Hamro Patra
गेटामा असारदेखि एमबीबीएसको पढाई शुरू हुनसक्छः स्वास्थ्यमन्त्री पौडेल

धनगढी, पौष २३
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलले कैलालीको गेटामा तीन शय शैयाको अस्पताल चलाएर आउँदो असारदेखि नै एमबीबीएसको पढाइ गर्न सकिने बताएका छन् । मन्त्रालयको कार्यक्रमका सिलसिलामा सोमबार धनगढी पुगेका मन्त्री पौडेलले मंगलबार बिहानै गेटा अस्पतालको निरीक्षणका क्रममा यस्तो बताएका हुन् । 

‘पछिल्लो समय सिंहदरबार पछि ठूलो लगानीमा गेटामा पूर्वाधार निर्माण भएका छन् । ७ अर्बका पूर्वाधार बनेपनि ती खाली छन् । त्यसैले चालु आर्थिक वर्षमा तीनसय शैयाको अस्पताल बनाएर आउँदो आर्थिक वर्षदेखि एमबीबीएसको पढाइ सुरू गर्न सकिन्छ’ उनले भने ।

चिकित्सा शिक्षाको अध्ययनका लागि तीन सय शैयाको अस्पताल कम्तीमा पनि तीन वर्ष चलेको हुनुपर्ने प्रावधान छ तर उनले मुलुकका ६ प्रदेशमा चिकित्सा शिक्षाको अध्ययन सुरू भइसकेको र सुदूरपश्चिममा अहिलेसम्म पनि चिकित्सा शिक्षाको पढाइ सुरू नभएकाले त्यसका लागि विशेष निर्णय गरेर भएपनि एमबीबीएसको पढाइ गर्न सकिने बताए ।

‘सुदूरपश्चिममा एमबीबीएसको पढाइ सुरु भएको छैन । ६ प्रदेशमा भइसक्यो, चिकित्सा शिक्षा आयोगले विशेष परिस्थिति भन्दै तीन सय शैयाको अस्पताल बन्ने वित्तिकै एमबीबीएसको पढाइ गर्न सकिने विशेष निर्णय गर्नसक्छ । मेरो प्रयास त्यसतर्फ रहेको छ’ उनले भने ।

उनले यस्तो निर्णयले सुदूरपश्चिमलाई पनि न्याय हुने र सरकारलाई पनि सबै प्रदेशमा एमबीबीएसको पढाइ भयो भनेर भन्न सकिने अवस्था आउने बताए । आफू मन्त्री हुनेवित्तिकै पार्टी सभापति शेरबहादुर देउवाले बोलाएर नै गेटामा अस्पताल र चिकित्सा शिक्षाको अध्यापनका लागि काम गर्नु भनेर निर्देशन दिएको पनि उनले स्मरण गराए ।

‘म मन्त्री हुने वित्तिकै मेरो पार्टी सभापतिले बोलाएर मेरो प्रदेशमा मात्र एमबीबीएसको पढाइ भएको छैन । गेटा र डडेल्धुरामा त्यो काम गर्नु भनेर निर्देशन गर्नु भएको थियो । म पार्टी सभापतिको निर्देशन अनुसार काममा खटिएको छु,’उनले भने । उनले मेडिकल विश्वविद्यालय बन्दैनन् भन्ने मानसिकता त्याग्न आग्रह समेत गरे । ‘तीन सय शैयाको अस्पताल पनि चल्दै गर्छ । चिकित्सा शिक्षाको पढाइ पनि हुँदै गर्छ । मेडिकल विश्वविद्यालयको आफ्नो प्रक्रिया छ, त्यो पनि अघि बढ्दै गर्छ, ’उनले भने ।

उनले तीन सय ६ सय शैयाको अस्पताल चलेको ठाउँ, एमबीबीएस र एमडीको पढाइ भइरहेको ठाउँलाई विश्वविद्यालय बनाउन झन् सजिलो हुने भएकाले क्रमिक रुपमा हुने विकासमा शंका नगर्न आग्रह गरे । गेटामा बनेका पूर्वाधार संघीय शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालय अन्तर्गत छन् ।

शिक्षाले अस्पतालका लागि मात्रै केही भवनहरूको भोगाधिकार संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई दिएको छ । अहिले गेटामा सय शैया घोषणा भएपनि ५० शैयाको अस्पताल सञ्चालनमा छ । सेती प्रादेशीक अस्पतालमा दैनिक १४ सय बिरामीको घुइँचो भइरहेका बेला गेटामा जनशक्ति नभएका कारण दैनिक १५/२० जना बिरामी मात्रै आउने गरेका छन् ।

प्रकाशित मिति: मंगलबार, पुस २३, २०८१  १४:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update