०८४ को चुनावलाई लक्षित गर्दै संगठन विस्तारमा लाग्न तरुणहरुलाई आग्रह गर्दछु’ पूर्वमन्त्री समेत रहेका देउवाले भने ‘तरुण दल मात्रै होइन, नेविसंघ, महिला संघ, पार्टीका सबै साथीहरु चुनाव लक्षित भएर लाग्न जरुरी छ ।’
प्रदेश सभा सदस्य देउवाले युवाहरुमा विदेश जाने परिपार्टी नै बसिरहेका बेला काँग्रेसलाई बहुमत दिएर एकल सरकार निर्माण गरे मात्रै युवाहरु विदेशिन क्रम रोकिने जिकिर गरे ।
‘युवाहरुमा विदेश जाने परिपार्टी नै बनेको छ, काँग्रेसलाई बहुमत दिएर युवाको मुद्दाहरु सम्बोधन गर्नका लागि समेत काँग्रेसको सरकार बन्नु आवश्यक छ’ पूर्वमन्त्री देउवाले भने ‘पार्टी संगठन सुदृढिकरणका लागि १०० दिने अभियान अन्तर्गत हामीले पार्टीका पूराना नेताहरुलाई सक्रिय बनाउने गरी कार्यक्रमहरु अघि बढेका छन्, यसमा तरुणहरु लागे पार्टी बलियो हुनेछ, पार्टी बलियो भए स्थानीय तह, प्रदेश र संघ बलियो हुनेछ ।’
तरुण दलका क्षेत्रीय सभापति कल्पेश कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस कैलाली क्षेत्र नं. १ का सभापति प्रकाश शाह, तरुण दलका केन्द्रिय सदस्य अृमत बिसी, नेविसंघ कैलालीका अध्यक्ष मनिष कुँवर, तरुण दल टीकापुर नगरका अध्यक्ष किरण कडायत लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन क्षेत्रीय सचिव अनिल चौधरीले गरेका थिए ।