Hamro Patra
कुईने पुलको काम तिब्र

योगेश रावल
टीकापुर, फागुन २३
कर्णाली नदीको कुईनेमा गतवर्षदेखी निर्माण सुरु भएको पुलको काम तिब्र गतिमा भैरहेको छ । ‘मल्टी स्पान आर्क’ डिजाइनमा निर्माण भैरहेको पुलको काम करिव ६० प्रतिशत सम्पन्न भैसकेको निर्माण कम्पनी अनक÷लुम्बिनी जेभीले जनाएको छ ।

कम्पनीका प्रतिनिधि रविन चौधरीले पुल निर्माणको काम थप भएको म्याद अर्थात् २०७८ असार मसान्त भित्र सम्पन्न हुने बताए । पुलको पश्चिमतर्फको ‘राइट एबाउटमेन्ट’ निर्माण भैरहेको छ । यो आगामी २÷३ महिना भित्र निर्माण भैसक्ने चौधरीले बताए । पुलको पूर्वतर्फको ‘राइट एबाउटमेन्ट’ र दुईवटा पिल्लर निर्माण भैसकेका छन । उनले एक महिना भित्र पुलको पूर्वतर्फको भागमा ढलानको काम सम्पन्न हुने जानकारी दिए । ‘यही गतिमा काम भयो भने हामी निर्धारित समयमा सक्छौं’ उनले भने–‘अहिले पुल निर्माणको काममा कुनै अवरोध छैन ।’

यो पुल निर्माणको काम ढिलो गरी सुरु भएको हो । २०७२ मा ठेक्का सम्झौता भएपनि २०७५ को अन्त्यतिर मात्रै पुल निर्माणको काम सुरु भएको थियो । सुरुमा ठेक्का सम्झौता हुँदा पुल निर्माणको काम २०७६ असार मसान्त भित्र सक्नुपर्ने थियो । तर पुलको डिजाइन निर्माणमा झण्डै दुई वर्ष बितेपछि पुल निर्माणको काम समयमा सुरु हुन नसकेको निर्माण पक्षको भनाई छ ।

Khadga Memorial And Janajagriti

डिजाइन निर्माणमा ढिलाई भएपछि पुल निर्माणको म्याद २०७८ असार मसान्तसम्म थप गरिएको हो । करिव ३५ करोड लागतमा निर्माण हुने यो पुल नयाँ प्रविधि अन्र्तगत निर्माण भैरहेको निर्माण पक्षले जानकारी दिएको छ । नेपालमा दुईवटा पिल्लरमा अडिएको ‘मल्टी स्पान आर्क’ पुल यो नै पहिलो भएको चौधरीले बताए ।

यो पुल निर्माणको कामलाई निकै महत्वका साथ हेरिएको छ । पुल निर्माणसँगै पूर्वपश्चिम राजमार्ग कर्णाली राजमार्गसँग छोटो दूरीमा जोडिने छ । पूर्वपश्चिम राजमार्ग कैलालीको चिसापानीबाट कुईने, सुर्खेतको बाबियाचौर हुँदै बड्डिचौरमा पुगेर कर्णाली राजमार्गसँग जोडिनेछ । यो साविक सुदूर र मध्यपश्चिमका पहाडी जिल्लाका बासिन्दाले दशकौंअघि पैदल यात्रा गरेको परम्परागत बाटो हो ।

यो पुल निर्माणसँगै साविक सुदूर र मध्यपश्चिमका सुर्खेत, कालिकोट, दैलेख, जुम्ला, हुम्ला, डोल्पा, मुगु, बाजुरा, अछाम लगायतका जिल्लाका बासिन्दाले छोटो दूरीको यात्रा गर्न पाउने भएका छन । उनीहरु हाल तराई झर्दा सुर्खेत–कोहलपुर–चिसापानी वा डोटी–डडेल्धुरा–अत्तरीयाको घुमाउरो बाटो प्रयोग गर्न वाध्य छन ।

यो पुल निर्माण पछि सुर्खेतको बड्डीचौरहुँदै –कोहलपुर–चिसापानीसम्मको करिव २ सय किलोमिटर सडक यात्रा ५२ किलोमिटरमा खुम्चिनेछ । जुन पूर्वपश्चिम राजमार्गको कैलालीको चिसापानीबाट कुइनेहुँदै सुर्खेतको बड्डीचौरसम्म हो ।

‘घुमाउरो बाटो हिड्नु पर्ने वाध्यता अन्त्य हुनेछ’ स्थानीय लक्ष्मण थापाले भने–‘पहाडी जिल्लाका बासिन्दालाई निकै राहत हुने देखिन्छ ।’

सुर्खेतको पश्चिमी क्षेत्रका बासिन्दा किनमेल गर्न कैलालीको चिसापानी लगायतका बजार पुग्नुपर्ने वाध्यता छ । उनीहरुलाई सदरमुकाम बिरेन्द्रनगर भन्दा कैलालीको चिसापानी भौगोलिक रुपमा नजिक छ । नदीमा पुल नभएका उनीहरुलाई ओहोरदोहोरमा निकै समस्या हुने गरेको छ । पुल बनेपछि उनीहरु सहजै कैलालीको चिसापानी लगायतका ठाउँमा पुग्न सक्ने मोहन्याल गाउँपालिका–७ कुईनेका धर्मेन्द्र माझीले बताए ।

कैलालीतर्फ चिसापानीदेखी कुइनेसम्मको ११ किलोमिटर सडकको स्तरोन्नती भैरहेको छ । साँघुरो सडकलाई फराकिलो बनाउने काम भैरहेको छ । उता सुर्खेततर्फ कुइनेदेखी बड्डीचौरसम्मको १९ किलोमिटर सडकमा साना सवारी साधन समेत सहजै चल्ने गरेका छन । भेरी नदीमा पुल निर्माण सम्पन्न भएपछि अटोरिक्सा समेत बड्डीचौरहुँदै कुइनेसम्म पुग्न थालेका छन । भेरी नदीमा निर्माण भएको पुल २०७५ असोज महिनादेखी सञ्चालनमा आएको हो ।

यो पुलले कर्णाली प्रदेशलाई छिमेकी मुलुक भारतसँगको छोटो नाकाका रुपमा जोड्नेछ । साविक सुदूर तथा मध्यपश्चिमका अधिकांश बासिन्दा रोजगारीका लागि भारत जाने गर्छन । उनीहरु भारतका विभिन्न शहरमा जानका लागि बाँके, कैलाली र कञ्चनपुर जिल्लाका सीमा नाका प्रयोग गर्छन । जुन सीमा नाकासम्म पुग्न उनीहरुले धेरै समय खर्चिनु पर्छ । यो पुल बनेसँगै उनीहरु केही घण्टाको यात्रामा सीमा नाकामा पुग्ने देखिन्छ ।

रोजगारीका लागि भारत जाने मात्रै हैन पहाडी जिल्लामा खाद्यान्न, औषधि, लत्ताकपडा लगायतका सामाग्री तराईबाटै ढुवानी हुन्छ । अहिले बाँकेको कोहलपुर र कैलालीको अत्तरीयाबाट पहाडी जिल्लातर्फ सामाग्री ढुवानी भैरहेको छ । पुल निर्माण पछि यो सडक पहाडी जिल्लामा सामाग्री ढुवानीको छोटो विकल्प बन्नसक्ने देखिन्छ ।

निर्माणाधिन पुल । तस्विर योगेश रावल

प्रकाशित मिति: शुक्रबार, फागुन २३, २०७६  ११:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update