धनगढी, पौष २४
गत आर्थिक वर्षको बक्यौता नेपाल सरकारबाट भुक्तानी नपाउँदा समस्यामा परेको निर्माण व्यवसायीले बताएका छन् । सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी संघद्वारा आयोजित पत्रकार सम्मेलनमा निर्माण व्यवसायीले बक्यौता नपाउँदा टाट पल्टेको बताएका हुन् । सरकारले समयमा भुक्तानी नदिई उल्टै हचुवाको भरमा निर्माण व्यवसायीलाई पेल्ने गरेको उनीहरुको गुनासो छ ।
नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष प्रकाश सेठीले भुक्तानी नपाउँदा निर्माण उद्योग कोमामा पुगेको जिकिर गरे । एकातिर निर्माण सामग्रीको अचाक्ली मूल्य वृद्धि र अर्कोतिर सरकारले समयमा भुक्तानी नदिने परिपाटीले निर्माण व्यवसायीले काम गर्न नसक्ने वातावरण सृजना भइरहेको उनको भनाइ छ ।
सुदूरपश्चिम निर्माण व्यवसायी महासंघका अध्यक्ष लक्ष्मण स्वाँरले निर्माण व्यवसायीहरु ८० प्रतिशत राज्यबाटै पीडित रहेको जिकिर गरे । ‘हामी पनि गल्तीबाट अछुतो छैनौं २० प्रतिशत कमी कमजोरी हाम्रो पनि छ’ उनले भने ‘तर, ८० प्रतिशत हामी राज्यबाटै पीडित छौं ।’
गरेको कामको सरकारले बेलैमा भुक्तानी नदिने उल्टै काम गरेन भनेर दण्ड जरिवाना गर्ने, कालोसूचीमा राख्ने जस्ता कार्य गरेर त्रसित बनाइरहेको निर्माण व्यवसायीको भनाइ छ ।
सुदूरपश्चिमका निर्माण व्यवसायीले संघीय योजनाका डेढ अर्ब रुपियाँ भुक्तानी लिन बाँकी रहेको अध्यक्ष स्वाँरले बताए । उनले भने ‘प्रदेश सरकारको योजनाको भुक्तानी भइरहेको छ । तर संघीय सरकारका योजनाको काम गरेवापत पाउनुपर्ने ठुलो रकम होल्ड छ ।’
प्रत्येक स्थानीय तहमा बनिरहेको १५ शय्याको अस्पताल बजेट अभावकै कारण निर्माण कार्य सम्पन्न गर्न समस्या भइरहेको निर्माण व्यवसायीको भनाइ छ ।