Hamro Patra
सीमा स्तम्भ जोगाउन स्थानीयको हारगुहार

टीकापुर, पौष २०
कैलालीको दक्षिणी सीमावर्ती क्षेत्रका बासिन्दाहरुले नेपाल भारत सीमा स्तम्भ जोगाउन हारगुहार गरिरहेका छन् । दुई देशको सीमा छुट्याउनका लागि राखिएका सीमा स्तम्भ मोहना नदीको कटानका कारण जोखिममा पर्न थालेपछि स्थानीयहरु सीमा स्तम्भ जोगाउन हारगुहार गरिरहेका हुन् । 

IMG_20241215_123858-1735966418.jpg

टीकापुर नगरपालिका वडा नं. ९ स्थित खक्रौलामा रहेको ७०४/१०५ नम्बर सहायक सीमा स्तम्भ मोहना नदीको कटानको जोखिममा छ । वर्षेनी नदीले कटान गर्दै जाँदा उक्त सीमा स्तम्भ नदीबाट २० फिटको दुरीमा छ । ‘पछिल्लो तीन वर्ष यता नदीले कटान गर्दै जाँदा सीमा स्तम्भ नै जोखिममा परेको हो’ स्थानीय अनिल कोइरालाले भने ‘नेपाल भारतको सीमाना छुट्याउने सीमा स्तम्भको समयमै संरक्षण नहुँदा खक्रौलामै कतिपय सीमाहरु नदीले बगाएको छ ।’ 

Tikapur Mohotsav 2081

कोइरालाले सीमामा तटबन्ध नबनाए बाढी खक्रौला गाउँमा पस्ने, भूमियोग्य जमिन नदीमा परिणत हुने र सीमा स्तम्भ समेत जोखिममा पर्ने बताए ।नदीले कटान गर्न थालेपछि तीन वर्ष अघि टीकापुर नगरपालिका वडा नं. ८ श्रीलंकामा रहेको ७०० नम्बरको मुख्य सीमास्तम्भको १ नम्बर सहायक स्तम्भ, सहायक स्तम्भहरु ७०२, ७०३ र ७०४ बगाएको थियो ।

सीमा स्तम्भसँगै रहेको जग्गामा समेत नदीले कटान गरिरहेको छ । स्थानीयका अनुसार दुई वर्ष यता मात्रै दुई शय मिटर बढी जमिन नदीले कटान गरेको हो । सीमावर्ती क्षेत्रको उर्बर भूमि नदीले कटान गर्न थालेपछि राष्टिय गौरबको रानी, जमरा, कुलरिया सिँचाइ आयोजनाले तटबन्धको तयारी गरे पनि दशगजा क्षेत्रमा कटान गरेका कारण नदी नियन्त्रण हुन नसक्दा स्थानीयहरु चिन्तित बनेका हुन् । 

‘सीमा क्षेत्रको दशगजामै नदीको कटान भएर हाम्रो जमिन नदीमा गइरहेको छ’ स्थानीय खड्क धामीले भने ‘नदी नियन्त्रणका लागि हामीले लामो समयदेखि स्थानीय तह, रानी, जमरा, कुलरिया सिँचाइ आयोजना, प्रदेश सरकार र संघीय सरकारमा माननीयहरुसँग कुरा राख्दै आएका छौं, तर पनि यसको समाधान हुन सकेको छैन ।’

धामीका अनुसार दुई साताअघि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कलमबहादुर शाह सहितले नदी कटान, जोखिममा रहेका सीमा स्तम्भबारे अनुगमन गरेका थिए । ‘दुई देशको सीमानामा पर्ने भएका कारण पनि एक्लै केही गर्न सकिने अवस्था छैन, तर पनि सामान्य रोकथामको प्रयासका लागि हामी लाग्नेछौं’ अनुगमनमा आएका मुख्यमन्त्री शाहले भने ‘जिल्लाका सिडिओसहितको सुरक्षा टोलीलाई समकक्षी भारतीय सुरक्षाकर्मीसँग छलफल गरेर स्तम्भ जोगाउने गरी तटबन्धको काम अघि बढाउनु पर्छ ।’

मुख्यमन्त्री शाहले नदी कटानको जोखिममा रहेका सीमा स्तम्भबारे चासो देखाएपछि बिहीवार कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र, कैलालीका प्रमुख प्रमुख पदमबहादुर विष्ट, सशस्त्र प्रहरी बल नेपाल ३४ नम्बर हेडक्वाटर कैलालीका गणपति सशस्त्र प्रहरी उपरीक्षक (एसपी) दलबहादुर पाण्डे, जलश्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय कैलालीका प्रमुख इञ्जिनियर डम्बरप्रसाद धिताल लगायतले जोखिममा रहेको सीमास्तम्भको स्थलगत अध्ययन गरेका छन् । 

कैलालीका प्रमुख जिल्ला अधिकारी मिश्रले नदीले दशगजा क्षेत्रमै गरेको कटान नियन्त्रणका लागि भारतीय पक्षसँग आगामी शुक्रबार हुने बैठकमा छलफल गरेर समाधान खोजिने बताए । 

‘हामीले आज धनगढी उपहानगरपालिकाको वडा नं. १०, टीकापुरको खक्रौला र भजनी नगरपालिका वडा नं. ३ को कुसुमघाट क्षेत्रको स्थलगत अनुगमन गरेका छौं’ प्रमुख जिल्ला अधिकारी मिश्रले भने ‘खक्रौला, धनगढीमा सीमा स्तम्भ नै जोखिममा छन् भने कुसुमघाट क्षेत्रको दशगजाका केही ठाउँमा खेती गरिएको छ, त्यसलाई क्लियर गर्न निर्देशन दिएका छौं ।’

प्रमुख जिल्ला अधिकारी मिश्रले नेपाल भारतका सुरक्षा निकायबीचको छलफलबाट समस्याको समाधान खोजेर तटबन्धको काम अगाडि बढाइने बताए । विगतमा दशगजा क्षेत्रमै नेपाल भारत दुबै तर्फबाट खेती हुँदै आएको थियो । दशगजा क्षेत्रलाई दुबै तर्फबाट खुल्ला राख्नुपर्ने नियम छ ।

प्रकाशित मिति: शनिबार, पुस २०, २०८१  १०:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update