Hamro Patra
बाजुरामा नुन किन्न वडाको सिफारिस

बाजुरा, पौष २३
बाजुरामा नुन किन्न वडा कार्यालयको सिफारिस अनिवार्य गरिएको छ । साल्ट ट्रेडिङ बाजुराका कार्यालय प्रमुख टेक बोहराका अनुसार नुन धेरै मात्रामा खपत हुन थालेपछि जिल्ला प्रशासन कार्यालयको मातहतमा सर्वपक्षीय बैठक बसेर २०८१ मङ्सिरदेखि वडा कार्यालयको सिफारिस अनिवार्य गरिएको हो । 

जिल्लामा नागरिकताका आधारमा सहुलियतको नुन उपलब्ध गराउने गरिएको थियो । सरकारले प्रत्येक नागरिकलाई वर्षमा चार केजी सहुलियतको नुन वितरण गर्नका लागि बाजुरा पठाउँछ तर, बाजुराका नागरिकले सहुलियतको नुन लिएर जिल्लाबाहिर पठाउने गरेको र जिल्लामा नुन अभावको समाचार पटक पटक आउने गरेपछि नयाँ व्यवस्था गरिएको कार्यालय प्रमुख बोहराले बताए ।  

बडीमालिका नगरपालिका वडा नं. ७ का हरिचन्द्र पाध्यायले सर्वसाधरणका लागि यो प्रक्रिया झन्झटिलो भएको बताए । गाउँबाट पढाइ तथा रोजगारीका क्रममा बाजुराकै विभिन्न स्थानमा बसोबास गर्ने व्यक्ति तथा उद्यमी व्यवसायीले भने आफूहरूले नुनका लागि वडा कार्यालय गएर फेरि नुन डिपोमा जानुपर्ने भएकाले सहुलियतको नुन लिन खर्च बढेको गुनासो गरेका छन् । नुन सहुलियतमा प्रतिकेजी ९ रुपैयाँका दरले बिक्री हुने गरेको छ ।

प्रकाशित मिति: मंगलबार, पुस २३, २०८१  १५:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update