Hamro Patra
भोलिदेखि टीकापुर महोत्सवः पर्यटन मन्त्री पाण्डेले उद्घाटन गर्ने

टीकापुर, पौष २४
टीकापुर उद्योग वाणिज्य संघको आयोजनामा हुने टीकापुर महोत्सव २०८१ भोलिबाट शुरु हुने भएको छ । संघको आयोजनामा भोलि अर्थात् पौष २५ गतेबाट शुरु हुने महोत्सवको स्टेज, पण्डाल निर्माण लगायतका कार्य अन्तिम चरणमा पुगेका छन् ।  

‘औद्योगिक, सांस्कृतिक, शैक्षिक, कृषि एवम् पर्यटकीय सम्भावना, समृद्ध सुदूरपश्चिमको परिकल्पना’ भन्ने नाराका साथ सुदूरपश्चिम औद्योगिक ब्यापार मेला तथा टीकापुर महोत्सव आगामी माघ ६ गतेसम्म सञ्चालन हुने संघले जनाएको छ । 

वाणिज्य संघले टीकापुरको आर्थिक गतिविधि बढाउने उद्देश्यले हरेक वर्ष महोत्सव गर्दै आएको छ । टीकापुरका मुख्य पर्यटकीय क्षेत्रको प्रचार र सम्भावनाको खोजी गर्न महोत्सव गर्ने गरिएको आयोजकको भनाइ छ ।

महोत्सवमा यस वर्ष ३ करोड कारोबार गर्ने लक्ष्य रहेको र स्थानीय ब्यापारीका समेत उत्साहजनक सहभागिता रहेको वाणिज्य संघका उपाध्यक्ष तथा महोत्सव आयोजक समितिका संयोजक सन्तोष खड्काले बताए । ‘टीकापुरमा ब्यापारिक, आर्थिक गतिविधि बढोस् भन्ने हो, महोत्सव भनेको हामी ब्यापारीका लागि ठूलो पर्व हो’ उनले भने ‘यस वर्ष हामीले विगतभन्दा बढी आर्थिक कारोबार हुने अपेक्षा गरेका छौँ ।’

महोत्सवमा यस वर्ष ४० बढी राष्ट्रिय कलाकार र त्यत्तिकै संख्यामा स्थानीय कलाकारको प्रस्तुती रहनेछ । संघले महोत्सवका माध्यमबाट कलाकारले आफ्नो क्षमता देखाउने अवसर पाउने भएकाले विद्यालयस्तरीय प्रतियोगितामा बर्दियाको राजापुर क्षेत्र र कैलालीको बौनियाँसम्मका विद्यालयले नाम दर्ता गराएका संघका सचिव तथा साँस्कृतिक समितिका संयोजक तपेन्द्र कुँवरले बताए । 

महोत्सवमा विद्यार्थीका लागि ५० प्रतिशत छुट दिइनेछ भने महोत्सव अवलोकनमा एकल महिला, जेष्ठ नागरिक  तथा अपांगता भएकाहरुले निशुल्क प्रवेश गर्न पाउनेछन् । महोत्सवमा थारु गाउँ, कृषि प्रदर्शनी, शैक्षिक प्रदर्शनी समेत राखिने भएको छ । वाणिज्य संघको आयोजनामा वि.सं. २०६५ सालदेखि टीकापुर महोत्सव आयोजना हुँदै आएको छ ।

प्रकाशित मिति: बुधबार, पुस २४, २०८१  ११:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update