Hamro Patra
युवाहरुमा नकारात्मक भावना बढ्दै जानु चिन्ताको विषयः प्रदेश सभा सदस्य देउवा

टीकापुर, पौष २८
सुदूरपश्चिम प्रदेश सभाका सदस्य प्रकाश देउवाले युवाहरुमा नकारात्मक भावना बढ्दै जानु चिन्ताको विषय भएको बताएका छन् । टीकापुर जेसिजको २८औं पद हस्तान्तरण तथा पुरस्कार वितरण समारोहमा प्रमुख अतिथिको आशनबाट बोल्दै पूर्व मन्त्री समेत रहेका देउवाले सो कुरा बताएका हुन् । 

‘पछिल्लो समय युवाहरुमा नकारात्मक प्रभाव बढ्दै गएको विषय निकै चिन्ताको विषय हो’ देउवाले भने ‘युवाहरुमा सकारात्मक सोंचको विकास गरी स्वदेशमै उद्यमशील बनाउनेतर्फ तपाई हामी सबै लाग्न जरुरी छ । यसका लागि युवाहरुसँग प्रदेश सरकार सधैं सकारात्मक रहनेछ ।’

देउवाले तीनै तहका सरकारहरुले युवा लक्षित कार्यक्रमहरु सञ्चालन गर्दै आएको भए पनि त्यसको लक्ष्य भने प्राप्त हुन नसकेको बताए । ‘स्थानीय, प्रदेश र संघीय सरकारले युवा लक्षित कार्यक्रमहरु गर्दै आइरहेका छन्‌’ देउवाले भने ‘तर ती कार्यक्रमका लक्ष्यहरु प्राप्त हुन सकेको छैनन्, युवाहरुमा बेरोजगारी बढ्दो छ, त्यसका कारण पनि कतिपय युवाहरु लागुऔषधको दुव्यर्सनीमा फसेका छन्, यो चिन्ताको विषय हो, यसमा जेसिजले युवा लक्षित नयाँ कार्यक्रमहरु गर्नुपर्छ, त्यसका लागि प्रदेश सरकार सहयोग गर्न तयार छ ।’

टीकापुर जेसिज २०२४ का अध्यक्ष रुपकबहादुर विष्टको अध्यक्षतामा शुरु भएको कार्यक्रममा टीकापुर जेसिजका संस्थापक अध्यक्ष प्रा.डा.जगतबहादुर सिंह रावल, सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार डाक्टर जितेन्द्र उपाध्याय, नेपाल जेसिजका निरुपित राष्ट्रिय कार्यकारी उपाध्यक्ष सौरभ श्रेष्ठ, निरुपित राष्ट्रिय उपाध्यक्ष धनराज कँडेल, टीकापुर जेसिजका पूर्वअध्यक्ष रामबहादुर भण्डारी, निर्वाचन अधिकृत एवं पूर्व अध्यक्ष लक्ष्मण थापा लगायतले शुभकामना मन्तव्य राखेका थिए । 

टीकापुर जेसिजले वर्ष २०२५ का लागि भरत भण्डारीको अध्यक्षतामा कार्यसमिति चयन गरेको थियो । सो निवर्तमान अध्यक्ष रुपकबहादुर विष्टले नवनिर्वाचित अध्यक्ष भण्डारीलाई जेसिज माला तथ पद हस्तान्तरण गरेका हुन् ।

प्रकाशित मिति: आइतबार, पुस २८, २०८१  १८:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update