Hamro Patra
टीकापुर विमानस्थल सञ्चालनले विकासको ढोका खोलेको छः मन्त्री पाण्डे

टीकापुर, पौष २५
टीकापुर उद्योग वाणिज्य संघको आयोजनामा आजदेखि टीकापुर महोत्सव २०८१ शुरु भएको छ । संघको आयोजनामा ‘औद्योगिक, सांस्कृतिक, शैक्षिक, कृषि एवम् पर्यटकीय सम्भावना, समृद्ध सुदूरपश्चिमको परिकल्पना’ भन्ने नाराका साथ सुदूरपश्चिम औद्योगिक ब्यापार मेला तथा टीकापुर महोत्सव आगामी माघ ६ गतेसम्म सञ्चालन हुनेछ । 

महोत्सवको एक समारोहका बिच संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले टीकापुर विमानस्थल सञ्चालनले यस क्षेत्रको विकासको ढोका खोलेको बताए ।

‘छिमेकमा लुम्बिनी प्रदेश, ठूलो जनसंख्या रहेको भारत र पश्चिममा पूरै सुदूरपश्चिम रहेको टीकापुर हिमाल, पहाड र तराईका कला, संस्कृति, भेषभुषाको संगमस्थल हो’ मन्त्री पाण्डेले भने ‘सेती लोकमार्ग र हुलाकी राजमार्गका कारण टीकापुरको सुनौलो भविष्य छ, विमानस्थल सञ्चालन हुनुले यसको विकासको ढोका खोलेको छ ।’

Tikapur Mohotsav 2081

मन्त्री पाण्डेले कर्णाली नदीका बारेमा अफवाह फैलाइएको स्मरण गर्दै कर्णाली नदी पवित्र स्थल रहेको दाबी गरे । ‘कर्णाली नदी आफैमा पवित्र नदी हो, कर्णाली नदी मात्रै नभएर यो कर्णालीको सभ्यतासँग समेत जोडिएको छ’ मन्त्री पाण्डेले भने ‘त्यसकारण टीकापुरलाई जीवन्त, गतिशील र समृद्ध टीकापुर कसरी बनाउने भन्ने विषयमा गम्भीर भएर लाग्न जरुरी छ ।’

मन्त्री पाण्डेले नेपालको समग्र हवाई क्षेत्रलाई सुरक्षित र व्यवस्थित नबनाई छिमेकी भारत र चीनका पर्यटकहरुलाई भित्र्याउन सकस भइरहेको उल्लेख गर्दै पर्यटक भित्र्याउने वातावरण बनाउनका लागि स्थानीय, प्रदेश र संघीय सरकारसहित नीजि क्षेत्र समेत लाग्नु पर्ने बताए ।

‘नेपालमा एयरपोर्ट मात्र नभई एयरक्राफ्‌ट समेत थप गर्नुपर्ने अवस्था रहेको छ’ मन्त्री पाण्डेले भने ‘नेपालको भुबनोटका कारण पनि हवाई सेवा आवश्यक छ, त्यसका लागि साना ठूला प्लेनको संख्या बढाउनेतर्फ सरकार लागिरहेको छ ।’

टीकापुर एयरपोर्ट सञ्चालनको मोडालिटी के हुने भन्ने विषयमा मन्त्रालय छलफलमा जुटेको बताउँदै मन्त्री पाण्डेले सबैको सहभागितामा एयरपोर्टको स्तरोन्नति गरिने बताए । 

कार्यक्रमलाई सम्बोधन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुण चौधरीले नेतृत्वमा रहेकाहरुलाई नेतृत्व अवधिभर काम गर्न दिनुपर्ने जिकिर गरे । ‘अहिले नेतृत्वमा हामी छौं, हामीलाई पाँच वर्ष काम गर्ने वातावरण दिनुस्‌’ राज्यमन्त्री चौधरीले भने ‘टीकापुर एयरपोर्ट मात्रै नभएर कमलबजार एयरपोर्ट समेत सञ्चालन गर्ने मन्त्रालयले तयारी गरिरहेको छ, यसमा स्थानीय सरकारले सहयोग गर्नुपर्दछ ।’

तीन बुँदे मागपत्र

टीकापुर उद्योग वाणिज्य संघले महोत्सवका प्रमुख अतिथि एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री पाण्डे समक्ष तीन बुँदे माग राखेको छ । मन्त्री पाण्डेलाई संघका अध्यक्ष चक्रपाणी सापकोटाले माग पत्र हस्तान्तरण गरेका हुन् । 

संघले टीकापुरस्थित हवाई मैदान कालोपत्रे गर्नुपर्ने र विमान सेवा नियमित सञ्चालन हुनुपर्ने, ऐतिहासिक टीकापुर पार्कलाई राष्ट्रिय महत्वको संग्राहलयको रुपमा विकास गरी नेपाल सरकारले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने र टीकापुरलाई केराको पकेट क्षेत्र घोषणा गर्नुपर्ने माग राखेको छ ।

संघले यसअघि उठाउँदै आएको खक्रौला भन्सारमा क्वारेन्टाइन स्थापना हुनुपर्ने माग भने मन्त्री पाण्डे समक्ष राखेन । क्वारेन्टाइन स्थापनाका लागि गत वर्ष विभिन्न चरणका संघर्षका कार्यक्रम गरेको संघले महोत्सवमा आएका सरकारका प्रतिनिधि क्याबिनेट मन्त्री समक्ष उक्त माग राख्न छुटाएको हो ।

संघले महोत्सवका अवसरमा टीकापुरका संस्थापक पूर्व मन्त्री स्वर्गीय खड्गबहादुर सिंहलाई मरणोपरान्त सम्मान गरेको हो । मन्त्री सिंहको सम्मान पत्र उनकी छोरी सपना सिंह राणालाई प्रदान गरिएको हो । महोत्सवमा राणाले आफ्‌ना बुबाले परिकल्पना गरेको टीकापुर बन्न नसकेकोमा दुःख लागेको बताउँदै एकधुर जमिन नभए पनि टीकापुर आफ्‌ना लागि माइती भएको बताइन् । राणाले सम्बोधन गर्दा महोत्सवको उद्घाटन समारोहका अधिकांश सहभागिताहरु भावुक बनेका थिए ।  

त्यस्तै संघले सुदूरपश्चिम प्रदेशमा सर्वाधिक रक्तदान गरेका पत्रकार दीपक उपाध्याय नेपाललाई कदरपत्र सहित सम्मान गरेको छ । उपाध्याय सुदूरपश्चिम प्रदेशका रक्तदान सद्भावना दूत समेत हुन् । यसअघि महोत्सवको नारासहितका विभिन्न बिधामा सम्मान गर्ने प्रचलन रहे पनि यसवर्ष संघले दुई जनालाई मात्रै सम्मान गरेको हो ।

संघका अध्यक्ष चक्रपाणी सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सभा सदस्य नारायणदत्त मिश्र, पूर्व प्रदेश मन्त्री डाक्टर रणबहादुर रावल, सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डाक्टर टिएन जोशी, टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगौरा थारु, पूर्व नगर प्रमुख तपेन्द्रबहादुर रावल, संघका पूर्व अध्यक्ष नवराज रावल, कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्प कुँवर, टीकापुर नगरपालिका वडा नं. ८ का अध्यक्ष दीर्घबहादुर ठकुल्ला, संघका उपाध्यक्ष सन्तोष खड्कालगायतले बोलेका थिए । 

महोत्सवमा थारु गाउँ, कृषि प्रदर्शनी, शैक्षिक प्रदर्शनी समेत राखिएको छ । संघको आयोजनामा २०६५ सालदेखि टीकापुर महोत्सव आयोजना हुँदै आएको हो ।

प्रकाशित मिति: बिहीबार, पुस २५, २०८१  १८:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update