Hamro Patra
वेदना

मानिसको मनमा हरेक किसिमका वेदना आइरहन्छन् । हुन त मानिस आशा, भरोसा, माया, ममता, इच्छा, चाहना, सोख, रोग, मिलन, विछोड, हाँसो, रोदन, सम्भावना सहितको बेदनाको भण्डारण हो । हुने खाने मानिसहरू मध्यम वर्ग भन्दा गरिबीको चपेटामा रहेर जीवन निर्वाह गरिरहेका मानिसहरुमा वेदना असंख्य हुन्छन् । अभाव, दबाव, प्रभाव, आर्थिक चपेटा, सामाजिक विभेद, इच्छा, चाहाना पारिवारिक व्यवस्थापन, शिक्षा, दिक्षा लालनपालन, घर परिवार व्यवस्थापन, सामाजिक संस्कार, लुगाफाटोको जोहो भविष्यको चिन्ताले मानिसका मनको वेदना उर्लिरहेका हुन्छन् ।

के काम गर्ने होला ? के खाने होला ? के लगाउने होला ? कसरी बालबालिकाको शिक्षा, दिक्षा, लालनपालन गर्ने होला ? आमा बाको स्याहार, सुसार कसरी गर्ने, सामाजिक, क्रियाकलापमा कसरी सहभागी हुने होला ? गन्तब्यमा कसरी पुगिएला ? दाजुभाई, समाजसरह कसरी रहने भन्ने वेदना मनमा खेलिरहेका हुन्छन् । अभाव गरिबी र पछौटेपनले हाम्रो जीवनलाई निकै पछाडि धकेली रहेको हुन्छ । जीवन यापनका लागि चाहिने आवश्यक र अति आवश्यक सबै वस्तु जुटाउन गरिब, विपन्न परिवारका मानिसहरुका लागि अति नै कठिन हुन्छ । आवश्यक वस्तुहरुको जोहो हुन नसकेपछि घर परिवारमा हुने अभावको समस्याले मनमा झन बेदनाले सताइरहेको हुन्छ । 

लाउखाउ भन्ने उमेर सजीसजावट हुने जवानीले उचित स्याहार सम्भार नपाउँदा मन झनै बेदनाकृत हुन्छ । संगैका साथीभाइहरुको लबाई खुबाई देख्दा आफ्ना परिवारका सदस्यलाई सामान्य एकसरो लुगा र एक छाक खाना खुवाउन हम्मे हम्मे भइरहेको अवस्थामा मन चिन्ताले भरिँदै मुटु छियाछिया भइरहेको हुन्छ । च्यातिएको लुगामा घरेलु हाते सिलाई गरेर लगाउनको लागि धागोसम्मको पनि व्यवस्था गर्न नसकिने अवस्था रहेको हुन्छ । यो धागोसम्म नपाउने अवस्थालाई मनमा केलाउँदै गर्दा मनको वह र वेदनाले पिरोली रहेको हुन्छ । कहिले पाइएला पेटभरि खान ? शरीरभरि लगाउन ? भन्ने चिन्तनले मन जलिरहेको हुन्छ । 

आँशु र पसिनासँगै जीवन चलिरहेको हुन्छ । आँशुले मन हलुका बनाउँछ मनको पिडा बिर्साउन सहायता प्रदान गरिरहन्छ, दुःख लुकाउन आत्तिएको मन बुझाउन इच्छा, चाहना, हाँसो, रोदन, मिलन, विछोड भरभरोसा अपुग आवश्यकतालाई बिर्साउन सहयोग गरी मनको वेदनालाई सान्त्वना दिइरहेको हुन्छ । 

आँशु र पसिनाको आफ्नै सम्बन्ध छ । जीवनयापन र आफूले आफ्नो घर, परिवारको छाक, गुजाराका लागि पिठ्युमा दिनहुँ जस्तो आफ्नो होस् या अरुको भारी नबोकी नहुने जीवन छ । अनि पसिनाले भिजिरहेको तात्तिरहेको शरीरलाई आनन्दित गराउँदै आफ्नै ताल र सुरमा बगिरहेका हुन्छन् । जब पसिना छुट्छ शरीरले आफूलाई अप्ठेरो महशुस गरिरहेको हुन्छ । आँखाले गन्तव्य हेरिरहेका हुन्छन् भने पाउले पार गरिरहेको हुन्छ । आँशु, पसिनाको र पसिना आँशुको सहयात्री भैदिन्छन् अनि वेदनाले सान्त्वना महशुस गरेका हुन्छन् ।

हाँस्ने, खेल्ने, रमाउने, लाउने, घुमफेर गर्ने उमेरमा पिडै पिडा अभाव, दबाव, प्रभाव लगायतका समस्याले जीवन मरणको दोसाधँमा रहेको जीवनका अनेकौं वेदनाले खिन्नताको जीवन जिउन बाध्य हुन्छ । मानिस जोखिम भन्दा जोखिम, कठिन भन्दा कठिन जीवन संघर्ष गरी प्राण सुरक्षा रातदिन तल्लीन भएको हुन्छ । 

गरिबलाई कहाँ सहज छ र ? जिवन निर्वाह गर्न बास भए गाँस छैन, गाँस भए बास नहुने अवस्था हुन्छ । लाँउखाँउ भन्ने, रमाउने र कमाउने समयमा अभाव, प्रभाव र दबाबले मन मस्तिष्क थिलाथिला बनाई दिएको हुन्छ । साथी र अन्य परिवारमा  खुशीयाली रमाइलो दशैं, तिहार, चाडपर्व बनाई रहँदा आफ्नो घरमा रुवाबासी चलिरहेको हुन्थ्यो । घर परिवारका सदस्य बालबालिका केटाकेटीहरुलाई सामान्य खाना खुवाउन समेत धौ धौ परिरहेको हुन्छ । राम्रो लुगा लगाउने त के कुरा भयो र फाटेको लुगा सिलाउन सियो धागो पाउन समेत कठिन अवस्था बनेको हुन्छ अनि झन बेदनाले मुटु हल्लाई रहेको हुन्छ । सँगै बासस्थान भएका एकै टोल छिमेक र रुम्टामा रहेका दाजुभाईहरुका केटाकेटी विद्यालय अध्ययन गर्न गइरहेका हुन्छन् । रंगीन लुगाहरु लगाएर काँधमा झोला भिरेर जान्छन् तर आफ्‌ना बच्चाका लागि विद्यालय त स्वर्गझैं हुन्छ । मन खिन्न बनेर कठोर बन्दै गइरहेको हुन्छ । आशा भरोसाका सबै सपना चकनाचुर हुन्छन् मनका गह भरिएको गाग्रो भरिएसरी हुँदै उदेक लाग्दो जिन्दगी हुन्छ । अनि वेदनाका लहरले लहरो तानिरहेका हुन्छन् ।

समय आफ्नै गतिमा घर्किँदै जाँदैछ । जीवन सञ्चालनमा कुनै परिर्वतन हुँदैन आफ्नो अवस्था कमजोर हुँदै उमेर घर्किँदै जान्छ । शारीरिक, मानसिक, आर्थिक अवस्था झनझन कमजोर हुँदै जान्छ । घर परिवारको चिन्ताले पिरोल्छ । वेदनाको कुरै भएन मन, वचन कर्म मानसिकता बेचैन हुन्छ । चिन्ताले रोग, भोग सहन बाध्य गराउँछ । इच्छा, चाहना, सपना सबै मरेर जान्छन् अनि मानिस ज्यानको आहुति दिन तयार हुन्छ । सुख, शान्ति, समृद्धि हाँसिल गर्न सफल भएको खोज्ने जीवनले अनेक पिडा, अभाव, दुःख कष्टले हारेको हुन्छ । सामाजिक अपहेलना सहन नसकि मुटु च्यातेको हुन्छ । कष्टले भरिएको मुटु छियाछिया बनेर भक्कानिँदै फुट्न तयार भएको पाकेको टमाटर जस्तो हुन्छ । आखिर के का लागि हुँदोरहेछ ।

गरिबीले मानिसलाई अनेक किसिमका समस्या उपहार हुने गर्दा रहेछन् । जती मेहेनत गरे पनि केही नहुने छिनछिनमा नौला नौला आश्चर्य चकित अभाव र आरोपले मरेतुल्ले अवस्थामा लैजाने हुन्छ । विधिको बिडम्वना भन्ने हो भने कसलाई धन, सम्पत्ति, सुख, सयलले उन्मात गराई रहेको हुन्छ । कसैलाई एकछाक टार्न ठूलो संघर्ष हुने । जीवन निर्वाह गर्न लाखौंलाख चुनौतीको सामना गर्दै मन, मुटु समुद्र भरिए जस्तो हुँदै वेदनाले छाल हानिरहेका हुन्छन् । अभावले गर्दा मानिस जिउनु भन्दा प्राण त्यागको अन्तीम घडीको पर्खाइमा रहेको हुँदोरहेछ । शिक्षा, दिक्षा हुने त कुरै भएन काम गर्दा, खेती लगाउँदा, पशुपालन गर्दा, रात दिन नभनी पसिना चुहाए पनि कहिले प्रतिफल प्राप्ति हुने निश्चित नहुने रहेछ । अनपढले जागिर रोजगारीको अवसर प्राप्त हुने सम्भावना नै रहेको हुँदैन । सम्भावना केवल कथा, व्यथा र दुःख अभावको समस्या झेल्नुको मात्र हो ।

जीवनमा परिवर्तनहरूको हुटहुटी चलिरहन्छ । इच्छा, चाहना, कल्पनामा सीमित हुन्छन् । सोच्दा सोच्दै नसोचेको परिस्थिति निर्माण भइदिन्छ । राम्रो गरौंला भन्दा नराम्रो हुने, एक काम गरौंला भन्दा अनेक अबरोध, बाधा, अड्चन आउने गर्न खोजेको काम हुँदैन । आँटेको नहुने एक न एक समस्या नआएको समय हुँदैन । समयले हो या भाग्यले साथ नदिए पछि । या त ग्रहले साथ नदिएको हो भन्न नसकिने बेदनाको चाङ्ग लागेको हुन्छ । मनमा अस्थिरताले सेकेण्ड सेकेण्ड दिमाखलाई हलचल गराई रहेको हुन्छ । मानिस सबै प्रकारका प्राणीमध्ये एक सर्वश्रेष्ठ हो । चेतनशीलमा अति चेतनशील प्राणी हो ।

सबै किसिमको सम्वेदना भएको बोली, व्यवहार, रहनसहन, लालनपालन, काम, कर्तव्य अधिकार सबै सुनिचित गर्न सक्ने क्षमता हुन्छ । आफूलाई चाहिने सबैखाले चिजवस्तु तथा पर्यावरणको संरक्षण सम्बद्र्धन गर्न सक्दछ । तर मानिसलाई अशिक्षा, गरिबी, पछौटेपन, भौगोलिकता, बेरोजगारी आदिले अनेक प्रकारका समस्या चुनौति परिरहेका हुन्छन् । समाधान गर्ने उपाय पहिल्याउन नसक्दा अथवा समय परस्थिति अभाब, दबाव, प्रभाव र गरिबीले वेदनाको सागर बगाइरहेको हुन्छ । मानिसको जीवन त केबल घामछाँया जस्तो रहेछ । जन्मदेखि मृत्यु पर्यत्न मात्र सिकाइको खानी रहेछ । कहिले नसकिने शिक्षालयको विद्यार्थी रहेछ । वेदनाको सम्वाहक रहेछ ।

लेखक नेपाल प्रेस युनियन अछामका अध्यक्ष हुन् । 

प्रकाशित मिति: शनिबार, पुस २७, २०८१  २१:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update