Hamro Patra
टीकापुरमा जारी होली पर्व स्थगित

टीकापुर, फागुन २२
टीकापुर साँस्कृतिक समाजद्वारा जारी होली पर्व स्थगित गरिएको छ । इलाका प्रशासन कार्यालय टीकापुरले कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै मानिसहरु भेला हुने कार्य रोक्न अनुरोध गरेपछि होली पर्व स्थगित गरिएको कोषाध्यक्ष बालबहादुर बोहराले जानकारी दिए ।

कार्यालयले बिहिवार पत्राचार गरी होली पर्व रोक्न अनुरोध गरेको थियो । चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका धेरै देश हुँदै छिमेकी मुलुक भारतमा समेत देखा परिसकेकाले त्यसको असर पर्नबाट जोगिन स्वास्थ्य सुरक्षा सतर्कता अपनाईएको पत्रमा उल्लेख छ ।

Khadga Memorial And Janajagriti

पत्रमा होली पर्व मनाउन रोजगारीका क्रममा भारत रहेका नेपालीहरु घर फर्किने र यदि उनीहरु मध्ये कसैलाई कोरोना भाइरसको संक्रमण भए सहजै फैलिन सक्ने भएकाले मान्छे भेला हुने कार्य रोक्नु परेको उल्लेख गरिएको छ ।
यही २० गतेबाट सुरु भएको होली पर्व पूर्णिमाका दिनसम्म जारी रहने चलन रहेको छ । होलीको बेला टीकापुरस्थित खुला मैदानमा ठूलो संख्यामा मानिसहरु जम्मा हुने गरेका छन ।

विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोना भाइरसको उच्च जोखिम राष्ट्रका रुपमा राखेको छ । संगठनले उच्च जोखिममा राखेपछि सरकारले कोरोना भाइरस फैलिन नदिन सतर्कता अपनाएको छ ।

जिल्ला प्रशासन कार्यालयहरुले सभा समारोह, गोष्ठी लगायतका मानिस भेला हुने खालका कुनैपनि कार्यक्रम नगर्न अनुरोध गरेका छन । स्थानीय पालिकाहरुले समेत आफ्ना क्षेत्रमा यस्ता खालका कार्यक्रम नगर्न भनेका छन ।

भारतसँग सीमा जोडिएका स्थानीय पालिकाहरुले सीमा क्षेत्रमा स्वास्थ्य जाँचको व्यवस्था गरेका छन । यसैक्रममा टीकापुर नगरपालिकाले सीमा नाका खक्रौलामा कोरोना भाइरसलाई मध्यनजर गरेर हेल्थडेस्क स्थापना गरेको छ । भारतबाट आउने हरेक व्यक्तिको स्वास्थ्य जाँच गर्ने उद्देश्यले हेल्थडेस्क स्थापना गरिएको जनस्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलले जानकारी दिए ।

कोरोना भाइरसलाई मध्य नजर गर्दै टीकापुर अस्पतालले समेत सतर्कता अपनाएको छ । अस्पतालमा आइसोलेसन कक्ष स्थापना गरिएको टीकापुर अस्पताल विकास समितिका अध्यक्ष दीपक रावलले जानकारी दिए । उनले अस्पतालले कोरोना भाइरसका बारेमा जनचेतना जगाउने खालका अन्य कार्यक्रम समेत गर्दै आएको बताए ।

नेपालमा केही व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमणको आशंका गरिएको छ । सरकारले विदेशबाट फर्किएका ती व्यक्तिहरुको स्वास्थ्य परिक्षण गरिरहेको छ । उनीहरु मध्ये धेरैजसोलाई कोरोना भाइरसको संक्रमण नभेटिएको सरकारको दावी छ ।

प्रकाशित मिति: बिहीबार, फागुन २२, २०७६  १७:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update